बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एकजुट हुँदै कास्कीका सहकारी पीडित, ६ वटा सहकारीको एउटै सङ्घर्ष समिति

आइतबार, ०९ वैशाख २०८१, १७ : १३
आइतबार, ०९ वैशाख २०८१

पोखरा । कास्कीका सहकारी पीडितहरूले संयुक्त सङ्घर्ष मोर्चा बनाएका छन् । रकम अपचलन भएको पुष्टि भैसकेका ६ वटा सहकारीका पीडितहरूले सहकारी बचत पीडित सङ्घर्ष समिति कास्की गठन गरेका हुन् । सुर्यदर्शन सहकारी, इमेज, शिव शिखर, मित्र मिलन, बलिदानी र विन्ध्यवासिनी सहकारीका पीडितहरू एकजुट भएका हुन् ।

सूर्य दर्शन सहकारीका पीडित किरण श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा इमेज सहकारीका हरिबहादुर खत्री, सचिवमा मित्र मिलन सहकारीका पीडित प्रकाश पौडेल, सहसचिवमा बलिदानी सहकारीका धम पुन र कोषाध्यक्षमा शिवशिखर सहकारीका टेकराज तिमिल्सिना चुनिएका छन् ।

सदस्यहरूमा विन्ध्यवासिनी सहकारीका इन्द्रबहादुर गुरुङ, सुर्यदर्शनका अनुराधा श्रेष्ठ, प्रेम रेग्मी, राजेन्द्र शर्मा, मित्र मिलनका प्रभा सुवेदी, शिव शिखरका प्रमीला आचार्य, बलिदानीका जीवन भट्टराई, इमेजका बद्री पोखरेल, विन्ध्यवासिनीका डिल्लीराम पौडेल छन् ।

उनीहरुले सहकारीमा फसेको रकम फिर्ता ल्याउन सङ्घर्षका कार्यक्रमलाई संयुक्त बनाउनका लागि समिति नै गठन गरिएको बताएका छन् । ‘हामी सबै पीडित हौं । एक्ला एक्लै माग राख्दा आवाज पुगेन,’ संयोजक श्रेष्ठले भने, ‘अहिले कास्कीका ६ वटा सहकारीलाई एकीकृत गरेर समिति गठन गरेका हौँ ।’ उनले जिल्लामा अरू सहकारीमा पनि समस्या देखिएकोले उनीहरूलाई पनि समेट्दै जाने बताए ।

उनले सबैभन्दा बढी पोखराका सहकारीमा समस्या देखिएको सुनाए । ‘देशैभरिका सहकारीमा समस्या छ । तर बढी पोखरामा छ । विगत २ वर्षदेखि एकाध सहकारीमा समस्या देखा पर्न थालेकोमा आजको मिति सम्म ६ सहकारीको उजुरी परेको र अनुसन्धानको प्रक्रियामा रहेको छ,’ अघि थपे, ‘हालसम्म पोखरामा लगभग २०/२५ वटा सहकारीमा समस्या देखा परिसकेका छन् । कति सहकारीका बचतकर्ता मौन अवस्थामा बसिरहनुभएको छ ।’

समितिले जीवी राई, देवकुमार नेपाली लगायत पक्राउ पुर्जी जारी भएका सबैलाई तुरुन्त पक्राउ गरी पीडितको बचत रकम फिर्ता दिन माग गरेका छन् । बचत फिर्ताको लागि दबाब दिन सोमबार पोखरामा बृहत र्‍याली समेत आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय गैरापाटनबाट सुरु हुने र्‍याली जिल्ला प्रशासन कार्यालयसम्म पुग्ने समितिले जनाएको छ ।

अहिले एकीकृत भएका सहकारीहरू पोखराका सबैभन्दा बढी रकम अपचलन भएका सहकारीहरू हुन् । पीडितहरूले पोखरा आउने सबैजसो भीआइपीलाई ज्ञापन पत्र पनि बुझाउँदै आएका छन् भने विभिन्न समारोहहरूमा प्रदर्शन नै गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप