आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

आलमलाई जन्मकैद–टोपबहादुर जेलमै, यस्ता छन् शीर्ष १० समाचार

बिहीबार, १३ वैशाख २०८१, २१ : २२
बिहीबार, १३ वैशाख २०८१

आज मिति २०८१ साल वैशाख महिनाको १३ गते बिहीबार । आज दिनभर भएका शीर्ष १० घटनाक्रमसहित हामी रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ ।

१ आलमलाई जन्मकैद

रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस नेता मोहमद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ । जन्मकैदको फैसला पाउनेमा आलमका भाइ महताब आलम पनि छन् । जन्मकैदको फैसला हुने अन्यमा शेष सेराज र बद्री सहनी छन् ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गर्दै चार जनालाई जन्मकैद हुने फैसला गरेको हो ।

२. टोपबहादुर थुनामै

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएपछि अदालतले एक जनालाई भने साधारण तारेखमा राख्न आदेश दिएको छ भने दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

३. मन्त्रिपरिषद्को निर्णय

सरकारले विद्यमान कानुनी संरचनाबाट हाल देखिएको सहकारीसम्बन्धी समस्या समाधान नहुने निष्कर्ष निकालेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सामान्य र नियमित प्रक्रियाबाट सहकारी सम्बन्धी समस्या समाधान नहुने निष्कर्ष निकालेको हो ।

४. उपनिर्वाचनको सुरक्षा योजना

वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता (डीआईजी) भीमप्रसाद ढकालले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा हुने सबै प्रकारका ठगी र बदमासीको अन्त्य तथा बजेट कार्यान्वयनमा सुधार गर्न निर्देशन दिएको छ ।

६. एमाले छाड्ने रावलको संकेत

नेकपा एमालेका नेता भीम रावलले पार्टी परित्यागको संकेत गरेका छन् । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए ।

७. कतारी राजाको भ्रमणबारे राजदूत

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण अत्यन्तै उपलब्धिमूलक र सफल भएको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राजदूत ढकालले थानीले ३ दिन नेपाल भ्रमण गर्ने अपेक्षा गरिएकोमा व्यस्तताका कारण दुई दिन मात्र गर्न सकिएको बताए ।

८. प्रिन्सिपलको बदमासी

धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतले नक्कली परीक्षार्थी खडा गरेको पाइएको छ । आफ्ना भाइहरूलाई कक्षा १२ पास गराउनका नक्कली परीक्षार्थी खडा गरेको पाइएको हो ।

९. कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

१०. यो पनि

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले १६ औँ पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७।३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन् ।

प्रहरीको साइबर ब्यूरोले कथितरुपमा अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएपछि जाजरकोटका गणेशमान सिंहले ‘औषधि’ सेवन गरेको बताएका छन् । वैशाख १२ मा औषधि सेवन गरेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि मन्त्रालयले आयोगसँग दलको विवरण मागेको हो ।

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनले तय गरेको दुई वटा अभियान सञ्चालन अनिश्चित भएको भएको छ ।  फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन्।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप