शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भोजपुर र धनकुटामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मङ्गलबार, १८ वैशाख २०८१, १३ : १२
मङ्गलबार, १८ वैशाख २०८१

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा ३५२८ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो ।

संघीय सांसद डा. सुनिल कुमार शर्माको पहल तथा भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, सल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजारस्थित गान्धी अस्पतालमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले गत वैशाख १३ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा १७८३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको छ । 

उक्त शिविरमा जाँच गराएका मध्ये १३४ जना विपन्न बिरामीहरूको थप उपचारको लागि नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार हुने छ । उनीहरूले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य उपचारमा शल्यक्रिया समेत निःशुल्क हुने जनसम्पर्क अधिकृत नवीन दाहालले बताए ।

त्यस्तै मिति २०८१ वैशाख १४ र १५ गते धनकुटा जिल्ला पाख्रीबास नगरपालिका स्थित उत्तरपानीमा पाख्रीबास नगरपालिकाको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ८७५ जना बिरामी लाभान्वित भएका छन् । वैशाख १६ गते धनकुटा कै चौबिसे गाउँपालिका बुधबारेमा चौबिसे गाउँपालिकाको आयोजनामा एक दिवसीय बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त अवसरमा ८७० जना बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो । जनसम्पर्क अधिकृत नवीन दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएर थप उपचारका लागि रिफर भएका बिरामीहरूको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा सहुलियतमा उपचार हुने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप