शनिबारदेखि किमाथाङ्कासहित देशभरका १४ वटा उत्तरी नाका खुल्ने
विराटनगर । शनिबारदेखि नेपाल–चीनको सिमानामा पर्ने सङ्खुवासभाको किमाथाङ्का नाका खुल्ने भएको छ । विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । चीनतर्फ जोड्ने किमाथाङ्का नाका सञ्चालन हुँदा अन्य नाकाको तुलनामा सहज हुने बताइन्छ ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भोलि देशका उत्तरतर्फका १४ वटा नाका खुलेको घोषणा गर्न सङ्खुवासभाको किमाथाङ्का पारिपट्टी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने छेम्दाङमा विशेष कार्यक्रम गर्न लागिएको हो ।
उक्त नाका खुलाउन स्थानीय तहमा धेरै प्रयास भएपनि सार्थकता पाउन सकेको थिएन । ‘स्थानीय प्रयासले सार्थकता नपाइरहेको अवस्थामा सङ्घीय सरकारको प्रयत्न पछि एकैपटक १४ वटा व्यापारिक नाकाहरू खुल्न लागेका हुन्,’ प्रमुख जिल्ला अधिकारी खड्काले भने ।
कार्यक्रम हुने स्थानमा पुग्न नेपालको सीमा क्षेत्रबाट पैदल १५ मिनेट हिँड्नुपर्ने र पुनः १५ मिनेट गाडीमा जानुपर्ने खड्काले बताए । नेपालको सीमा क्षेत्र किमाथाङ्कासम्म भने चीनले पनि बाटो जोडेको छैन । यद्यपि भन्सार कार्यालय भने चीनले स्थापना गरेको छ ।
कोरोना कालदेखि बन्द भएका देशका उत्तरतर्फका १४ वटै नाका खुलेको घोषणा भने सङ्घीय सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्नेछन् ।
त्यसका लागि परराष्ट्रमन्त्री श्रेष्ठसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सङ्घीय सांसद दीपक खड्का र प्रदेशका स्वास्थ्य मन्त्री तथा सो क्षेत्रका प्रदेश सांसद राजेन्द्रकुमार कार्कीका साथै सुरक्षा निकायबाट ५ जना, गृह,वाणिज्य र रक्षा मन्त्रालयबाट सह सचिवस्तरका कर्मचारी प्रतिनिधि र परराष्ट्र मन्त्रालयको एउटा टिम त्यहाँ जान लागेको खड्काले जानकारी दिए ।
काठमाडौँबाट आउने टोली जहाजबाट तुम्लिङटार जाने र त्यहाँदेखि हेलिकप्टरबाट जाने प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए । किमाथाङ्कासम्म पुग्ने सडकको ट्र्याक खोल्न नेपाल तर्फबाट अझै २ किलोमिटर बाँकी छ । उक्त ट्र्याक खुल्ने हो भने नियमित भन्सार सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
‘यो चाहिँ चीनसँग नेपाललाई जोड्ने कम उचाइको र छोटो दुरीको नाका पर्छ । ५ हजार ७ सय मिटरको उचाइमा रहेको रसुवाको रसुवागढी नाका हो । तर, किमाथाङ्का नाका भने २ हजार ६ सय मिटरको उचाइबाट जान सकिन्छ,’ उनले भने, ‘चीनले भने भन्सार कार्यालय स्थापना गरिसकेको छ । अहिले आयोजित कार्यक्रम पनि चीनको भन्सार कार्यालयमै हुने हो ।’
नेपालबाट भोलिदेखि चीनतर्फ सामान निर्यात पनि सुरु हुने उनले बताए । अहिले पनि अनौपचारिक रूपमा किमाथाङ्का (भोट खोला गाउँपालिका) का जनताले उपभोग्य सामानहरू त्यहाँबाट ल्याउने गर्छन् । तर, औपचारिक रूपमा भने कोरोना कालदेखि सामान ओसारपसार गर्न बन्द गरिएको थियो ।
‘पहिले पहिले बोकेर ल्याउने खालका सामानहरू नेपाल–चीनतर्फ आउने जाने गर्दथ्यो । अहिलेचाहिँ त्यो पनि बन्द थियो । त्यहाँ नेपालतर्फ भन्सार पनि थियो । सीमा प्रशासन र भन्सार भने ०५७ सालमा सशस्त्र युद्धका कारण विस्थापित भएको हो,’ खड्काले भने, ‘माथितिर उपभोग हुने दैनिक उपभोग्य सामानहरू उतैबाट आउँछन् । त्यो भन्सार लाग्ने खालको छैन । भन्सार तिर्नुपर्ने खालका सामानहरूचाहिँ सदरमुकाम खाँदबारीबाट भन्सार तिरेर लैजानुपर्ने अवस्था थियो ।’
त्यहाँ सीमामा दिइने इमिग्रेसन सेवा छैन । पहिला परिचयपत्रसम्म दिने चलन थियो । अहिले गृह मन्त्रालयसँग सल्लाह गरेर नागरिकता दिनेसम्म काम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी खड्काले बताए । ‘अहिले परिचयपत्र दिने हिसाबले एक जना कर्मचारी सीमा प्रशासनको लागि जानुभएको छ । उहाँ गाउँपालिकाको कार्यालयमा बसेर काम गर्ने गरी जानुभएको हो,’ खड्काले भने । भोटखोला गाउँपालिकाको कार्यालय भने हटियागोलामा छ ।
२०७६ सालदेखि बन्द थियो नाका
कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो । नाका बन्द हुँदा त्यसको सबैभन्दा ठुलो असर भोटखोलामा परेको थियो भने नाका खुल्ने भएपछि त्यहाँका बासिन्दालाई सहज हुने भएको छ । त्यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्न पाउनेछन् ।
वि.सं. २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारीमा रहेको छ । भोटखोलाबासीलाई तिब्बत प्रवेश गर्न स्थानीय स्तरमा अनुमति पत्र पनि वितरण सकिएको छ । किमाथाङ्का बन्द भएपछि भोट खोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो ।
भोटखोलाको किमाथाङ्का नाका सदरमुकाम खाँदबारीदेखि करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथाङ्का स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए ।
करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मू कश्मीर चुनावको नतिजा : नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत
-
कोलकाताको आरजी कर मेडिकल कलेजका वरिष्ठ चिकित्सकद्वारा सामूहिक राजीनामा
-
जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !
-
कांग्रेसको खेलकुद विभागमा १० सदस्य मनोनयन
-
इनिएस्टाद्वारा फुटबलबाट संन्यासको घोषणा
-
लागु औषधसहित तीनजना पक्राउ