शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

‘जीबी राई’ बारे गृहमन्त्री लामिछाने र मलेसियाका गृहमन्त्रीबिच फोनवार्ता

आईजीपी र मलेसियाका प्रहरी प्रमुखबिच पनि छलफल
आइतबार, २३ वैशाख २०८१, १५ : ४५
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ । गत १८ वैशाखमा दुई मन्त्रीबिच कुराकानी भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

फोनवार्ताका क्रममा गृहमन्त्री लामिछानेले मलेसियामा नेपाली श्रमिक धेरै रहेको र उनीहरूको सुरक्षा व्यवस्थाबारे चासो राखेका थिए । दुई मन्त्रीहरूको बिचमा मलेसियामा लुकेर बसेका गितेन्द्रबावु (जीबी) राईबारे पनि कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयमा कार्यरत प्रतिभा रावलले रातोपाटीलाई बताइन् ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध रेड नोटिस जारी भएको छ । पछिल्लोपटक उनी मलेसियामा ‘लोकेट’ भएका थिए ।

यता देशको सिमानाको सुरक्षा र सार्वजनिक व्यवस्थाको विषय छलफलको मुख्य विषय भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यहाँ जीबी राईबारे विषय उल्लेख छैन । उनले लेखेका छन्, ‘हामी आप्रवासी कामदारहरूका साथै सीमापार अपराध रोकथाम लगायतका अन्य धेरै विषयमा सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध छौँ ।’

जीबी राईबारे प्रहरी महानिरीक्षक बसन्त कुँवरले पनि मलेसियाका प्रहरी प्रमुखसँग कुराकानी गरेका छन् । फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ सम्म आयोजना गरिएको इन्टरपोलको १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा कुँवरले मलेसियाका प्रहरी प्रमुखसँग त्यसबारे छलफल गरेका हुन् । साइडलाइन कुराकानीमा जीबी राईबारे छलफल भएको आईजीपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।

कुँवरले भने, ‘जीबी राईलाई पक्राउ गरिदिन आग्रह गरेको छु ।’ जवाफमा मलेसियाका प्रहरी प्रमुखले त्यसबारे ‘गम्भीर’ रहेको जवाफ दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप