सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निजी विद्यालयद्वारा शुल्क मापदण्ड पालनामा अटेर

आइतबार, ०९ वैशाख २०८१, २१ : ००
आइतबार, ०९ वैशाख २०८१

इटहरी  । इटहरी उपमहानगरपालिकाले ल्याएको शुल्क मापदण्ड पालनामा यहाँका निजी विद्यालयले अटेर गरिरहेका छन् ।

इटहरी उपमहानगरपालिकाले २०८१ लाई शैक्षिक सुधार वर्षका रूपमा लिएर अभियान सञ्चालन गरेसँगै निजी विद्यालयलाई दुई तिहाइ अभिभावकको भेला राखेर शुल्क प्रस्ताव गर्न सर्कुलर गरिएको थियो । तर निजी विद्यालयले इटहरी उपमहानगरपालिकाको सर्कुलर अटेर गरेका छन् । 

वैशाख ७ गते निजी विद्यालयका छाता संगठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसियसन इटहरीद्वारा विद्यालयमा गरिएको सर्कुलरअनुसार शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचनाअनुसार नै लिने उल्लेख गरिएको छ।

निजी विद्यालयका छाता संगठनले स्थानीय सरकारका तर्फबाट कुनै शिक्षालय वा शिक्षालयमाथि कारबाही भए संगठनले जिम्मेवारी लिने उल्लेख गरिएको छ ।

स्थानीय सरकारले संस्थागत विद्यालयले विद्यार्थीबाट उठाउने शुल्कलाई व्यवस्थित गरी व्यावहारिक रूपमा कार्यान्वयन गराई पारदर्शी गर्ने मुख्य उद्देश्यका साथ अभियान चलाएको थियो । उपमहानगरपालिकाले एकै प्रकारको पोसाक इटहरीभरि लागु गर्ने पनि निर्णय गरेको थियो।

सो निर्णयसमेत इटहरीका निजी विद्यालयले लागु नगर्न सर्कुलर गरेका छन् । इटहरी उपमहानगरपालिकको एकै प्रकारको ड्रेस लागु गर्ने निर्णयविरुद्ध निजी विद्यालयको छाता संगठन प्याब्सन इटहरीले उच्च अदालत विराटनगरमा रिटसमेत दायर गरेको थियो । सो रिटमा अन्तरिम आदेश नहुने आदेश भएको थियो ।

उच्च अदालतले रिटमा अन्तरिम आदेश नहुने जनाएलगत्तै इटहरीका मेयर हेमकर्ण पौडेलले  कतिपय निजी विद्यालय सञ्चालकले भने अभिभावकको भेलाबाट शुल्क निर्धारण गरेको भनिए पनि त्यो देखावटी मात्रै भएकाले पनि त्यसलाई गम्भीर रूपमा अध्ययन गर्ने बताएका थिए ।

इटहरी उपमहानगरपालिकाले पछिल्लो समय शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवं शिक्षक र कर्मचारीको नियुक्तिपत्रलगायतका नियमबारे पनि निजी विद्यालयलाई विवरण अविलम्ब पठाउन सर्कुलर गरेको थियो ।

इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा निजी विद्यालय रहेका छन्।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप