मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
कथा

खरानीमुनिको आगो

शनिबार, २२ वैशाख २०८१, १७ : २७
शनिबार, २२ वैशाख २०८१

आकाश छर्लङ्गै उघ्रेको थियो । झुल्के घामका मधुरा, शान्त किरण पहेँल्पुर फुलेको तोरीबारीमा ओइरिए । खरका छानाहरूबाट पातलो बाफ फुस्फुस् उड्न थाल्यो । शीतले निथ्रुक्क भिजेको गाउँ घामका न्याना किरणले मुख धोएर मुसुक्क हाँस्यो ।

‘ओई बा !’ नस्पातीका रुखको टुप्पोबाट हरिदलेले उल्लासमय स्वरमा बोलायो, ‘ओई बा ! हेर अक्कासभरि गिद्ध उडेका ।’

जितमान सार्की अँगेनाका डिलमा खुट्टा फारेर झोक्राउँदै बसेको थियो । उसको मगजमा चिन्ताको प्रवाह उर्लेको थियो, हृदयमा वेदना । उदास मुद्रामा ऊ जुरुक्क उठ्यो, आँगनमा पुग्यो र कान तिखारेर सुन्यो । घामलाई छुन खोज्दै आकाशतिर चुलिएको गिद्धे पहरोतिर उसले आँखा उठायो । खै त गिद्ध कतै पनि छैनन् नि ? मधुरो आशाले भरिएको उसको मन अँध्यारो बादलले ढाकियो । दिक्क मान्दै उसले आङ तान्यो र ऊ फेरि अँगेनाका डिलमा झोक्रिन थाल्यो । डाँडाको जूनजस्ती उसकी आमा अँगेनो खोस्रिन थालिन् । उसले मुजैमुजा परेका आमाका गालामा जीवनको धून बिलाउँदै गएको देख्यो ।

त्यो फूलपातीको दिन थियो, वर्ष दिनको चाड । जम्मै दाँत फुक्लिसकेकी आमालाई जितमानले ट्वाल्ल परेर हेर्‍यो । अहो ! अर्को दशैँसम्म आमा बाँच्लिन् र ? उसको मुटुको ढुकढुकी टक्क अडिएजस्तो भयो । पोहोरको दशैँको उराठलाग्दो चित्र उसको मनमा नाच्न थाल्यो । आमा पोहोर पनि फूलपातीका दिन त्यै चिसो अँगेनाको डिलमा त्यसरी नै कुप्रिएर बसेकी थिइन् । उनीसँगै टाँसिएर पुतली खेलाउँदै गीत गाउँदै थिई सानी डल्ली । मनमा औडाहाको अजङ्गको भारी बोकेर जितमान यसरी नै झोक्रिँदै थियो । यो साल पूmलपाती त आयो तर डल्ली आइन । अर्को फूलपातीमा आमा होलिन् कि नहोलिन् ! तालुमा हात राखेर उसले आँखा चिम्ल्यो । आमाका चाउरिएका गालाबाट विरहका आँसु बगे । मन थाम्न नसकेर जितमान फेरि आँगनमा निस्क्यो ।

पहेँल्पुर तोरीबारीतिर फर्केर जितमानले मैलो दौराको फेरले आँसु पुछ्यो । पोहोर पनि बारीमा यसरी नै ढकमक्क तोरी फुलेको थियो । तर तोरीबारीभन्दा उज्याली त उसकी डल्ली पो थिई । आफ्नो तोरीबारी नभए पनि जितमानले छोरीका मायालु गालामा तोरीबारीको सौन्दर्य देखेको थियो । अहिले घरमुनि जितमानको तोरीबारी छैन, र काखमाथि उसकी डल्ली छैन । सुस्केरा हाल्दै उसले दुवै हातले आँखा छोप्यो ।

‘ओई बा !’ हावाझैँ हुर्रिंदै आएर हरिदलेले बाबुको कम्मरमा अँगालो मार्‍यो । ‘टारघरे मुखियाको पाङ्रे गोरु मरेछ, बा !’ बाबुको पेटमा मुख जोतेर फुरुङ्ग पर्दै उसले भन्यो । बाबुले छोराको कपाल मुसार्‍यो, छोराले बाबुको अनुहारतिर आसालु आँखा उठायो ।

मुखियाका घोप्टे जुँगा सम्झेर ऊ डरायो । छातीमा हात राख्यो र छोराको पहेँलो अनुहार व्यथित नजरले हेर्‍यो । आऽ बित्थामा आएको यो पापी दशैँ गरिबका छातीमा आँसुको मूल फुटाइदिन !

‘कल्ले भन्यो तँलाई ?’

‘छेउघरे गान्टेले । हो बा, साँच्चै हो । नपत्याए हेर न आकाशभरि गिद्ध घुमेका ।’

जितमान सिकुवामा बस्यो र जुत्ता रङ्गाउन थाल्यो । टारघरे मुखियाको अनुहार टल्किँदै गएका जुत्तामा उत्रिँदै गयो । जुत्तामा थुक लगायो र मुन्टो हल्लाउँदै उसले बुरुस दल्यो । रङ्गाइसकेपछि आँखैनेर जुत्ता उठाएर बडो आनन्दसँग उसले नियाल्यो । जुत्ता कति काला, कति चिल्ला, कति बान्की परेका ! जुत्ता देखेर मुखियाका आँखा कसो नलोभिएलान् ? जुत्ताको टलकमा मुखियाको अनुहार हेर्दै ऊ फिस्स हाँस्यो ।

‘ओई आमै ! टारघरे मुखियाको पाङ्रे गोरु मरेछ । नपत्याए बाहिर ग’र हेर त । अकाशभरि कतिकति गिद्ध छन् !’

पुरानो कपडाले जितमानले जुत्ता बेर्‍यो । अनि डोकामा जुत्ता हालेर ऊ हिँड्यो । बाख्रीको चुल्बुले पाठोझैँ बुरुक–बुरुक उफ्रिँदै छोरो पछि लाग्यो । गिद्धे पहराबाट कतिबिधि गिद्ध वेग हान्दै टारघरे मुखियाका घरतिर ओइरिन लागेछन् । अँ, गोरु मरेको त साँच्चै हो रहेछ । 

‘ओइ बा, जुत्ता कहाँ लाने ?’

‘मुखियालाई बक्साउन ।’

जितमानको स्वर पीरले भिजेको थियो । झिमिक्क ननिदाई ऊ रातभरि छटपटाइरह्यो । राता भएका थिए उसका आँखा र खिन्न भएको थियो उसको मन । कसरी रिझाउने होला टारघरे मुखियालाई ? उसका डेग चलेनन् । मुखियाका घोप्टे जुँगा सम्झेर ऊ डरायो । छातीमा हात राख्यो र छोराको पहेँलो अनुहार व्यथित नजरले हेर्‍यो । आऽ बित्थामा आएको यो पापी दशैँ गरिबका छातीमा आँसुको मूल फुटाइदिन ! 

‘ओई बा, गिद्धले मासु लुछिसके होलान् ।’

‘नकारा च्याँसे, खालास् लबटा ।’

जितमानलाई बेस्सरी ठेस लाग्यो । दाहिने खुट्टाको बुढीऔँलाको नङबाट रगत रसायो र उसको मुटु निचोरियो । अल्छी मानेर लुखुर–लुखुर हिँड्दै जाँदा महिना दिनअघिको एउटा दृश्य उसको मनको ऐनामा टड्कारिँदै गयो । अहो ! टारघरे मुखिया त्यस दिन रिसले कस्तो ब्वाँसो भएको थियो ! 

‘बेइमान् गन्दे ।’ मुखियाका वचन उसका कानमा भुन्भुनाए, ‘के सम्भ्mयाछस् तैँले मलाई ? गुहारे खेतालासम्म नपठाउने तँ कहाँको राजा होस् ए गुहेकिरा ? लैजा, तेरा बाउका छाला तैँ पोलेर खा । हेरिराख् गन्दे, तेरो बासउट्टा गर्न सकिनछु भने मलाई गोविन्द डिठ्ठाको छोरो नभन्नू ।’

‘गरिपमारा काठा !’ रिसले आगो भएर दाह्रा किट्दै उसले सराप्यो । ‘मेरो खेत खोसेर मेरी मायालु छोरीलाई तैँले अकालमै मारिस् ।’

जुत्ता भेटी लिएर मुखियालाई बक्साउन गएको जितमानले मुन्टो निहुराएर बिन्ती चढाएथ्योे । एक्लो मान्छे, चिसो चुलो, नाङ्गो र भोको पेट आदि कुरा गर्दै मुखियाका पाउमा उसले दुःख बिसाएथ्योे । परम् दयालु भनेर नाम चलेका टारघरे मुखियाले त्यस दिन जुत्ता त लिए तर दयाको वचन भने दिएनन् ।

रगत र पसिना जमाएर सिएका जुत्ता सित्तै दिँदा पनि मालिकलाई रिझाउन नसकिने कस्तो गाउँ हो यो ? अहो ! टारघरे मुखिया त राछ्छेसै पो भइसके छन् ! कपाल कन्याउँदै जितमानले तोरीबारीतिर आँखा घुमायो । तोरीबारीको आँखै टिप्ने सुन्दर दृश्य, हल्का सुगन्ध, ढकमक्क फुलेको फूलझैँ घामका सफा, शान्त र न्याना किरणहरूले सिँगारिएको छ त्यो गाउँ । तर यी जम्मै चिजमा जीवनको उल्लास खै कहाँ छ ? अनि खै कहाँ छ जीवनको इन्साफ ? भतभती पोल्ने उजाड मरुभूमिमा पिल्सिँदै पानी खोज्न हिँडेको अभागी यात्रीजस्तै भयो जितमान सार्की ।

‘ओई बा, गिद्धले मासु खाइसके होलान् । लौ न, चाँडो कुद ।’

‘चुप् । मेरा मनको औडाहा तँ बुझ्दैनस् लाटा ।’

कुटमिराको रुखमुन्तिर पाङ्रे गोरु लम्पसार परेको रहेछ । आँखामा आशाका धमिला फूल फुलाउँदै जितमानले गोरुको भुँडी छाम्यो । भुँडी ढाडिएर दमाहा भइसकेछ । लामो जिब्रो भुइँमा जोतेर पाङ्रे गएछ । मुखमा स्याउँस्याउँ किरा परेका रहेछन् । सिनुबाट उठेको हरकले हरिदलेको नाकलाई गिज्यायो । नजिकैको ओखरको रुखमा बसेका अहारिसे गिद्धलाई देखेर हरिदलेलाई झोँक चल्यो ।

पारखी आँखाले पाङ्रेलाई नियाल्दै जितमानले मनमनै गुन्यो– गोरु त बलियैजस्तो छ । उस्तो बुढो पनि कहाँ हो र ? अँ, ठुलै पनि त छ । पाँच–सात छाक मासु, अँ, जुत्ता कति जोर होलान् ? चार, पाँच, छ, सात । उसले अन्दाज गर्न सकेन । 

‘ओई बा ! किराले मासु खाइसके । लौ न यताबाट काट्न थाल ।’

‘चुप लाग्, पुड्के मोरा ! मुखियाले देखे भने तेरै मासु लुछ्लान् ।’

बाबुका दौराको फेर समातेर हरिदलेले असहाय आँखाले उसलाई टुलुटुलु हेर्‍यो । एउटा हरियो झिँगो वेग हान्दै आएर उसको निधारमा ठोक्कियो । जितमानले छोराको निधार सुमसुम्यायो । छोरो बाबुका तीघ्रामा टाँस्सियो ।

मुखियाका घरपछाडि तल्लो सुरमा पुगेर अन्योलमा परेको जितमान ठिङ्ग उभियो । रिसले आगो भएका मुखियाका सामुन्ने कसरी मुख देखाउने ? गुत्थ फुलेर घोप्टे जुँगा मुसार्दै बाघझैँ गर्जे भने ! जितमानले छोराको हात च्याप्प समात्योे । 

‘के भो बा ?’

‘मलाई कत्रो पीर छ, तँ सिँगानेलाई के थाहा ?’

मुखियाका आँगनबाट आएको खलबली जितमानका कानमा घन्क्यो । खसी काट्न लाग्या होलान्— उसले लख काट्यो । एक मन त गाली खानुपर्ला भन्ने डरले मुखियाका अगाडि मुखै नदेखाउँजस्तो पनि लाग्यो उसलाई । छोरो मासु लिएर आउला भनेर बाटो हेर्दै अँगेनाका डिलमा आमा झोँक्राइरहेकी होलिन् । पोहोरको दशैँ, अनि त्यसपछिको अनिकाल, यसपालिको दशैँ अनि आगुँको दशैँ... जितमानको सोचाइ छरपस्ट भयो ।

रगत र पसिना जमाएर सिएका जुत्ता सित्तै दिँदा पनि मालिकलाई रिझाउन नसकिने कस्तो गाउँ हो यो ? अहो ! टारघरे मुखिया त राछ्छेसै पो भइसके छन् ! कपाल कन्याउँदै जितमानले तोरीबारीतिर आँखा घुमायो ।

‘गन्दे !’ निधार खुम्च्याउँदै मुखियाले हकारे, ‘हेर, हेर, डोको बोकेर सिनु ओसार्न आको हरामी गिद्ध ! गुहारे खेताला डाक्न पठाउँदा के भन्याथिस्, सम्झना छ ? मेराँ दाह्रा नङिच्याए पनि छाक टर्ला भन्थिस् रे, होइन ? हेर, दाँत उध्याको सिनु लुछ्न । गर्जिते सार्कीलाई डाक्न पठाआ छु । तँलाई घिचाउनुभन्दा त गिद्धलाई छाड्दिनु जाती । तेस्सिमा निमकहराम छुसी !’ मुखियाले घोप्टा जुँगा मुसारे, गाला राता पार्दै हात मले, अनि आँगन वरिपरि एक फन्को मारे । हावाभरि दिल्लगीका स्वरहरू गुन्जे । जितमानले डोको बिसायो र त्यहाँका भद्रभलादमीहरूलाई सर्लक्क हेर्‍यो । सबैका अुनहार प्रशन्न थिए, आँखा चम्किला र ओठ रसिला थिए ।

जितमानले कर्के आँखाले मुखियालाई यसोक्क हेर्‍यो र डोकाको पिँधबाट भ्रmुमाले बेरेका चिल्ला, काला जुत्ता निकाल्यो । जुत्ताका कानमा माटाको सानो दाग लागेछ, उसले दौराको फेरले दाग पुछ्यो । सिकुवाको डिलमा मुडामाथि बसेका मुखियातिर उसले पाइला बढाउन खोज्यो, तर उसका गोडा बिलाएजस्ता भए । मुखियाको माथ्लो ओठमा एउटा तरङ्ग दगुर्‍यो र घोप्टा जुँगा हल्लिए । जितमानलाई लाग्यो, जुँगाजस्तै मुखियाको हिर्दय पनि घोप्टै पो छ कि ! 

‘ए ! जुत्ता लिएर पो आएछ गन्दे,’ घोप्टा जुँगामुनि मुस्कान लुकाउन खोज्दै मुखियाले भने, ‘जाती गरिस् । हा ! हा ! हा ! तर सिनु भने यसपालि पाउँदैनस्, कुरो बुझ् ।’

‘हजुर !’ सिकुवाको माथ्लो सुरमा टुक्रुक्क बसेर जितमानले बिन्ती चढायो ।

‘पाउँदैनस् गन्दे ।’ मुखियाले जुत्ता भुइँमा पछारे ।

‘यत्रो चाडको दिन हजुर !’ जुत्ता टिपेर मुखियाका अगाडि राखिदिँदै हात जोडेर जितमानले भन्यो, ‘बुढीआमा, नाबालक छोराछोरी, चाडबाडमा नहुनेलाई पनि रहरैलाग्दो र’छ, हजुर !’ निरास आँखाले मालिकलाई हेर्दै जितमानले उसका घोप्टा जुँगामुनिबाट निस्कने जवाफको प्रतीक्षा गर्‍यो ।

‘नाथे एक जोर जुत्तामा जात फाल्ने के देख्या छस् तैँले मलाई ?’

‘चाडबाड सबैको एकै हो, मालिक !’

‘अझ ढिपी गर्छ गन्दे ।’

‘ज्यान सबैको एकै हो, हजुर !’

‘जा गन्दे, गइहाल् ।’

टलक्क टल्किने, काला, आँखै टिप्लान्जस्ता जुत्ता मालिकले खाटमुनि घुसारे । जितमानले निकैबेर मुखियाको गुलियो वचनको बाटो हेर्‍यो । आँगनमा मान्द्रो ओछ्याएर भलादमीहरू खसीका लाम्टा छुट्यारहेका थिए । आँगनको पल्लो छेउमा उभिएर हरिदले मुखियाका कुरा सुन्दै थियो । केटाकेटी पोलेको मासु चपाउँदै मुख मिठ्याउँदै थिए । हरिदलेले लोभी आँखाले तिनलाई हेर्‍यो । र, घुटुक्क थुक निल्दै ऊ खिस्रिक्क पर्‍यो ।

‘हजुर,’ कपाल कन्याउँदै जितमानले कलेँटी परेका ओठ चलायो । उसका ओठ कामे, उसको स्वर गलामै रोकियो । मुखिया उठे, घोप्टे जुँगामा ताउ लाए र घरिभत्र पसे । जितमानले यताउति पल्याक–पुलुक हेर्‍यो र सुटुक्क खाटमुनि पसेर जुत्ता निकाल्यो ।

‘जुत्ता लान खोज्या होस् कि कसो ए अनिकाले गन्दे ?’

‘दुई–चार गरा खेत पनि खोसेपछि अनिकाले त हुने नै भयो हजुर !’

‘नचाहिने कुरा नगर्, डामिमाग्लास् जिब्रो ।’

‘मलाई थाहा छ, चाहिने र नचाहिने कुरो ।’

कुरो साँचो हो । अनिकालमा खाएको एक मुरी कोदाको ब्याज, ब्याजको ब्याज, ब्याजको ब्याजको पनि ब्याज पट्याएर मुखियाले जितमानको पाथी पाँचेक बिउ लाग्ने खेत चप्काएको कुरो साँचो हो । 

‘अनिकालले प्याकप्याक मुख बा’का बेलाँ खाको कोदो बिर्सिस् गन्दे ?’

जितमानका नसा–नसामा क्रोधका तरङ्गहरू दगुरे । मूर्तिझैँ ठिङ्ग उभिएर उसले मालिकलाई पुलुक्क हेर्‍यो ।

‘अनिकालाँ कोदो नद्या भए तँ उहिल्यै जिब्रो टोक्थिस्, फुटानी गर्छस् अहिले ?’

‘दया गरेर खेत खाइदिएर त हो मेरी डल्लीको ज्यान गएको ।’ मुखियाका घरपछाडि पुगेर दाह्रा किट्दै जितमानले भन्यो अनि ऊ ओरालो लाग्यो ।

‘ओई बा, गिद्ध ओइरिसके ।’ बाबु आउन लागेको देखेर हरिदले करायो । तल टाँकीको रुखमुन्तिर पुगेपछि मुखियाले जितमानलाई डाके । सुनेको नसुन्यै गरेर ऊ लुखुर–लुखुर ओरालो झर्‍यो । मुखियाले काइते सहानुभूतिले भिजेको स्वरमा फेरि बोलाए । जितमानले रोकिएर मुखियालाई हेर्‍यो । उसका आँखा क्रोधले बलेका थिए ।

‘सिनु काटेर आफैँ भट्टेभोज लाऊ ।’ चाँच्चाडो पाइला चाल्दै जितमानले तीतो पोख्यो । अनि उसले मनमनै भन्यो— मेरो खेत खायो, मेरी छोरीलाई खायो, सिनुसम्म खान नदिएर अब मेरी आमालाई खान खोज्छ, निठ्ठुरी काँठो ! 

दगुर्दै आएको हरिदलेले बाबुका तीघ्रामा अँगालो मार्‍यो, मासु काट्न जाऊँ भन्दै उसले बाबुलाई पिरोल्यो र बाबुले नटेरेपछि ऊ सुँक्कसुँक्क रुन थाल्यो । 

‘नरो केटा !’ बाबुले फकायो । ‘भरे सुँगुरको बुचो काटुँला ।’

बाबुछोरा चुपचाप ओरालो झरे ।

भुते खोलानेर पुगेपछि जितमान एकाएक उभियो । नौ महिनाअघिको दुःखपूर्ण दृश्य उसको मनका आँखामा सजीव भएर नाच्यो । अहो ! त्यही चप्लेटी ढुङ्गामुन्तिर त हो नौ महिनाअघि उसले आफ्नै हातले डल्लीलाई गाडेको ! चिहानलाई झारले छपक्कै ढाकेछ । तीतेपातीका बुच्का पनि ठुल्ठुला भइसकेछन् । जितमानले दुवै हातले आँखा छोप्यो र छोराका आँखा छलेर सुटुक्क आँसु पुछ्यो । 

डल्ली खस्नुभन्दा एक महिनाअघिको एउटा घटना उसको मनको पर्दामा झल्याक–झुलुक देखियो । त्यस दिन डल्लीलाई उसले छाला माड्न लगाएको थियो । दलिनमा झुन्ड्याएको लामो हल्लुँड समातेर डल्लीले निकैबेर छाला माडेकी थिई । बेलुका हेर्दा त हल्लुँडले दर्फर्‍याएका उसका कलिला हत्केलाबाट रगत पो रसाउन थालेको रहेछ । छोरीको दशा देखेर उसको हृदय चसक्क चस्केको थियो । 

‘गोज्याङ्री, मैले तँलाई हात फुटुन्जेल छाला माड् भन्या थेँ ?’ छोरीका हातमा ओखती लाइदिँदै उसले भनेथ्यो । सेता दाँत टलक्क टल्काउँदै मुसुक्क हाँसेकी थिई उसकी प्यारी डल्ली । सम्झिँदा–सम्झिँदै जितमानका आँखा फेरि रसाए । डल्ली ! यसपालाको अनिकालको महामारीमा तरुल भ्याकुर खाँदा कुफत परेर उसको काखबाट खोसिएकी उसकी प्यारी डल्ली । उसलाई छाला माड्न सघाउने उसकी छोरीको मुख बिहानी पखको कलिलो घाममा चम्केको देख्न अब ऊ पाउँदैन । छोरीका मायालु हातले टिपेको सिस्नुको तर्कारी खान अब ऊ कहिल्यै पाउँदैन ।

‘गरिपमारा काठा !’ रिसले आगो भएर दाह्रा किट्दै उसले सराप्यो । ‘मेरो खेत खोसेर मेरी मायालु छोरीलाई तैँले अकालमै मारिस् ।’

‘ओई बा, चाँडो आउन बुचो काट्न ।’ परको चुच्चे ढुङ्गोमाथि चढेर हरिदलेले बोलायो । जितमान झसङ्ग भयो । गहिरो निद्राबाट झ्याट्ट ब्युँझेजस्तो लाग्यो उसलाई । धत्तेरिका ! आधा दिन पो भइसकेछ । दुवै हातले छाती थिच्दै ऊ अगाडि बढ्यो । लुगाफाटा हाल्न साँचेको बुचो अब उसले मार्नैपर्ने भो ।

डाँडामाथिको घामका पहेँला किरण तोरीबारीमा खनिदा सुनौलो ज्योति आँखै लठ्याउने गरी चम्किँदै थियो । जितमानले सिकुवाको डिलमा बसेर छोराले कुपुकुपु मासु खाएको टुलुटुलु हेर्‍यो । हरिदलेका आँखा डल्लीका जस्तै सफा, शान्त र चम्किला थिए । हरे ! ऊ बाँचिरहेकी भए आज कति रमाउँथी ! घर कति उज्यालो हुन्थ्यो ! घाम डुब्न लागेको क्षितिजतिर फर्केर जितमान एकछिन टोलायो ।

‘मुखियाका गोरुको भन्दा हाम्रै बुचाको मासु मीठो, हैन्त बा ?’

‘भो, भो त्यस ज्यानमाराको नाम मलाई नसम्झा ।’

कोमल, शान्त र सुन्दर किरण तोरीबारीभरि छरेर घामले जितमानलाई साँझको सलामी दियो । 

हिजोबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप