बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

लम्बियो जसपा नेपालको महाधिवेशन, दुई पूर्वमुख्यमन्त्री चुनावी मैदानमा

बिहीबार, ३१ जेठ २०८१, ११ : ३८
बिहीबार, ३१ जेठ २०८१

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी महाधिवेशन एक दिन लम्बिएको छ । जनकपुरमा जारी महाधिवेशन तीन दिनसम्म चल्ने भनिए पनि नेतृत्व चयन प्रक्रिया नसकिँदा थप एक दिन लम्बिएको हो ।

जसपाको कार्यतालिका अनुसार बुधबार मतदान प्रक्रिया सकेर नतिजा आइसक्नुपर्ने हो । तर बुधबार निर्वाचन प्रक्रियामा धैरै समय लागेकाले बिहीबार मध्याह्न १२ बजे मतदान सुरु हुने गरी नयाँ कार्यतालिका बनाइएको छ ।

उम्मेदवारको दाबी विरोध, मनोनयन पत्र फिर्तासहितका अन्य प्रक्रियाको टुङ्गो लगाएर बिहीबार मध्याह्न १२ बजेदेखि मतदान प्रक्रियामा जाने तयारी गरिएको निर्वाचन समिति संयोजक महम्मद समिम अख्तर अलीले बताए ।

उनका अनुसार धेरैको उम्मेदवारी परेका कारण सबै ‘कलस्टर’ अनुसार छुट्याउन समय लागेको थियो । तर रातिदेखि काम भइरहेकाले बिहीबार तोकिएकै समयमा मतदान सुरु हुने उनले बताए ।

नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेकका पदमा मतदान हुँदैछ । अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भइसकेका छन् ।

उम्मेदवारको प्रचार–प्रसार सुरु

मनोनयन पत्र दर्ता भइसकेपछि जसपा नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्यहरूमा उम्मेदवारी दिएकाहरू प्रचारप्रसारमा व्यस्त छन् ।

मतदानस्थलदेखि लिएर सामाजिक सञ्जालमासमेत उम्मेदवारहरूले भोट माग्न थालेका छन् । मतदान स्थल आसपास पर्चा, ब्यानरसहितका सामग्री प्रयोग गर्दै उम्मेदवारहरूले आफूलाई जिताउन आग्रह गरिरहेका छन् । साथै उम्मेदवारहरूले मत माग्नका लागि समर्थकलाई समेत परिचालन गरेका छन् । यद्यपि, निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची प्रकाशन भने गरेको छैन ।

दुई पूर्वमुख्यमन्त्री कोसँग प्रतिस्पर्धी ?

मधेस प्रदेशका २ पूर्वमुख्यमन्त्री पनि पार्टीको चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले सहअध्यक्षमा उम्मेदवारी दिएका छन् । जसपामा अध्यक्ष पछि दोस्रो ‘भाइटल’ पद हो– सहअध्यक्ष । यो विधान संशोधन भएपछि बनाइएको पद हो ।

यही पदमा अध्यक्षपछिको नेतृत्व गर्नका लागि पूर्वमुख्यमन्त्री राउतले दाबेदारी दिएका छन् । सहअध्यक्षमा उनीसँगै अन्य २ जना चर्चित अनुहार पनि मैदानमा छन् ।

सहअध्यक्षमा राउतसँगै रकम चेम्जोङ र राजकिशोर यादवको उम्मेदवारी परेको छ । त्यसकारण सहअध्यक्ष पदको निर्वाचन रोमाञ्चक बन्ने चर्चा छ ।

यसैगरी अर्का पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले मधेसीतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उनको प्रतिस्पर्धा भने यही क्लस्टरमा उम्मेदवारी दिएका रामबचन अहिर यादवसँग हुँदैछ । एक मधेसी उपाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको हो ।

कुन पदमा कति उम्मेदवार ?

जसपा नेपालको अध्यक्षबाहेक १९ पदाधिकारीसहित २०० पदका लागि आज निर्वाचन हुँदैछ । अध्यक्षबाहेक अब एक जना सहअध्यक्ष, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७, कोषाध्यक्ष १ जना गरी १९ पदाधिकारी र १८१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ ।

एक सहअध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भने १७ जनाको उम्मेदवारी परेको छ । एक महिलासहित ५ जना उपाध्यक्ष पदका लागि पुरुषतर्फ १७ र महिलातर्फ ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैगरी २ महासचिव पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपमहासचिवतर्फ २ खुला र एक महिला पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ९ र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको हो ।

सचिवतर्फको ७ पदका लागि ३४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यसैगरी कोषाध्यक्षमा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप