शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

कहिलेदेखि जित्न थाल्छ बैंगलुरु ?

आज हैदराबादसँग हारे उपाधि होडबाट बाहिरिने पक्का
बिहीबार, १३ वैशाख २०८१, १३ : ११
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण भारतमा जारी छ । प्रतियोगिता सुरु हुनुअघि रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) लाई धेरैले उपाधिको बलियो दाबेदारका रूपमा हेरेका थिए ।

समकालीन विश्व क्रिकेटमा तहल्का मच्चाइरहेका खेलाडीहरू बैंगलुरुको टोलीमा आबद्ध रहेकाले पनि धेरै क्रिकेट पारखीले यस्तो अनुमान लगाउनु स्वाभाविक थियो । तर, १७ औँ संस्करणको आधाभन्दा बढी खेल समाप्त भइसक्दासम्म क्रिकेट पारखीहरूको पूर्वानुमान मिथ्या साबित हुन पुगेको छ ।

rcb 2

जारी सिजनको आईपीएलमा प्रारम्भदेखि नै एकपछि अर्को निराशाजनक नतिजा निकाल्दै आएको बैंगलुरु अङ्क तालिकामा सबैभन्दा तल आसन जमाउन बाध्य छ । हालसम्म आठ खेल खेलेको बैंगलुरुले केवल एउटा जित निकाल्न सकेको छ । बाँकी सात खेलमा भने बैंगलुरुले लज्जास्पद हार बेहोरेको छ ।

आफ्नो टोलीको यस्तो निराशाजनक प्रदर्शनपछि बैंगलुरुका समर्थकहरू सबैभन्दा बढी निराश बनेका छन् । उनीहरू सामाजिक सञ्जालहरूमार्फत विभिन्न तरिकाले आफ्नो निराशा पोखिरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा बैंगलुरुको प्रदर्शनलाई लिएर दुईवटा टिप्पणी निकै भाइरल भइरहेका छन् ।

  • कसले भन्छ बैंगलुरुमा खडेरी परेको छ भनेर ? एकपटक रोयल च्यालेन्जर्स बैंगलुरुका समर्थकहरूको आँखामा त हेर, त्यहाँ पानी नै पानी छ ।
  • खासमा रोयल च्यालेन्जर्स बैंगलुरु आईपीएलमार्फत बैंगलुरुलाई पानीको सङ्कटबाट मुक्त गर्ने प्रयास गरिरहेको छ । किनभने बैंगलुरुको हरेक खेलपछि उसका समर्थक धुरुधुरु रुन्छन् । समर्थकको आँखाबाट खसेको आँसुले बैंगलुरु सहरमा जलस्तर बढाउन सहयोग गरिरहेको छ । रोयल च्यालेन्जर्स बैंगलुरुको यो गजबको सोच हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका माथिका यी दुई टिप्पणीबाट नै जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको प्रदर्शनको अनुमान लगाउन सकिन्छ । अर्कोतिर, सामाजिक सञ्जालमा व्याप्त यस्ता टिप्पणीले रोयल च्यालेन्जर्स बैंगलुरुका समर्थकको घाउमा नुन–चुक दल्ने काम पनि गरेको छ ।

77a66920-012f-11ef-8863-bf40e5fc0b1d

वास्तबमा बैंगलुरुलाई भारतको आईटी (सूचना प्रविधि) राजधानीका रूपमा चिनिन्छ । तर, पछिल्लो समय बैंगलुरु पानीको चरम समस्यासँग जुधिरहेको छ । पानीको अभाव बैंगलुरुको सबैभन्दा ठुलो समस्या बनेको छ ।

अहिले भारतमा लोकसभा चुनाव पनि चलिरहेको छ । लोकसभा चुनावमा पनि बैंगलुरुमा पानीको अभावको विषयलाई नै प्रमुख मुद्दाको रूपमा अगाडि सारिएको छ । जारी लोकसभा चुनावमा विपक्षी दलहरूले सत्ताधारी दललाई ‘टेक सिटी कि ट्याङ्कर सिटी’ भनेर कटाक्षसमेत गर्ने गरेका छन् ।

आरसीबीले हालसम्म इन्डियन प्रिमियर लिगको उपाधि जित्न सकेको छैन । यद्यपि, यो क्लबसँग विश्व क्रिकेटका धेरै चर्चित नामहरू जोडिएका छन् ।

त्यसैले क्रिकेट समर्थकहरूले इन्डियन प्रिमिय लिगमा रोयल च्यालेन्जर्स बैंगलुरुको प्रदर्शनलाई बैंगलुरु सहरमा देखिएको पानीको चरम अभावसँग जोडेर यसरी व्यङ्ग्य गरेका हुन् । वास्तवमै जारी आईपीएलमा बैंगलुरुले जितको स्वाद चाख्न नपाएको लामै समय बितिसकेको छ ।

अनि इन्डियन प्रिमियर लिगमा सबैभन्दा ठुलो ब्रान्डका रूपमा लिइने रोयल च्यालेन्जर्स बैंगलुरुको प्रदर्शन किन यति निराशाजनक त ? खासमा यो प्रश्न जति सहज छ यसको जवाफ त्योभन्दा सयौँ गुणा जटिल देखिन्छ ।

  • कस्तो छ त आरसीबीको इतिहास ?

आरसीबीले हालसम्म इन्डियन प्रिमियर लिगको उपाधि जित्न सकेको छैन । यद्यपि, यो क्लबसँग विश्व क्रिकेटका धेरै चर्चित नामहरू जोडिएका छन् । राहुल द्रविड, केभिन पिटर्सन, अनिल कुम्बले, ड्यानियल भेट्टोरी, शेन वाट्सन, क्रिस गेल, एबी डेभिलियर्सजस्ता विश्व क्रिकेटका हस्तीहरूको जगमा उभिएको क्लब हो, आरसीबी ।

8e559c30-009f-11ef-bcf9-3f2dea9c46e7

यस्ता विश्व चर्चित पूर्वक्रिकेटरको विरासत धान्ने जिम्मा पाएका वर्तमान खेलाडीहरू पनि पटक्कै कमजोर छैनन् । अहिले आरसीबीको टोलीमा विराट कोहली, फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक, क्यामरुन ग्रिन, अल्जारी जोसेफ, टम कुर्रन, लोकी फर्गुसनजस्ता समकालीन विश्व क्रिकेट थर्काउने हस्तीहरु आबद्ध छन् ।

यति धेरै प्रभावशाली खेलाडीहरू हुँदा हुँदै पनि जारी आईपीएलमा आरसीबीको प्रदर्शन भने अत्यन्तै निराशाजनक देखिन्छ । कुरा सन् २००७ तिरको हो । विश्व क्रिकेटमा टी–२० ढाँचाको प्रतियोगिता भर्खरै लोकप्रिय हुँदै थियो ।

आरसीबी अहिले युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) को क्लब हो । यूएसएल समूह डियाजियो ग्रुपको कम्पनी हो ।

त्यसैबाट उत्साही भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि सोही वर्षको सेप्टेम्बरमा टी–२० ढाँचाको इन्डियन प्रिमियर लिग सञ्चालन गर्ने घोषणा गर्‍यो । बीसीसीआईको उक्त घोषणापछि विमान कम्पनी सञ्चालनदेखि मदिरा उद्योगसम्ममा हात हालेका विजय माल्याले पनि १२ करोड अमेरिकी डलरमा बैंगलुरु क्लब खरिद गरे ।

आरसीबी अहिले युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) को क्लब हो । यूएसएल समूह डियाजियो ग्रुपको कम्पनी हो । यूएसएलले अल्कोहलमा आफूलाई विश्वकै अब्बल कम्पनीको रूपमा दाबी गर्छ । यसअन्तर्गत स्पिरिट्स, बीयर, वाइनजस्ता थुप्रै कम्पनी सञ्चालनमा छन् ।

यूएसएलले विश्वब्यापी रूपमा स्कच व्हिस्की, आईएमएफएल व्हिस्की, ब्रान्डी, रम, भोड्का, जिन, वाइनजस्ता उत्पादन वार्षिक रूपमा १२ करोड केस बिक्री गर्दै आएको दाबी गर्छ । यसका अतिरिक्त यसले जानी वाकर, भ्याट ६९, ब्ल्याक एन्ड व्ह्वाइट, स्मिरनाफजस्ता डियाजियोको चर्चित ब्रान्डको उत्पादन र बिक्री–वितरण पनि गर्दै आएको छ । यो कम्पनीको अध्यक्षको नाम प्रथमेश मिश्रा हो ।

4e3beab0-00a8-11ef-a9f7-4d961743aa47

यो त भयो आरसीबीको मालिकको परिचय । अब अगाडि बढौँ आरसीबीको टोलीतर्फ । आरसीबी क्रिकेट टोलीका वर्तमान कप्तान हुन्, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस । टोलीका प्रमुख प्रशिक्षक एन्डी फ्लावर हुन् । उनी जिम्बाबेका पूर्वखेलाडी पनि हुन् ।

टोलीको बलिङ प्रशिक्षकको भूमिकामा अस्ट्रेलियाका एडम ग्रिफिथ छन् । ब्याटिङ र स्पिन बलिङ प्रशिक्षकको जिम्मेवारी भने श्रीधरण श्रीरामले पाएका छन् । यसपछि अब आईपीएलमा हालसम्म टोलीको प्रदर्शनको विषयमा चर्चा गरौँ ।

आरसीबीको टोली सन् २००९, सन् २०११ र सन् २०१६ मा आईपीएलको फाइनलसम्म पुगेको थियो । तर, हालसम्म आरसीबीले आईपीएलको उपाधि भने उचाल्न सकेको छैन । यसदेखि बाहेक अन्य सिजनमा भने आरसीबीको प्रदर्शन अत्यन्तै निराशाजनक रहँदै आएको छ ।

rcb

खासगरी सन् २००८,  सन् २०१२ देखि सन् २०१४ सम्म, सन् २०१७ देखि सन् २०१९ सम्म र सन् २०२३ मा त आरसीबीको टोली लिग चरणबाटै बाहिरिएको इतिहास छ । यसका अतिरिक्त यो सिजन पनि आरसीबी लिग चरणबाटै बाहिरिने बलियो सम्भावना देखिन्छ । सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आरसीबी आईपीएलमा सहभागी हुँदै आएको छ ।

  • आखिर यस्तो खराब प्रदर्शन किन ?

विश्व क्रिकेटका चर्चित क्रिकेट हस्तीहरूको साथ पाएर पनि आरसीबीले आईपीएलमा अत्यन्तै खराब प्रदर्शन गर्दै आएको सबैलाई थाहा छ । आखिर किन त ? क्रिकेट विश्लेषकहरू भन्छन्, आरसीबीको व्यवस्थापन आफ्नो गल्तीबाट शिक्षा लिन नै चाहँदैन ।

क्रिकेट विश्लेषकहरूका अनुसार, आरसीबीको सबैभन्दा ठुलो गल्ती भनेको टोलीमा ब्याट्सम्यानहरूलाई मात्र प्राथमिकता दिनु हो । अर्थात्, आरसीबीको टोली कहिले पनि सन्तुलित हुँदैन । आरसीबी जहिले पनि ब्याट्सम्यानकै भरमा खेल जित्ने चाहना राख्छ । क्रिकेटमा त्यो सधैँ सम्भव हुँदैन ।

f2d54370-0132-11ef-a56d-4df2c87b6988

चर्चित क्रिकेट विश्लेषक तथा लेखक अजाय मेमनका अनुसार, आरसीबीको टोली सधैँ स्टार खेलाडीहरूले भरिएको हुन्छ । तर, कहिले पनि गतिलो प्रदर्शन भने गर्न सक्दैन । अवस्था यतिसम्म दयनीय छ कि, आरसीबीले बेलाबखत प्ले अफ चरणमा पुग्न पनि ठुलै संघर्ष गर्नुपर्ने हुन्छ ।

टोलीमा सन्तुलनको अभावका कारण नै यस्तो अवस्था आएको उनी बताउँछन् । मेमनका अनुसार, आईपीएलको जारी सिजनमा पनि आरसीबीको टोलीमा सन्तुलनको अभाव देखिन्छ । टोलीमा नाम चलेका ब्याट्सम्यान त छन् तर, प्रभावशाली स्पिन बलर भने छैनन् ।

जबकी भारतको अधिकांश पिचमा स्पिन बलर नै प्रभावकारी देखिने गरेका छन् । यस विषयमा राम्रो जानकारी हुँदा हुँदै पनि यो सिजन आरसीबीले श्रीलंकाली बलर हसरंगा र भारतीय स्पिनर युजवेन्द्र चहललाई विश्वास गरेन ।

सन् २०२४ को आईपीएलका लागि आरसीबीले खेलाडी खरिद गर्न २० करोड भारतीय रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ । तर, क्लबले स्पिनर बलरका लागि थोरै रकम पनि खर्च गर्न चाहेन । यसको विपरीत आरसीबीले ठुलो रकम खर्चिएर तीनजना तीव्र गतिका बलर, दुईजना अलराउन्डर र एकजना ब्याट्सम्यानका लागि सबै रकम खर्चियो ।

अर्का क्रिकेट विश्लेषक तथा खेल पत्रकार विजय लोकपल्ली पनि यसैलाई आरसीबीको सबैभन्दा ठुलो कमजोरी मान्छन् । उनका अनुसार, खेल जित्नका लागि टोलीमा ब्याट्सम्यान र बलरको सही सन्तुलन आवश्यक पर्छ । तर, आरसीबी यसतर्फ सचेत देखिँदैन । ‘यदि तपाईँ कुनै खेलमा तीन सयभन्दा बढी रन बनाउनु हुन्छ तर, कमजोर बलिङका कारण त्यसलाई पनि जोगाउन सक्नु हुन्न भने त्यसको के फाइदा ?’ उनी भन्छन् ।

  • ब्याटिङ पनि सधैँ चल्दैन

विश्लेषकहरूका अनुसार, आरसीबीले आफ्नो कमजोर पत्ता लगाउन सबैभन्दा पहिले तथ्याङ्कमा आँखा कुदाउनु पर्ने हुन्छ । आईपीएलको इतिहासमा हालसम्म आरसीबीका केवल ६ जना ब्याट्सम्यानले मात्र एक हजार वा त्योभन्दा बढी रन बनाउन सकेका छन् ।

virat

एक हजारभन्दा बढी रन बनाउने आरसीबीका एकमात्र भारतीय ब्याट्सम्यान विराट कोहली हुन् । कोहलीका अतिरिक्त एभी डेभिलियर्स, ग्लेन म्याक्सवेल, क्रिस गेल, ज्याक कालिस र फाफ डु प्लेसिसले मात्र एक हजारभन्दा बढी रन बनाउन सकेका छन् ।

अर्कोतिर, आईपीएलको इतिहासमा सर्वाधिक सफल मानिने टोली चेन्नई सुपर किङ्सका १२ जना खेलाडीले एक हजारभन्दा बढी रन बनाइसकेका छन् । त्यसमध्ये सातजना त भारतीय ब्याट्सम्यान रहेका छन् ।

यसैगरी मुम्बई इन्डियन्सका १० जना खेलाडीले आईपीएलमा एक हजारभन्दा बढी रन बनाइसकेका छन् । मुम्बईका पनि सात ब्याट्सम्यानले आईपीएलमा एक हजारभन्दा बढी रन बनाएका छन् । त्यसैले विश्लेषकहरु आरसीबीले आगामी दिनमा चेन्नई र मुम्बईबाट शिक्षा लिनु पर्ने सुझाव दिन्छन् ।

‘ब्यवस्थापनको सुझबुझ भन्नुस् वा क्रिकेट संस्कृतिमा चेन्नई र मुम्बई निकै अगाडि देखिन्छन् । मुम्बईमा स्टार खेलाडीहरू छैनन् तर, त्यो टोलीले ठुलोभन्दा ठुलो विजयलक्ष्य भेट्टाएको देख्न सकिन्छ । राजस्थान रोयल्स पनि यही श्रेणीमा पर्छ । टोलीमा सबै स्टार खेलाडी नै हुनुपर्छ भन्ने मान्यता नै गलत हो । यी टोलीहरु नयाँ खेलाडी लिएर मैदानमा ओर्लन्छन् र उनीहरूलाई स्टार बनाएर देखाउँछन् । यशस्वी जैसवाल यसको गतिलो उदाहरण हुन्,’ अयाज मेमन भन्छन् ।

वरिष्ठ खेल पत्रकार धर्मेन्द्र पन्त पनि केही निश्चित खेलाडीमा भर पर्ने नीतिका कारण नै आरसीबीले गतिलो प्रदर्शन गर्न नसकेको दाबी गर्छन् । ‘आरसीबी जहिले पनि केही निश्चित खेलाडीमाथि मात्र भर पर्छ । जुन खेलमा ती खेलाडी चल्छन् त्यो खेल आरसीबीले जित्छ । ती खेलाडी नचलेको खेलमा आरसीबी निरीह देखिन्छ । समग्रमा यो नीति नै गलत हो,’ उनी भन्छन् ।

maxwell

यसदेखि बाहेक जारी आईपीएलमा आरसीबीलाई भाग्यले पनि साथ नदिएको देखिन्छ । ग्लेन म्याक्सवेल आईपीएलभन्दा अघि एकदिवसीय विश्वकप निकै चलेका थिए । उनले अस्ट्रेलियालाई विश्वकपको उपाधि चुमाउन पनि महत्त्वपूर्ण योगदान गरे । तर, तिनै म्याक्सवेल अहिले आईपीएलमा भने निरीह बन्न पुगेको देखिन्छ ।

विजय लोकपल्ली भन्छन्, ‘म्याक्सवेलले अब सायदै विश्वकपमा जस्तो प्रदर्शन गर्लान् । कुनै पनि ब्याट्सम्यानका लागि सधैँ एकनासको प्रदर्शन गर्नु सम्भव हुँदैन । यदि हामी कुनै ब्याट्सम्यानले सधैँ २०० को स्ट्राइकर रेटमा रन बनाओस् र तीन विकेट पनि लियोस् भन्ने चाहन्छौँ भने त्यो कदापि सम्भव हुँदैन । म्याक्सवेलजस्तै कोहलीले पनि सधैँ ब्याटिङको जिम्मेबारी निर्वाह गर्न सक्दैनन् । यो कुरा आरसीबीको व्यवस्थापन पक्षले बुझ्नु आवश्यक छ ।’

  • बलियो ब्रान्ड, कमजोर टोली

जारी सिजनको आईपीएलमा आरसीबीका विदेशी खेलाडीहरू पनि खासै चल्न सकेका छैनन् । कप्तान ग्लेन म्याक्सवेलका अतिरिक्त कप्तान फाफ डु प्लेसिसको प्रदर्शन पनि उत्साहजनक छैन । यद्यपि, उनले केही खेलमा भने टोलीका लागि गतिलो इनिङ्स खेलेका छन् ।

faf du

समग्रमा फाफ डु प्लेसिसले अघिल्लो सिजनको जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । क्यामरुन ग्रिन विश्वकै उत्कृष्ट युवा खेलाडीमा गनिन्छन् । उनी मुम्बईबाट आरसीबीमा आबद्ध भएका हुन् । जारी सिजनमा उनको पनि ब्याटिङ र बलिङ दुबै निराशाजनक देखिन्छ ।

यसैगरी बलिङतर्फ मोहम्मद सिराज र लोकी फर्गुसनको प्रदर्शन पनि गतिलो देखिँदैन । यति हुँदा पनि आरसीबीले गम्भीर भएर टोलीको प्रदर्शनमा ध्यान दिन सकिरहेको छैन । समर्थकमाझ अझै पनि बैंगलुरुको लोकप्रियतामा कुनै कमी आएको छैन ।

तर, ठुलो ब्रान्ड भएर पनि आरसीबीको व्यवस्थापनले टोलीलाई सन्तुलित बनाउने विषयमा भने रत्तिभर ध्यान दिएको पाइँदैन ।

भनिन्छ, आरसीबीले ब्रान्डको प्रचारप्रसारमा मात्र आफ्नो बढी ध्यान केन्द्रित गरिरहेको छ । आरसीबीको व्यवस्थापन पक्ष अक्सनमा मन खोलेर खर्च गर्न थोरै पनि हच्कँदैन । त्यसैले म्याक्सवेल, कोहली, प्लेसिसजस्ता चर्चामा रहेका खेलाडीका लागि जतिसुकै रकम खर्च गर्न पनि तयार रहन्छ ।

तर, ठुलो ब्रान्ड भएर पनि आरसीबीको व्यवस्थापनले टोलीलाई सन्तुलित बनाउने विषयमा भने रत्तिभर ध्यान दिएको पाइँदैन । क्रिकेट ‘टिम गेम’ भएकाले कुनै एक वा दुई खेलाडीमात्र टोलीलाई जित दिलाउन सम्भव छैन भन्ने कुरा आरसीबीको व्यवस्थापन पक्षले बुझ्नु आवश्यक छ ।

आखिर आरसीबी ब्यवस्थापनको ध्यान ब्रान्डको प्रचारप्रसारमा मात्र किन केन्द्रित रहन्छ त ? यसको जवाफमा चर्चित ब्रान्ड विशेषज्ञ हरिश बिजुर भन्छन्, ‘खासमा आईपीएल क्रिकेटमात्र होइन । आईपीएल भनेको क्रिकेट र मनोरञ्जनको मिश्रण हो । त्यसैले यसलाई हामी क्रिकेटेनमेन्ट पनि भन्न सक्छौँ । जब आईपीएल क्रिकेटमात्र रहेन भने व्यवस्थापन पक्षले आफ्नो सम्पूर्ण ध्यान क्रिकेटमा मात्र किन केन्द्रित गर्ने ? यस्तो स्थितिमा आफ्नो ब्रान्डलाई ध्यानमा राखी ब्यवस्थापनको आधा ध्यान क्रिकेटमा हुन्छ र आधा ध्यान मनोरञ्जनमा केन्द्रित हुन्छ ।’

54183090-00a5-11ef-bcf9-3f2dea9c46e7

उनका अनुसार, टिमले कुनै न कुनै खेल पक्कै जित्नेछ तर, व्यवस्थापनका लागि त्योभन्दा बढी महत्त्व ब्रान्डको प्रचारप्रसारले राख्छ । यदि खेलभन्दा बढी प्रचार मनोरञ्जनबाट पाइन्छ भने व्यवस्थापनले आफ्नो ध्यान त्यसमा केन्द्रित गर्नु स्वाभाविक हो ।

  • आईपीएलको ‘ब्रान्ड भ्यालू’ कति ?

 ‘ब्रान्ड भ्यालू’ हिसाबले आईपीएल निकै ठुलो नाम हो । सन् २०२४ मा आईपीएलको ‘ब्रान्ड भ्यालू’ २८ प्रतिशतले बढेको छ । हाल आईपीएलको ‘ब्रान्ड भ्यालू’ १० अर्ब ७० करोड अमेरिकी डलर रहेको छ । ‘ब्रान्ड भ्यालू’ मूल्याङ्कर्ताका अनुसार, हाल आईपीएल क्लब मुम्बई इन्डियन्सको ‘ब्रान्ड भ्यालू’ आठ करोड ७० लाख अमेरिकी डलर रहेको छ । ‘ब्रान्ड भ्यालू’ मा अन्य टोलीभन्दा मुम्बई अगाडि छ ।

4af7c7c0-009e-11ef-bcf9-3f2dea9c46e7

त्यतिपछि चेन्नई सुपर किङ्स दोस्रो, कोलकाता नाइट राइडर्स तेस्रो र रोयल च्यालेन्जर्स बैंगलुरु चौको स्थानमा रहेका छन् । आरसीबीको ‘ब्रान्ड भ्यालू’ सात करोड अमेरिकी डलर रहेको छ । आरसीबीभन्दा कम ‘ब्रान्ड भ्यालू’ रहेका ६ वटा टोली छन् । ‘ब्रान्ड भ्यालू’ मा आईपीएलको उपाधि जितिसकेका टोली पनि आरसीबीभन्दा पछाडि देखिन्छन् ।

ब्रान्ड विशेषज्ञँ हरिश बिजुर भन्छन्, ‘आईपीएलको सुरुआती चरणमा म पनि आरसीबीको धेरै बैठक र पार्टीहरूमा उपस्थित भएको थिएँ । त्यतिबेला मनोरञ्जनका लागि आरसीबीले निकै ठुलो रकम खर्च गर्थ्यो । तर, बिस्तारै आईपीएलमा पैसाको खोलो बग्न थाल्यो । अहिलेसम्म आइपुग्दा आरसीबीले पनि आफ्नो ध्यान व्यवसायमा केन्द्रीत गरेको छ । अहिलेको स्थितिमा आइपुग्दा त आईपीएल व्यवसायमा रूपान्तरित भइसकेको छ ।’

त्यसो भए लगातारको हारका बाबजुद आरसीबीले आईपीएलबाट कसरी कमाउँछ त ? यसको जवाफमा हरिश बिजुर भन्छन्, ‘आरसीबीले स्टेडियम, टेलिभिजन अधिकार, मनोरञ्जनजस्ता पक्षबाट राम्रो कमाई गर्छ । आरसीबीले बैंगलुरुलाई आफ्नो नामको पर्याय पनि बनाएको छ । स्मरण रहोस्, बैंगलुरुमा २० भन्दा बढी राष्ट्रका नागरिक बसोबास गर्छन् । यसका अतिरिक्त आईपीएलमार्फत आरसीबीले आफ्नो ब्रान्डको पनि विश्वभर प्रचारप्रसार गरिरहेको छ ।’

  • महिला टोलीले दिएको राहत

रोयल च्यालेन्जर्स बैंगलुरुको टोलीले हालसम्म पुरुषको आईपीएलको उपाधि जित्न सकेको छैन । यसको विपरित आरसीबीको महिला टोलीले भने यसै वर्ष महिला प्रिमियर लिगको उपाधि चुमेर इतिहास रचेको छ ।

377904

यसै वर्षको मार्चमा खेलिएको महिला प्रिमियर लिगको फाइनलमा बैंगलुरुको टोलीले दिल्लीको टोलीलाई आठ विकेटले हराउँदै उपाधि चुमेको हो । आरसीबीको महिला टोलीकी कप्तान स्मृति मंधाना हुन् ।

  • आज हैदराबादसँग हारे बैंगलुरु उपाधि होडबाट बाहिरिने पक्का

इन्डियन प्रिमियर लिगमा बिहीबार रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दैछ । खेल हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४१औँ खेल हो ।

आईपीएलको १७औँ संस्करणमा बैंगलुरु र हैदराबादबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको पहिलो खेलमा हैदराबादले बैंगलुरुलाई उसैको घरेलु मैदानमा २५ रनले पराजित गरेको थियो ।

rcb 1

टस हारी पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ८७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बैंगलुरुले भने निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रनमात्र बनाउन सकेको थियो ।

त्यो खेलमा थुप्रै कीर्तिमान पनि बनेका थिए । सनराइजर्स हैदराबादले बनाएको रन आईपीएलको इतिहासमा कुनै पनि टोलीले एकै पालीमा बनाएको सर्वाधिक रन थियो । त्यसअघि पनि उक्त कीर्तिमान हैदराबादकै नाममा थियो ।

जारी सिजनको आईपीएलमा हैदराबादले आठौँ र बैंगलुरुले नवौँ खेल खेल्न लागेका हुन् । हैदराबाद यसअघि खेलिएका सातमध्ये पाँच खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । हैदराबाद १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा आसीन छ ।

बिहीबारको खेलमा हैदराबादसँग पराजित भएमा बैंगलुरु उपाधि होडबाट बाहिरिने छ ।

बिहीबारको खेलमा बैंगलुरुलाई हराउन सकेमा हैदराबाद कोलकाता नाइट राइडर्सले पछि पार्दै तालिकाको दोस्रो स्थानमा उक्लने छ । राजस्थान रोयल्स १४ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । राजस्थानले आठमध्ये सात खेलमा जित र एक खेलमा हार भोगेको छ ।

बैंगलुरुको प्रदर्शन भने अत्यन्तै निराशाजनक देखिएको छ । बैंगलुरु यसअघि खेलिएको आठमध्ये सात खेलमा पराजित र एक खेलमा विजयी भएको छ । बैंगलुरु केवल दुई अङ्क बटुल्दै तालिकाको अन्तिम अर्थात् १०औँ स्थानमा छ ।

बिहीबारको खेलमा हैदराबादसँग पराजित भएमा बैंगलुरु उपाधि होडबाट बाहिरिने छ । हैदराबादलाई हराए बैंगलुरु तालिकाको नवौँ स्थानमा उक्लने सम्भावना छ । प्रतियोगितामा अगाडि बढ्न अब बैंगलुरुलाई बाँकी सबै खेलमा जित आवश्यक देखिन्छ ।

जारी आईपीएलको प्ले अफ चरणमा पुग्न कुनै पनि टोलीलाई कम्तीमा १४ अङ्क आवश्यक पर्छ । १४ अङ्क जोडेर पनि टोलीले अगाडि बढ्नका लागि नेट रन रेटसमेत गतिलो बनाउनु पर्ने हुन्छ । यति हुँदा पनि प्ले अफ चरणमा पुग्ने निश्चित हुँदैन । अन्य टोलीको प्रदर्शनमा समेत भर पर्नु पर्ने हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप