सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
राजनीति

गणतन्त्र दिवसका दिन १० हजार जनालाई काठमाडौँमा उतार्दै सीके राउत

कहाँ कहाँबाट हुँदैछन् भेला ?
शनिबार, १२ जेठ २०८१, १७ : ३२
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवसको अवसर पारेर नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गर्दैछ । त्यसका लागि पार्टीले जेठ १५ गते काठमाडौँको भृकुटीमण्डपमा विशाल आमसभाको आयोजना गर्ने भएको हो ।

कार्यक्रमका लागि जनमत पार्टीका अध्यक्ष राउतले देशभरबाट पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई नेपाल आउन आह्वान गरेका छन् । पार्टीले कार्यक्रमको बारेमा सबैभन्दा बढी प्रचार काठमाडौँ उपत्यकामा गरिरहेको छ । यसका लागि अध्यक्ष राउत आफैँ पनि खटिएका थिए । 

बढीभन्दा बढी मान्छे काठमाडौँ उपत्यकाकै होस् भन्ने उनको लक्ष्य रहेको छ । प्रचार प्रसारका लागि पार्टीका नेता तथा कार्यकर्तालाई उनले परिचालन उनले गरेका छन् । 

  • कहाँ कहाँबाट काठमाडौँमा हुँदैछन् भेला ?

यद्यपि, उपत्यकाबाट मात्र नपुग्ने भएपछि बाहिरी जिल्लाबाट पनि नेता तथा कार्यकर्तालाई काठमाडौँ उतार्ने तयारी भइरहेको छ । यसमध्ये सबैभन्दा बढी मधेस प्रदेशबाट आउनेछन् । 

एउटा पालिकाबाट कम्तीमा एउटा बस अनिवार्य गरिएको छ । यसका लागि पार्टीले तल्लो कमिटीलाई निर्देशन दिएको छ । 

कार्यक्रममा सहभागी हुनका लागि जनमत पार्टीबाट लुम्बिनी प्रदेश तथा कोशी प्रदेशबाट पनि नेता तथा कार्यकर्ता ल्याइने बताइएको छ । लुम्बिनी प्रदेशका केही स्थानीय तह तथा कोशी प्रदेशबाट झापा, मोरङ र सुनसरीबाट पनि नेता तथा कार्यकर्ता ल्याउन निर्देशन भएको पार्टीका नेताहरू बताउँछन् । 

नौलो गणतन्त्रका लागि आन्दोलन घोषणा गर्न आयोजना गर्ने कार्यक्रमको तयारीका लागि जनमतले अध्यक्ष राउतको नेतृत्वमा एउटा मूल कमिटी बनाएको छ भने त्यसका विभिन्न १८ वटा उपसमितिहरू छन् । पार्टीका अनुसार कार्यक्रमको तयारी लगभग पुरा भएको छ ।

ती सबै समितिहरूले कार्यक्रमको तयारीमा जुटेको पार्टीका उपाध्यक्ष ई. दीपक साहले बताए । उनले भने, ‘कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ, जिम्मेवारी पाएकाहरू आ–आफ्नो तयारी जुट्नु भएको छ ।’

कार्यक्रमका लागि नेता तथा कार्यकर्ताहरू काठमाडौँ आउन पनि सुरु भइसकेको साहको भनाई छ । कार्यक्रमका लागि स्वयंसेवक बनेका तथा पार्टीका पदाधिकारीहरू काठमाडौँ आइपुगेको उनले बताए ।

‘कार्यक्रममा सहभागी गराउनका लागि उपत्यकालाई लक्षित गरिएको हो । उपत्यका बाहिरबाट आउन भनिएको छ तर अनिवार्य भने गरिएको छैन,’ उनले भने, ‘पार्टी नेता तथा कार्यकर्ता जो कार्यक्रममा आउन चाहनुहुन्छ, उहाँहरू आफ्नै खर्च आउने आउनुहुन्छ । पार्टीले कुनै खर्चको व्यवस्था गरेको छैन ।’ 

  • यस्ता छन् मागहरू 

‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’, भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याऔँ’ भन्ने नारा दिएर आयोजना गर्न लागिएको आमसभामार्फत अध्यक्ष राउतले नौ बुँदे माग राख्दै आन्दोलनको घोषणा गर्ने छन् । 

अध्यक्ष राउतले जारी गरेको अपिलमा भनेका छन्, ‘अहिलेसम्म अरू नेता र पार्टीका लागि धेरै पटक आन्दोलन गर्‍यौँ, अब आफ्नो र आफ्नो सन्ततिको भविष्यको लागि देश विकास आन्दोलनमा सहभागी होऔँ ।’ 

नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउनका लागि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै राउतले सरकार, पार्टी र शीर्ष नेताको संलग्नता र संरक्षणमा भएका भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरेर सजाय दिन माग गरेका छन् । 

ह्विप नलाग्ने एकसदनात्मक व्यवस्था कायम गर्न माग गर्दै अध्यक्ष राउतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित निर्वाचन आयुक्त, महालेखा परीक्षक, महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेत निर्वाचनबाट चयन गर्न माग गरेका छन् । 

मन्त्री खारेज गरी प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञहरू नियुक्त गरेर विभागीय काम कारबाही गर्ने व्यवस्था गर्न उनको माग छ । त्यस्तै प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचनबाट गर्न र सांसदबाट मन्त्री पनि नराख्न माग उनले गरेका छन् । 

देशको उत्पादन प्रणाली निजी क्षेत्रको हातमा दिने तर राज्यले नियमन गर्ने र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारहरूबाट कोही वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न पनि उनले माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप