बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक : एमाले

आइतबार, ०२ वैशाख २०८१, १८ : ४९
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ । 

पार्टी मुख्यालय च्यासलमा आइतबार अपराह्न बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेका हुन् । बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाडि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबी समेत गरे ।

उपमहासचिव ज्ञवालीले भने, ‘सरकारका प्रारम्भिक गतिविधिहरू, अहिले सुरु गरेको स्पिरिडहरु सकारात्मक छन् । अझ बढी सरकारले जनतालाई विश्वास जगाउने गरी काममा अझ गति ल्याओस् भन्ने अपेक्षा छ ।’

एमालेले आफू नेतृत्वको नयाँ सत्ता समीकरणले देशलाई सही बाटोमा ल्याएको र विकास, निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने जिकिर गर्दै आएको छ । बैठकमा यही वैशाख ८ र ९ गते गोदावरीको सनराइज हलमा आयोजना गरिएको पार्टी महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने कामका समीक्षा सम्बन्धी प्रतिवेदन, पार्टीका चार वटा आयोगले पनि आफ्नो कामको प्रगति विवरण पेस गर्ने तय गरिएको पनि उपमहासचिव ज्ञवालीले बताए । एमालेलाई आगामी निर्वाचनमा राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउने गरी सो परिषद् बैठकमा छलफल हुने उनले बताए । सो महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा करिब २५ सय जति प्रतिनिधिहरू सहभागी हुने पनि एमालेले जनाएको छ ।

त्यसैगरी सचिवालय बैठकले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा प्रमुख राजनीतिक दलहरूको सहभागितामा विशेष कार्यक्रम पनि वैशाख २० गते आयोजना गर्दैछ । त्यसमा प्रमुख राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने र कम्युनिस्ट पार्टीका मुख्यमुख्य गतिविधि समावेश गरेर बनाइएको डकुमेन्ट्री पनि प्रस्तुत हुने उपमहासचिव ज्ञवालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप