सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।
मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुवात मात्रै भएको बताए । आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय र वडासम्म पनि पुराउन सकिने बताए ।
मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको बताए । ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन् । त्यस्तैगरी रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउने सकिनेछन्,’ उनले भने ।
मेला आगामी जेठ १७ देखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा २ दिन चल्नेछ । नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरूबिच मध्यस्थताको काम गर्नेछ ।
मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरुको पनि सहभागिता रहनेछ । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ ।
सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघको पनि मेला स्टल राखिनेछ ।
मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरगं बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ । मधेस प्रदेशको वीरगन्जमा १९ र २० गते सञ्चालन हुनेछ । गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवाका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न सक्दैन : मुख्यमन्त्री लामा
-
चार वर्षमा सकिनु पर्ने ‘फास्ट ट्र्याक’को काम आठ वर्षमा बल्ल ४० प्रतिशत
-
विभिन्न माग राखी कर्मचारीले बुझाए समितिमा हस्ताक्षर
-
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सवइन्जिनियरविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
-
अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द
-
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाई सुरुवात