बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
स्थानीय बजेट

६ महानगरपालिकाको बजेट ५३ अर्ब ६३ करोड

काठमाडौँ महानगरद्वारा ११ वटा गौरवको आयोजनाका लागि ३ अर्ब ८० करोड विनियोजन
सोमबार, १० असार २०८१, २१ : ५४
सोमबार, १० असार २०८१

काठमाडौँ । सोमबार ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । आर्थिक कार्यविधि तथा विनियोजन विधेयक अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आर्थिक वर्षको बजेट अनिवार्य ल्याउनुपर्ने प्रावधान छ ।

सोही अनुसार सोमबार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका हुन् । ६ महानगरमध्ये काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र विराटनगर महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्षको बजेट ल्याए भने वीरगन्ज महानगरपालिकाले गत शनिबार नै बजेट सार्वजनिक गरिसकेको छ ।

६ वटा महानगरपालिले आगामी आर्थिक वर्षका लागि कुल ५३ अर्ब ६३ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा ३.१२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि ६ वटा महानगरपालिकाले ५२ अर्ब १ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएका थिए ।

विनियोजित बजेट अनुसार आगामी आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकासहित ५ वटा महानगरपालिकाले बजेटको आकार केही बढाएका छन् भने वीरगन्ज महानगरपालिकाले घटाएको छ ।

आर्थिक शिथिलताका बिच घटेको आन्तरिक राजस्व, प्रदेश सरकार र केन्द्र सरकारबाट प्राप्त गर्ने अनुदान र राजस्व बाँडफाँट समेत घटेर आएकाले आगामी आर्थिक वर्षको बजेट घटाउनु परेको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको वीरगन्ज महानगरपालिले आगामी आर्थिक वर्षका लागि ९.९२ प्रतिशतले बजेट घटाएको हो ।

६ महानगरपालिकाको बजेट (अङ्क हजारमा–प्रतिशत)

g

काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड रुपैयाँ

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

–११ वटा गौरवको आयोजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ

–कपडा बैंक, थेमाटिक स्कुल, पोखरी मर्मत तथा संरक्षण, फोहरबाट मल र महानगर होमस्टेसहित ३० वटा महानगर स्वर्णिम योजनाहरूका लागि २ अर्ब रुपैयाँ विनियोजन

–पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन

–सामाजिक विकास क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ विनियोजन

–सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार रुपैयाँ

ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४६ करोड रुपैयाँ

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख रुपैयाँको बजेट ल्याएको ललितपुरले आगामी वर्षका लागि १४.८८ प्रतिशतले बढी बजेट ल्याएको हो ।

भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ५५ करोड रुपैयाँ

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको विनियोजित बजेटभन्दा ३.८१ प्रतिशतले बढी हो ।

–भरतपुर महानगरले वडास्तरबाट कार्यक्रम कार्यान्वयन गर्न न्यूनतम र सूत्रका आधारमा दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेको छ । न्यूनतम २ करोड ७४ लाख २८ हजार ५०१ र अधिकतम २ करोड ९० लाख २ हजार १३३ गरी वडास्तरीय आयोजनाहरूमा ८२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

–महानगरले वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेसातर्फ आकर्षित गर्न व्यावसायिक खेतीका लागि कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता दिनुका साथै कृषकको क्षमता अभिवृद्धि गर्ने लगायत प्रविधि हस्तान्तरण कार्यक्रमका लागि ६ करोड विनियोजन गरेको छ ।

–दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँको अनुदान कार्यक्रमलाई महानगरपालिकाले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ ।

–पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्यफर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा ५० प्रतिशत अनुदान लगायतका कार्यक्रमलाई भरतपुर महानगरले ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पोखरा महानगरपालिकाको बजेट. ७ अर्ब ५१ करोड रुपैयाँ

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ६ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले आगामी आर्थिक वर्षका लागि ५ प्रतिशतले बजेट वृद्धि गरेको हो ।

बजेटमा शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठान सम्बन्धी कार्यक्रम सञ्चालन गर्न महानगरले १ अर्ब ६५ करोड, स्वास्थ्यमा ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि ५६ करोड, सामाजिक विकास अन्तर्गत लक्षित वर्गतर्फ ६ करोड र संस्थागत विकासतर्फ २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

पूर्वाधारतर्फ मुस्ताङचोक–सहिदचोक खण्ड, चिप्लेढुंगा–सभागृह खण्ड र जिरो–विन्ध्यवासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि ३ करोड, फेवा फेरो पदमार्ग निर्माणलाई ५० लाख र ड्यामसाइड पञ्चासे पर्यटकीय मार्ग विकासका लागि ९० लाख विनियोजन गरिएको छ ।

यस्तै, एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार आयोजनाका लागि २६ करोड १६ लाख, पर्यटन लक्षित कार्यक्रमहरू सञ्चालन गर्न एक करोड ५० लाख, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा बिच निर्माणको काम सुरु गर्न २ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

यसैगरी भौतिक पूर्वाधार विकासतर्फ बिपी मार्ग सडक स्तरोन्नति गर्न ८ करोड र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि १ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको महानगरले जनाएको छ ।

–सहरी गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा विपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि महानगरले १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ४९ करोड

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालु वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले आगामी आर्थिक वर्षका लागि ६.५३ प्रतिशतले बढी बजेट ल्याएको हो ।

सामाजिक सुरक्षा र विकासलाई विशेष प्राथमिकता दिएर बजेट ल्याएको महानगरले कृषि, पर्यटनसँगै महानगरको शैक्षिक कार्यक्रमलाई महत्त्व दिएको छ ।

–महानगरीय सुलभ फार्मेसीको स्थापना तथा सञ्चालन, छोरी बचाउ छोरी पढाऊ कार्यक्रम अन्तर्गत पहिलो र लगातार दोस्रो छोरी जन्माउने आमाहरूलाई प्रोत्साहन भत्ताको निरन्तरता,

–कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि कृषि क्षेत्रमा व्यावसायिकरण, यान्त्रीकरण एवम् आधुनिकीकरण र सिँचाइमा जोड, जलवायु परिवर्तन रासायनिक विषादीको प्रयोगबाट पर्ने असर न्यूनीकरण गर्दै वातावरणमैत्री प्राङ्गारिक कृषि प्रणालीलाई प्रोत्साहन,

–सामुदायिक विद्यालयको स्तर सुधार कार्यक्रम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप