बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मदिराको तालमा साथीको हत्या, ७ जना पक्राउ

बिहीबार, ०६ वैशाख २०८१, १७ : ०९
बिहीबार, ०६ वैशाख २०८१

तनहुँ । तनहुँमा एक व्यक्तिको हत्या आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । बुधवार आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ मा  गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष १८ का अमन गुरुङको हत्या आरोपमा ७ जना पक्राउ परेका हुन् । साथी साथीबिच मदिरा सेवनपछिको विवादमा सो घटना भएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २५ का रोहित घले,  वर्ष २४ का आशिष काराखेती, वर्ष २६ का बलराम श्रेष्ठ, वर्ष ३१ का सागर श्रेष्ठ र  वर्ष २१ का कुशल गुरुङ रहेका छन् । यस्तै  गोरखाको गोरखा नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष २४ का सन्तोष गुरुङ र एक जना नाबालक समेत पक्राउ परेका छन् । 

आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ स्थित आबुँगाउँ स्वामी चौतारामा साथीसाथी मिलेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा उनीहरूबिच बिवाद गरेको खुलेको छ । विवादकै क्रममा ७ जनाले साथी अमन गुरुङलाई सोही स्थानको पुरानो कोट जंगल भिरबाट ११० फिट तल चन्दनी खोल्सामा खसाली हत्या गरेको प्रहरीको भनाइ छ । 

उनीहरु विरुद्ध परेको किटानी जाहेरीको आधारमा नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप