बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मकवानपुरका ६ स्थानीय तहले ल्याए ४ अर्ब बढीको बजेट

सोमबार, १० असार २०८१, २२ : ३६
सोमबार, १० असार २०८१

हेटौंडा । मकवानपुरका ६ वटा स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि ४ अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका छन् । सोमबार सम्पन्न गाउँसभामा जिल्लाका १० मध्ये ६ वटा स्थानीय तहहरूले ४ अर्ब १७ करोड ६८ लाख ६८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

जिल्लाका ३ स्थानीय तहहरूले यसअघि नै बजेट ल्याइसेकका छन् भने एउटा स्थानीय तहले विवादका कारण बजेट ल्याउन सकेन । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले असार पहिलो साता नै बजेट ल्याइसकेका छन् भने सोमबार मात्र मनहरी, कैलाश, मकवानपुरगढी, राक्सिराङ, कैलाश र भीमफेदी गाउँपालिकाले बजेट ल्याएका हुन् ।

बागमती गाउँपालिकाले भने विवादका कारण पछि बजेट ल्याउने भएको छ । सो गाउँपालिकाले विवादका बिचमा नीति कार्यक्रम भने प्रस्तुत गरेको छ । अध्यक्ष सर्केस घलानले नीति कार्यक्रम गाउँसभामा पेस गरेका थिए भने उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिनासहित ४ वडा अध्यक्षले गाउँसभा बहिस्कार गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित पालिकाको गाउँसभा/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार जिल्लाका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ का बजेट ल्याएका हुन् ।

घट्यो स्थानीय तहको बजेट

मकवानपुरका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटको आकार घटाएका छन् । स्थानीय तहहरूले आर्थिक मन्दीको असर र कानुनी समस्याका कारण राजस्व संकलन लक्ष्य अनुसार हुन नसक्दा बटेको आकार घटाएका हुन् । आर्थिक संकुचनका कारण संघीय सरकार र प्रदेश सरकारबाट हुने वित्तीय हस्तान्तरण रकम कटौती भएपछि स्थानीय तहहरूले बजेट खुम्चाएका हुने ।

मनहरीको बजेट ३ करोड घट्यो

मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ९० करोड १३  हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले गाउँसभामा चालू आर्थिक वर्षको तुलनामा ३ करोड रुपैयाँ कम बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ९३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक राजस्व समेत घटेकाले सोको प्रभाव बजेटमा पनि पर्न गरेको उपाध्यक्ष पुलामीले बताइन् ।

उनका अनुसार गाउँपालिकाले कुल बजेट मध्ये आन्तरिक आय स्रोत तथा बैंक नगद अल्याबाट ३० करोड २७ लाख ९४ हजार रुपैयाँ  रहने अनुमान गरेको छ । संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाड, समपूरक, सशर्त र विशेष गरी ३५ करोड ३६ लाख ५५ हजार रुपैयाँ, प्रदेश सरकारको समानीकरण अनुदान, सवारी कर वाँडफाँट, सशर्त, समपूरक र विशेष गरी ६ करोड २८ लाख १० हजार रुपैयाँ प्राप्त हुनेछ । निकासा हुनेछ । १८ करोड ०७ लाख ५२ हजार रुपैयाँ संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर, बन रोयल्टी तथा अन्य निकायबाट प्राप्त हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल बजेटमध्ये संघीय सरकारको सशर्त र समपूरक गरी ३५ करोड ३६ लाख ५५ हजार रुपैयाँ, प्रदेश सरकारको समपूरक, विशेष र सशर्त तर्फ ६ करोड २८ लाख १० हजार रुपैयाँ, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपूरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी २ करोड ८२ लाख रुपैयाँ खर्छ हुने अनुमान गरिएको छ ।

प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्च तर्फ १६ करोड ५० लाख २२ हजार रुपैयाँ, विषयगत कार्यक्रम क्रियाकलाप तर्फ ३० करोड ७३ लाख ४७ हजार रुपैयाँ, वडा स्तरीय योजना तर्फ ९ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिका स्तरीय योजना र पूर्वाधार विकास योजनाका लागि ३३ करोड ३६ लाख ४३ हजार रुपैयाँ  सुशासन, संस्थागत विकासका लागि १३ करोड ५९ लाख ७२ हजार रुपैयाँ, आर्थिक विकास तर्फ ४ करोड ३ लाख १० हजार रुपैयाँ, सामाजिक विकास तर्फ २८ करोड ९० लाख ८७ हजार रुपैयाँ, पूर्वाधार विकास तर्फ ३३ करोड ३६ लाख ४३ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

राक्सिराङको बजेट ५४ करोड ६१ लाख

राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिकका लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार रुपैयाँ र पुँजीगततर्फ २१ करोड २० लाख ५ हजार ६२३ रुपैयाँ खर्च हुने अनुमान रहेको गाउँपालिका उपाध्यक्ष वनस्तम थिङद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

संघीय सरकारबाट ४० करोड ६४ लाख ३४ हजार, प्रदेश सरकारबाट ७ करोड ७० लाख ३८ हजार ३५० र आन्तरिक स्रोततर्फ ६ करोड २७ लाख ६५० रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

राक्सिराङले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ले बताए । भौगोलिक रूपमा विकट रहेको राक्सिराङ गाउँपालिकाका लागि प्रदेश सरकारले समेत उपेक्षा गरेको भन्दै पालिकाका जनप्रतनिधिले असन्तुष्टि जनाउँदै आएका छन् ।

कैलाशको बजेट ३ करोड ६७ लाख रुपैयाँ घट्यो

मकवानपुरको विकट कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्ष २०८१र०८२ को लागि ४८ करोड ७८ लाख ६७ हजार रुपैयाँ अनुमानित आय र व्ययको विवरण पेस गरेका हुन् ।

कैलाशले चालू वर्षको तुलनामा गाउँपालिकाको ३ करोड बढी रकम घटाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेटमा ३ करोड ६३ लाख ८७ हजार रुपैयाँ घटाएर विनियोजन गरेको छ । कैलाशले चालु वर्षका लागि ५२ करोड ४२ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरी कार्यान्वयन गरिरहेको छ ।

गाउँपालिकाले आगामी वर्ष कृषि विकासतर्फ ९० लाख ५१ हजार रुपैयाँ, उद्योग विकास तर्फ ३१ लाख रुपैयाँ, पर्यटनतर्फ ५४ लाख रुपैयाँ, सिँचाइतर्फ ५७ लाख ३५ हजार रुपैयाँ, पशुपन्छी विकासतर्फ २२ लाख ७२ हजार रुपैयाँ र आर्थिक विकासतर्फ ३ करोड २७ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी मनहरी खोला पक्की पुलदेखि नामटार कालिकाटार सडकको स्ल्याब ढलान तथा कालोपत्रेका लागि बहुवर्षीय योजना अन्तर्गत संघको ६५ लाख रुपैयाँ र पालिकाको ७० लाख गरी १ करोड ३५ लाख रुपैयाँ, यातायात पूर्वाधार विकासतर्फ ९ करोड ४४ लाख ५० हजार रुपैयाँ, युवा तथा खेलकुदतर्फ ४० लाख ५० हजार रुपैयाँ, भाषा तथा संस्कृति प्रवद्र्धनमा १४ लाख ५० हजार रुपैयाँ, शिक्षातर्फ १५ करोड ३२ लाख ८१ हजार रुपैयाँ र चेली प्रोत्साहन कार्यक्रमका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष ठकुरीले बताए ।

खुम्चियो मकवानपुरगढीको बजेट

मकवानपुरगढी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पेस गरेको बजेट ४ करोड बढीले खुम्चिएको छ । सोमबार गाउँपालिकाको गाउँसभा आगामी आर्थिक वर्षको अनुमानित बजेट ४ करोड ६ लाख ७६ हजार रुपैयाँले खुम्चिएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षका २०८०/०८१ का लागि ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको थियो भने आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५७ करोड ९५ लाख ८० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाले कुल बजेटको चालु खर्चतर्फ २७ करोड ८७ लाख ७७ हजार रुपैयाँ (४८.१ प्रतिशत) र पूजीगत तर्फ ३० करोड ८ लाख २ हजार रुपैयाँ (५१.९ प्रतिशत) विनियोजन गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान ९ करोड ६२ लाख रुपैयाँ र  प्रदेश सरकारबाट समानीकरण अनुदान ९६ लाख गरी १० करोड ७८ लाख रुपैयाँ अनुदान प्राप्त गरेको गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनले जानकारी दिइन् । 

गाउँपालिकाले आन्तरिक आय अन्तर्गत भूमि कर, मालपोत सम्पत्ति कर, घर वाहल कर, अन्य वित्तीय श्रोतबाट प्राप्त रायल्टी, परीक्षा शुल्क, नक्सा दस्तुर शुल्क, सिफारिस दस्तुर, नाता प्रमाणित दस्तुर प्रशासनिक दण्ड, जरिवाना प्रदूषण शुल्क लगायतको शीर्षकमा १ करोड ३४ लाख रुपैयाँको संकलन हुने अनुमान गरिएको छ ।

संघीय सरकारबाट शिक्षा, स्वास्थ्य कृषि, पशु ऊर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम कार्यक्रम राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण कार्यक्रम सहित २३ करोड ३४ लाख ७५ हजार रुपैयाँ र प्रदेश सरकार सर्शत २ करोड ३५ लाख रुपैयाँ गरी २५ लाख ६९  लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान रहेको छ । प्रदेश समपूरक ३ करोड रुपैयाँको अनुदान प्राप्त हुने अनुमान गरिएको छ भने विशेष अनुदान १ करोड रुपैयाँ र संघीय विशेष अनुदान ५० लाख रुपैयाँ बजेट प्राप्त हुनेछ ।

गाउँपालिकाको आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन तथा प्रशासनीय खर्चका लागि ८ करोड ६५ लाख रुपैयाँ (१४.९२ प्रतिशत) विनियोजन गरिएको छ भने आर्थिक विकासतर्फ ३ करोड ८ लाख रुपैयाँ, पूर्वाधारतर्फ १९ करोड २४ लाख ३८ हजार रुपैयाँ (३३.२० प्रतिशत), संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ५५ लाख ९४ हजार रुपैयाँ, विषेयगत क्षेत्रका लागि २५ करोड ५५ लाख ९३ हजार रुपैयाँ (४४.०९ प्रतिशत), वन तथा वातावरण र विपद् व्यवस्थापनका लागि ८७ लाख १८ हजार रुपैयाँ र कार्यालय तथा प्रशासनिक खर्चका लागि ८ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

भीमफदीले ल्यायो ७४ करोड ३६ लाखको बजेट

मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ७४ करोड ३६ लाख ७३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको सोमबार सम्पन्न गाउँसभामा उपाध्यक्ष संञ्जिव श्रेष्ठले आगामी आर्थिक वर्षका लागि १ करोड रुपैयाँ घटाएर बजेट प्रस्तुत गरेका हुन् ।

भीमफेदीले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा ९० लाख रुपैयाँ बजेट घटाएको छ । भीमफेदीलाई प्राप्त हुने संघ र प्रदेश सरकारको अनुदान रकम घटेर आएकाले बजेट समेत खुम्चिएको उपाध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार भीमफदीले चालु आर्थिक वर्षका लागि ७५ करोड २६ लाख ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये हाल ५७.४८ प्रतिशत खर्च प्रगति प्राप्त भएको उनले बताए ।

उनका अनुसार भीमफेदीले आगामी आर्थिक वर्षका लागि कुल बजेटको चालु तर्फ ४४ करोड ६२ लाख ४ हजार रुपैयाँ र पुँजीगत तर्फ २९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ । भीमफेदीले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट २० करोड १० लाख रुपैयाँ वित्तीय अनुखान प्राप्त गरेको छ । जसमा समानीकरण अनुदान ९ करोड ९२ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ७ करोड ८१ लाख २४ हजार रुपैयाँ, रोयल्टी बापत २ करोड ३६ लाख ७५ हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ ।

संघीय सरकारबाट सशर्त, समपूरक र विशेष अनुदान बापत २९ करोड १३ लाख रुपैयाँ प्राप्त भएको छ । जसमा सशर्त अनुदान २६ करोड ७३ लाख रुपैयाँ, विशेष अनुदान १ करोड रुपैयाँ र समपूरक अनुदान १ करोड ४० लाख रुपैयाँ प्राप्त भएको छ ।

त्यस्तै भीमफेदीलाई बागमती प्रदेश सरकारबाट ४ करोड ४८ लाख ६३ हजार रुपैयाँ वित्तीय अनुदान हस्तान्तरण प्राप्त भएको छ । जसमा समानीकण अनुदान तर्फ ९५ करोड ७२ लाख रुपैयाँ र राजस्व बाँडफाँडबाट ३ करोड ५२ लाख ९१ हजार रुपैयाँ रहेको छ । प्रदेश सरकारबाट सशर्त, समपूरक र विशेष अनुदान बापत ५ करोड ८ लाख ६५ हजार रुपैयाँ प्राप्त भएको छ । जसमध्ये सशर्त अनुदान २ करोड ४३ लाख ६५ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड रुपैयाँ, विशेष अनुदान ६५ लाख रुपैयाँ प्राप्त भएको छ ।

आन्तरिक स्रोततर्फ भीमफेदीले ४ करोड ५६ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ । जसमध्ये आन्तरिक स्रोतबाट १ करेड ३६ लाख रुपैयाँ, दहत्तर बहत्तर शुल्क बापत ३ करोड रुपैयाँ, घरजग्गा रजिस्ट्रेशन बापत २० लाख रुपैयाँ, प्राप्त हुने अनुमान रहेको छ ।

गाउँपालिकाले सानुटार किसेडी सडक निर्माणका लागि २ करोड रुपैयाँ, कोगटे महाभिर धार्के स्वाँरा सडक निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । रानीखोला रानीभञ्ज्याङ कृषि सडक निर्माणका लागि २ करोड ८० लाख रुपैयाँ, चिसापानी गढी निर्माण निरन्तरताका लागि २५ लाख रुपैयाँ, लटरमेश्वर महादेव मन्दीर क्षेत्र विकासका लागि २५ लाख रुपैयाँ, वडा कार्यालय भवन निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । 

आर्थिक मन्दी र अनुदान कटौतीले छोएन बकैयाको बजेट

बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ९१ करोड ९५ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । बकैयाँले १० करोड रुपैयाँ बढाएर बजेट प्रस्तुत गरेको छ ।

सोमबारको सम्पन्न गाउँसभामा पालिकाका उपाध्यक्ष भक्तपुर खत्री प्रस्तुत गरेको आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा १० करोड रुपैयाँ बढी रकमको विनियोजन गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा ८१ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३४ करोड ६४ लाख रुपैयाँ, बागमती प्रदेश सरकारले सशर्त अनुदानतर्फ ३ करोड ९ लाख रुपैयाँ प्राप्त भएको गाउँपालिका उपाध्यक्ष खत्रीले बताए ।

यस्तै  संघीय सरकारबाट समपूरक अनुदानबापत २ करोड ८५ लाख, प्रदेश सरकारबाट १ करोड ९७ लाख रुपैयाँ उपलब्ध भएको छ । गाउँपालिकाले हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडालाई ६५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनाहरूलाई सम्पन्न गर्न ३ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । 

कृषि तथा पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्न, सहुलियत दरमा दाना तथा साइलेज विक्री वितरण गर्न तथा प्राङगरिक मल उत्पादन गर्न बकैया कृषि औद्योगिक ग्रामको सञ्चालन गर्न १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप