विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौँ : उपाध्यक्ष भुसाल
मस्कट । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवम् पश्चिम एसिया प्रदेशका इन्चार्ज पम्फा भुसालले विदेशमा सिकेका सीप स्वदेशमा उपयोग गर्न आग्रह गरेकी छन् । ओमनको राजधानी मस्कटमा सम्पन्न नेपाली जन प्रगतिशील मञ्च ओमनको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष भुसालले देश समृद्ध बनाउन युवाहरूको खाँचो रहेको औँल्याउँदै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरिन् ।
‘हाम्रा खेतबारी बाँझो छन् । नेपालको प्राकृतिक स्रोत साधन सदुपयोग गर्न सकिएन । समृद्ध नेपाल बनाउन तपाईँहरूको खाँचो छ’ भुसालले भनिन्, ‘रेमिट्यान्सले मात्रै कुनै पनि देशको उन्नति र विकास हुँदैन । देश बनाउन विदेशमा सिकेको सीप स्वदेशमै उपयोग गर्नुपर्छ ।’
जेठ १५ मा आएको बजेटमा सरकारले विदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी कार्यक्रमहरू ल्याएको बताउँदै भुसालले विदेश जानुहुन्न भन्ने नभई विदेशबाट सिकेका सीप , ज्ञान र आर्जन गरेको सम्पत्ति स्वदेश मै उपयोग गर्न आग्रह गरिन् । उनले बजेट र नीति तथा कार्यक्रममा उल्लेख रेमिटेन्स जलविद्युत आयोजनाको चर्चा गर्दै जलविद्युत, पर्यटन र कृषिको क्षेत्रमा लगानी गर्न आग्रह गरिन् ।
नेकपा माओवादी केन्द्र लाखौँ नेपालीहरूको आस्था र विश्वासको केन्द्र रहेको बताउँदै भुसालले माओवादी पार्टी जनताको सुख दुःख बुझ्ने पार्टी रहेको प्रस्ट पारिन् । विश्वभर जहाँ पुगे पनि माओवादी भेटिएको चर्चा गर्दै उनले माओवादी पार्टीप्रतिको विश्वास र आस्था बढ्दै गएको बताइन् ।
यसैगरी अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पश्चिम एसिया प्रदेशका सह इन्चार्ज ओम शर्माले जुन देशमा पुगे पनि ठग र दलालले सोझा नेपालीहरू ठगेको गुनासो आएको भन्दै यस्ता ठग र दलालबारे जानकारी गराउन पीडितलाई आग्रह गरे ।
‘ठगिएको प्रमाण सहित हामीलाई जानकारी गराउनुहोस् हामी ठाउँ को ठाउँ कारबाही गर्न लागि पर्छौ’, शर्माले भने, ‘नेपाल ले नेपालीलाई दुख दिने जोकोही हुन् तिनलाई कानुनी कारबाहीको दायरामा ल्याइन्छ ।’
शर्माले नेकपा माओवादीको नेतृत्वको सरकारले जनपक्षीय काम गरिरहेको बताए । सरकारले सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक न्यायको मुद्दा उठाएको प्रस्ट पार्दै शर्माले माओवादीको नेतृत्वमा मात्रै देश समृद्ध हुने बताए ।
देशका सक्षम युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यताको अब अन्त्य हुने बताउँदै शर्माले नेपाली जन प्रगतिशील मञ्च एसिया प्रदेशले बाँझो खेतबारी जोतौँ र बाली लगाऊ भन्ने अभियान सुरु गर्ने बताए । विदेशबाट फर्किएका प्रवासीहरूको हकहितको लागि रिटर्नी सेन्टर गठन गरिएको जानकारी दिँदै शर्माले रिटर्नी सेन्टरमा आबद्ध हुन अपिल गरे ।
कार्यक्रममा ओमनका लागि नेपाली राजदूत डोरनाथ अर्यालले दूतावासले नेपालीहरूको हकहितमा काम गरिरहेको दाबी गरे ।
अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डीबी क्षेत्री, नेपाली जन प्रगतिशील मञ्च पश्चिम एसिया प्रदेशका संयोजक शनिकुमार वली, कोषाध्यक्ष बाबुराम विश्वकर्मा, सहसचिव श्रीकृष्ण भट्टराई, सचिवालय सदस्य ठाकुरप्रसाद ढुङ्गाना, सल्लाहकार शम्भु वाइबा, महाशाखा संयोजक होमनाथ शर्मा, नेपाली जन प्रगतिशील मञ्च युएई महासचिव सुनिल खड्का, एनआरएनए ओमान अध्यक्ष विकल झा, युएई महासचिव भुवनकुमार वाग्ले लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।
अधिवेशन नेपाली जन प्रगतिशील मञ्च ओमनका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण