बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीमा रकमान्तर गरेर बजेट थप गर्ने कांग्रेससँग सहमति,  संसद्को अवरोध हट्ने

शुक्रबार, ०७ असार २०८१, १६ : ५३
शुक्रबार, ०७ असार २०८१

हेटौँडा । बागमती प्रदेशसभाको अवरोध हट्ने भएको छ । सरकार र प्रतिपक्ष दलबिच शुक्रबार दिउँसो सहमति भएसँगै संसद्को अवरोध हट्ने भएको हो । 

बजेटमाथि विरोध गर्दै बिहीबारदेखि प्रदेशसभा बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले अवरोध गर्दै आएका थिए । शुक्रबारको सर्वदलीय बैठकमा रकमान्तर गरेर कांग्रेस सांसदलाई बजेट थप गर्न सरकार तयार भएसँगै संसद् बैठकको अवरोध हट्ने भएको हो । 

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा भएको त्रुटि सच्याउने सहमति दलहरुबिच भएको छ । मुख्यमन्त्रीको सरकारी निवासमा भएको सरकार र प्रतिपक्षी दलहरुबिचको बैठकमा बजेटमा भएको त्रुटि सच्याउने सहमति भएको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए। 

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग यसअघि भएको सहमतिअनुसार विकास बजेट थप गर्न सरकारले प्रतिबद्धता जनाएको उनको भनाइ छ।  बजेट असन्तुलित र त्रुटिपूर्ण रहेको भन्दै प्रतिपक्षी दलहरू कांग्रेस र राप्रपाले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए। प्रदेश सरकारको बजेटमाथि छलफलका लागि आह्वान गरिएको बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेपछि बैठक सरेको थियो। 

शुक्रबार बिहान ११ बजे तोकिएको बैठक पनि दलहरूबिच सहमति नहुँदा सूचना टाँस गरेर स्थगित गरिएको थियो । २ बजे सम्मका लागि स्थगित गरिएको बैठक पनि बस्न नसकेपछि पुनः सूचना टास गरेर ४ः ३० बजेका लागि आह्वान गरिएको छ । 

सहमति भएसँगै शुक्रबार २ वटा बैठक सञ्चालन हुने तय भएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार आजको बैठकमा बजेट वक्तव्य माथि छलफल हुनेछ भने आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जवाफ दिने र विनियोजन विधेयक पेस हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप