शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
भ्रमण समीक्षा

कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’

बिहीबार, १३ वैशाख २०८१, ०६ : ४१
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । २०८० को माघमा यूएईको अबुधाबीमा आयोजित ‘आबुधाबी डायलग’का क्रममा नेपाल र कतारबिच ‘साइडलाइन मिटिङ’ भयो । तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी र कतारका श्रम अधिकारीहरूबिच भएको ‘साइडलाइन मिटिङ’ मा सन् २००५ को श्रम सम्बन्धी द्विपक्षीय सम्झौता समयानुकूल संशोधन गर्ने विषयमा छलफल भएको थियो ।

नेपाली पक्षले नेपाली श्रमिकको हकहितका विषय उठान गर्दै सम्झौतामा पुनरावलोकन गर्नुपर्ने बताएको थियो । त्यसका लागि दुवै पक्ष जतिसक्दो चाँडो टुङ्गोमा पुग्ने सहमतिसमेत भएको थियो । दुवै पक्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा सम्झौता गर्नेगरी तयारीमा जुटेका थिए ।

कतारी अमिर शेख तमिम बिन हमद अल–थानीको दुई दिने नेपाल भ्रमणको बेला सम्झौता हुने अपेक्षा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको थियो । तर, उनको नेपाल भ्रमणमा श्रमसँग सम्बन्धी कुनै विषयमा सम्झौता भएन ।

श्रम मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख उपसचिव महेश पराजुलीले ‘अबुधाबी डायलग’ मा जति सकिन्छ, चाँडै सम्झौता गर्ने भन्ने विषयमा छलफल भएको बताए । उक्त छलफलमा सहभागी भएका पराजुलीले जति सकिन्छ चाँडो टुङ्गोमा पुगेर सम्झौता गर्नेगरी छलफल भएको बताए ।

त्यसका लागि नेपाल र कतारबिचको संयुक्त प्राविधिक समितिले काम गर्र्दै आएको थियो । अबुधाबी डायलगपछि उक्त समितिको बैठक भने बस्न सकेको छैन ।

‘२००५ को सम्झौतालाई पुनरावलोकन गर्नुपर्छ । नयाँ सन्दर्भलाई पनि जोडेर जानुपर्छ भन्नेमा कतारका अधिकारीहरू समेत तयार थिए,’ उपसचिव पराजुलीले भने, ‘के के कन्टेन्ट राख्ने ? कस्ता खालका विषय समेट्ने भन्ने विषयमा छलफल गर्ने भन्ने थियो । त्यही आधारमा छलफल अघि बढेको हो ।’

किन भएन श्रम सम्झौता ?

सन् २००५ मा भएको सम्झौतालाई समयानुकुल परिमार्जन गर्ने एजेण्डा कतारी राजाको नेपाल भ्रमणमा परेन । नेपालले आफ्ना विषयहरू राखेर सम्झौता पत्रको ड्राफ्ट परराष्ट्र मन्त्रालयमार्फत कतार सरकारलाई पठाएको थियो ।

तर, कतारबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । कतारले तयारी नपुगेको भन्दै ड्राफ्टमा प्रतिक्रिया नदिएको श्रम मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

श्रम मन्त्रालयले भने यो विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन । मन्त्रालयका प्रवक्ता गोविन्द्र प्रसाद रिजालले ड्राफ्ट परराष्ट्र मन्त्रालयमार्फत कतार सरकारलाई पठाइएको तर, कुनै जवाफ नआएको बताए ।

‘हामीले परराष्ट्रमार्फत सम्झौताको ड्राफ्ट पठाएका थियौँ । छोटो समय भएर हो कि, उताबाट जवाफ आएन । राजदूतसँगको भेटमा पनि कुरा उठाएका थियौँ । त्यही दिन परराष्ट्रमा हाम्रा विषयवस्तु यी हुन् भनेर पठाएका थियौँ । परराष्ट्रले पनि त्यही विषय उता फरवार्ड ग¥यौँ भन्ने कुरा थियो,’ प्रवक्ता रिजालले भने ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले सम्झौता समयानुकुल परिमार्जन गर्ने विषयमा छलफल जारी रहेको बताए । ‘समयानुकल परिमार्जन गर्नुपर्छ भन्ने हो । दुई पक्षबिच छलफल जारी छ र छलफललाई निन्तरता दिने कुराकानी भएको छ । यसमा चाँडै निष्कर्षमा पुगिन्छ,’ प्रवक्ता राईले भने । 

कतारका लागि नेपाली राजदूत डाक्टर नरेशविक्रम ढकालले केही विषयको टुङ्गो नलागेकाले समझदारी हुन नसकेको बताए । ‘उनीहरूको माग घरेलु कामदारको विषय थप्नुपर्ने भन्ने थियो । घरेलु कामदारको विषय टुङ्गिएको छैन । छलफल गर्ने चरणमै नटुङ्गिएपछि यो विषय अगाडि बढ्न सकेन्,’ राजदूत ढकालले भने ।

कतारले घरेलु कामदारका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षा प्रबन्ध गर्ने प्रतिबद्धता जनाउँदै घरेलु कामदार माग गर्दै आएको हो । त्यसका लागि श्रमिकहरूलाई आवश्यक पर्ने भाषा र सिप सिकाएर पठाउन कतारले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउँदै आएको छ ।

त्यस्तै नेपालले उठान गरेको अर्को विषय श्रमिकको तलब थियो । सन् २००५ मा सम्झौता हुँदा र अहिलेको अवस्थाको मार्केट भ्यालु निकै फरक भएको छ । तर, श्रमिकले त्यही सम्झौताको आधारमा न्यूनतम पारिश्रमिक पाउने अवस्था छ । नेपालले यसलाई मार्केट भ्यालु अनुसार परिमार्जन गर्नुपर्ने प्रस्ताव गरेको थियो । यो विषय समेत टुङ्गोमा पुग्न सकेको थिएन । जसले गर्दा कतारी राजाको नेपाल भ्रमणमा समझदारी हुन नसकेको राजदूत ढकालले बताए ।

‘नेपालले राखेको विषय भनेको मार्केट भ्यालु अनुसारको पारिश्रमिक हो । मार्केट भ्यालु धेरै माथि गयो । मार्केट भ्यालु अनुसार तलब तोकिनुपर्छ भन्ने हाम्रो विषय थियो । यसमा टुङ्गो नलागेकाले समझदारी हुन नसकेको हो,’ राजदूत ढकालले भने ।

कतारको चाहना घरेलु कामदार  

नेपालले सन् २००५ को सम्झौता रिभ्यू गर्नुपर्ने प्रस्ताव गरिरहेको छ । तर, कतारको माग भने फरक छ । कतारले घरेलु महिला कामदार पठाउन माग गर्दै आएको छ ।

श्रम कानुनमा धेरै सुधार भइसकेको, विगतको तुलनामा श्रमिकको अवस्था निकै परिवर्तन आएको भन्दै कतार हतारमा सम्झौता गर्न नहुने पक्षमा छ । नेपालले सुरक्षित कार्य वातावरण हुनुपर्यो, राम्रो तलब पाउनुपर्यो, सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने लगायतका विषय उठान गर्दै आएको छ । तर, कतारले भने श्रम सम्झौताभन्दा पनि डोमेस्टिक वर्करको विषयलाई प्राथमिकता दिँदै आएको छ ।

कतारले घरेलु कामदारका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षा प्रबन्ध गर्ने प्रतिबद्धता जनाउँदै घरेलु कामदार माग गर्दै आएको हो । त्यसका लागि श्रमिकहरूलाई आवश्यक पर्ने भाषा र सिप सिकाएर पठाउन कतारले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउँदै आएको छ ।

राजाको नेपाल भ्रमणको समयमा हुने श्रम सम्झौताको पुनरावलोकनको हस्ताक्षर उपयुक्त समय गर्ने तयारी भइरहेको छ । सम्झौता रिभ्यूको विषयमा पर्याप्त होमवर्क नपुगेकाले तत्काल रोकिएको र उपयुक्त समयमा सम्झौता हुने श्रम मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

घरेलु कामदारको लागि आवश्यक पर्ने सेवा, सुविधा, सामाजिक सुरक्षा तथा आवश्यक सुरक्षा प्रवर्द्धन कतार सरकारले मिलाउने बताउँदै आएको छ । त्यसका लागि नेपालमा नै सिप सिकाउने र सिप सिकिसकेपछि मात्रै घरेलु कामदारको रूपमा पठाउन सकिने गरी आवश्यक व्यवस्था गर्न कतार तयार रहेको बताउँदै आएको छ । नेपालले भने हाल प्रतिबन्ध जारी रहेको भन्दै प्रतिबन्ध फुकुवा भएपछि आवश्यक निर्णय गरिने बताउँदै आएको थियो ।

कतारबाट पहिलो पटक नेपालमा राष्ट्र प्रमुखको भ्रमण भएको हो । यसअघि २०८० कात्तिक २० गते कतारी राजा नेपाल आउने तालिका थियो । तर, इजरायल र हमासबिचको युद्धका कारण उनको भ्रमण रोकिएको थियो ।

नेपालबाट भने यसअघि नै राष्ट्र प्रमुखको भ्रमण भएको थियो । कतारी अमिरको निमन्त्रणमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ कात्तिक १२ गते चार दिने कतार भ्रमण गरेकी थिइन् ।

उपयुक्त समयमा सम्झौता गरिने  

राजाको नेपाल भ्रमणको समयमा हुने श्रम सम्झौताको पुनरावलोकनको हस्ताक्षर उपयुक्त समय गर्ने तयारी भइरहेको छ । सम्झौता रिभ्यूको विषयमा पर्याप्त होमवर्क नपुगेकाले तत्काल रोकिएको र उपयुक्त समयमा सम्झौता हुने श्रम मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

थप छलफल गरेर उपयुक्त समयमा रिभ्यूमा सम्झौता हुने श्रम मन्त्रालयका प्रवक्ता रिजालले बताए ।

नेपालले उठान गरेका विषय

नेपालले उक्त सम्झौता रिभ्यू गर्नुपर्ने विविध कारण अघि सारेको छ । कतारमा कार्यरत नेपाली श्रमिकहरूको हक हितलाई मध्यनजर राख्दै नेपालले विविध विषय अघि सारेको हो ।

नेपालले प्रमुख रूपमा उठान गरेको विषय हो सामाजिक सुरक्षा । त्यस्तै समान पारिश्रमिक, श्रमिकमाथि हुने विभेदको अन्त्य, स्वास्थ्य, बीमा जस्ता विषयलाई समेत नेपालले उठान गर्दै आएको छ । श्रम सम्झौता रिभ्यू गर्ने विषय अहिलेमात्रै उठेको होइन । सन् २०१७ देखि नै रिभ्यूको विषय उठ्दै आएको थियो । दुवै देशका अधिकारीहरूले त्यस यता गृहकार्य गर्दै आएका हुन् । तर, हालसम्म सहमति नजुटेका कारण श्रम सम्झौता हुन ढिलाइ भएको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप