कांग्रेस निकट महेश श्रेष्ठ एनआरएनए ‘एकता महाधिवेशन’बाट अध्यक्ष चयन, कार्यसमितिमा को–को ? (सूचीसहित)
काठमाडौँ । डा शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठ अध्यक्ष चयन भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवासमेतको दबाबमा कांग्रेस निकट श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।
एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिता बिनै भएको एकता महाधिवेशनबाट श्रेष्ठ अध्यक्ष चयन भएपनि ११ औँ महाधिवेशनमा भने श्रेष्ठ केसीसँग पराजित बनेका थिए । ११ औँ महाधिवेशनमा भएको विवादकै बीचमा एनआरएनएको १० औँ महाधिवेशनको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत वर्ष एकता महाधिवेशन गराउन परमादेश दिएको थियो ।
सोही परमादेशपछि घलेले गराउने एकता महाधिवेशनलाई कांग्रेस र माओवादी निकट एनआरएनएहरुले साथ दिएका थिए । जसअनुसार मध्यपूर्वबाट आरके शर्मा अध्यक्ष पदको सशक्त दाबेदार भएपनि परराष्ट्रमन्त्रीसमेतको दबाबमा महेशलाई सर्वसम्मत अध्यक्ष घोषणा गरिएको हो । मध्यपूर्वबाट ठुलो संख्यामा प्रतिनिधि सहभागी भएपनि खासै प्रतिनिधि नभएका महेशलाई नै अध्यक्ष बनाइएको एक प्रतिनिधिले बताए ।
शनिबार एनआरएनएको एकता महाधिवेशन उद्घाटन हुँदा राणाले कांग्रेसलाई अध्यक्ष बनाउने भएमात्रै आफू सहभागी हुने अड्डी कसेकी थिइन् । सोहीअनुसार शर्मालगायतलाई सहमत हुन बाध्य गराएर सोहीअनुसार आइतबार नेतृत्व घोषणा गरिएको ती प्रतिनिधिको भनाइ छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिल कुमार साह, मनोज कुमार श्रेष्ठ, विश्वास लिम्बु र बुद्धिसागर सुवेदी चयन भएका छन् । यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ चयन हुँदा महासचिवमा बाबुराम लामा चयन भएका छन् ।
यस्तै सचिवमा टंक गैरे, चिन्तामणि सापकोटा, तिलक गैरे, देवकी गुरुङ चयन हुँदा कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना सर्वसम्मत भएका छन् । यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल चयन भएका छन् ।
यस्तै युवा संयोजक, क्षेत्रीय संयोजक, उपसंयोजकलगायतका पदमा पनि निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले जानकारी दिए ।
एकता महाधिवेशन भनिएपनि हालसम्म एनआरएनएको आधिकारिकता भने बद्री केसी नेतृत्वको एनआरएनएसँगै छ । यो विषय सर्वोच्चमा समेत विचाराधीन रहेको तथा एनआरएनएभित्र स्पष्ट दुई समूह रहेकाले आगामी दिनमा विवाद थप चर्किने जानकारहरूको भनाइ छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण