आफ्नै सरकारविरुद्ध प्रदर्शन गर्ने ५७ जना बङ्गलादेशीलाई युएईले हाल्यो जेल
आबु धाबी । संयुक्त अरब इमिरेट्स (यूएई)को एक अदालतले ५७ जना बङ्गलादेशीलाई जेल हालेको छ । आफ्नै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको भन्दै उनीहरूलाई जेल सजाय सुनाइएको हो । शुक्रबार यूएईभरका कयौं सडकमा दङ्गा भड्काएको भन्दै तीन जनालाई आजीवन कारावासको सजाय सुनाइएको सरकारी समाचार संस्था वामले एक समाचारमा भनेको छ ।
५३ जनालाई भने १० वर्षको जेल सजाय तोकिएको छ । अर्को एक जनालाई ११ वर्षको जेल सजाय दिइएको छ । अदालतले नियुक्त गरेको प्रतिवादीका वकिलले भने आरोपीहरू भेला हुनुको पछाडि कुनै आपराधिक इरादा नरहेको र उनीहरूमाथि लगाइएको आरोपको प्रमाण पर्याप्त नभएको भनेका थिए ।
वामका अनुसार उनीहरूमाथि बङ्गलादेशी सरकारले गरेको निर्णयको विरोधमा युएईका विभिन्न सडकमा बृहत् स्तरमा प्रदर्शन गरेको आरोप थियो । यसका कारण दङ्गा भएको, सार्वजनिक सुरक्षामा खलल उत्पन्न भएको, कानुनको पालनामा अवरोध उत्पन्न भएको र सार्वजनिक र निजी सम्पत्तिमा खतरा उत्पन्न भएको अदालतले भनेको छ ।
प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर हुन आदेश दिएको भएपनि तर उनीहरूले नमानेको बताइएको छ । जेल सजाय पूरा भएपछि उनीहरूलाई स्वदेश फिर्ता पठाउन आदेश दिइएको छ । बङ्गलादेश सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर दुबईमा रहेको कन्सुलेटले भने सामाजिक सञ्जालको एक पोस्टमा आफ्ना नागरिकहरूलाई आइतबार स्थानीय कानुनको सम्मान गर्न आग्रह गरेको थियो ।
यो कदमको एम्नेस्टी इन्टरनेशनले आलोचना गरेको छ । युएईमा विरोध प्रदर्शन पूर्णतः गैरकानूनी छ । त्यहाँको ९० प्रतिशत जनसङ्ख्या विदेशी हुन् । बङ्गलादेशीहरू त्यहाँको तेस्रो ठुलो आप्रवासी समूह हुन् । सरकारी जागिरमा आरक्षणको विरोधमा देशभरमा भइरहेको हिंसात्मक विरोध प्रदर्शनमा बङ्गलादेशमा अहिलेसम्म १५० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । ५०० जना पक्राउ परेका छन् ।
सोमबार प्रदर्शनरत विद्यार्थी समूहका नेताहरूले सरकारलाई देशव्यापी कर्फ्यू हटाउन र इन्टरनेट सेवा सुचारु गर्न ४८ घन्टे अल्टिमेटम दिएका थिए । उनीहरूले प्रदर्शनकारीविरुद्ध हिंसा प्रयोग गरेको आरोप लागेका अधिकारीहरूको राजीनामा पनि मागेका छन् । विद्यार्थीहरूको विरोध प्रदर्शन विगत १५ वर्षयता सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिनाले सामना गरेको यो अहिलेसम्मको सबैभन्दा गम्भीर चुनौतीमध्ये एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण