मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थी खोज्दै कालीकोटका सामुदायिक विद्यालय

सोमबार, ०३ वैशाख २०८१, १५ : ५३
सोमबार, ०३ वैशाख २०८१

कालीकोट । कालीकोटका सामुदायिक विद्यालय भर्ना अभियानमा लागेका छन् । सामुदायिक विद्यालय आइतबारदेखि विद्यार्थी भर्ना अभियानका लागि विद्यार्थी खोज्दै घरदैलो जान थालेका हुन् । 

नयाँ शैक्षिकसत्रमा विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गर्ने लक्ष्यका साथ अभियान सुरु गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ । 

कालीकोटमा रहेका आधारभूत दुई सय २५, माध्यमिक ७५, बालविकास केन्द्र ४२, सामुदायिक सिकाइकेन्द्र ३० वटा र खुला विद्यालय एक गरी विद्यालयले भर्ना अभियान सञ्चालन गरेका इकाइका प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए ।

“जिल्लाका नौ स्थानीय तहका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढाउनका लागि अभियान नै सञ्चालन गरेका छौँ”, उनले भने, “सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा उपलब्ध गराउँदै आएको छ । त्यही आधारमा सबै बालबालिकालाई विद्यालय भर्ना अभियानमा सहभागी गराउने प्रयास गरिरहेका छौँ ।”

विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न अभियान सुरु गरेको बडिमालिका माव रास्कोटका प्रधानाध्यापक पुष्पराज बरालले बताए । “गत वर्षदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरु भएकाले त्यसको सन्देश दिन पनि भर्ना अभियान घरदैलो गरिरहेका छौँ”, उनले भने, “गत वर्ष अभियानमार्फत ७५ जना विद्यार्थी थपेका थियौँ । यस वर्ष पनि विद्यालयले विद्यार्थीको सङ्ख्या वृद्धि गर्ने लक्ष्य राखेको छ ।”

जिल्लामा पहिलो स्कुल बस सेवा

सामुदायिक विद्यालयमा आकर्षण बढाउनका लागि जिल्लाका खाँडाचक्र नगरपालिका–८ को जनप्रभात मावि शेरावाडाले पनि घरदैलो अभियानसँगै बससेवा सञ्चालन गरेको छ । विद्यार्थीको सङ्ख्या वृद्धि गर्न र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहनु भन्नाका लागि विद्यालयले बससेवा सञ्चालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक पदमबहादुर मल्लले बताए । 

“जिल्लाका सबै सामुदायिक विद्यालयमध्ये पहिलो पटक हामीले बससेवा सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “भर्ना अभियान जारी रहेको छ । शैक्षिकसत्र २०८१ देखि बससेवा सञ्चालन गर्ने गरेका छौँ ।”

भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा स्कुलले बस उपहार पाएको प्रधानाध्यापक मल्लले जानकारी दिए । “हामीलाई भारत सरकारको सहयोगमा स्कुल बस पाएका छौँ”, उनले भने, “आगामी शैक्षिकसत्रदेखि स्कुलमा अध्ययन गर्ने विद्यार्थीले स्कुल बसबाटै आवातजावत गर्न सजिलो हुनेछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप