मंकीपक्स : कारण, रोकथाम र उपचार
मंकीपक्स एक दुर्लभ भाइरल रोग हो । यो रोग विगतमा अफ्रिकी क्षेत्रमा मात्र सीमित भए पनि आजभोलि विश्वभर गम्भीर खतराका रूपमा फैलिइरहेको छ । यस विषयमा विश्व स्वास्थ्य समुदायको विशेष ध्यान आकर्षित भएको देखिन्छ, जसले गर्दा यसको व्यापकता, जोखिम र रोकथाम तथा नियन्त्रणका उपायलाई लिएर विभिन्न अनुसन्धान र नीतिगत पहल विश्वभरि अघि बढिरहेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत विभिन्न स्वास्थ्य संस्थाले मंकीपक्सलाई गम्भीरताका साथ लिँदै यसका बारेमा जनचेतना फैलाउन र यसको प्रसार रोक्नका लागि विभिन्न कदम चालिरहेका छन् ।
मंकीपक्स पहिलोपटक सन् १९५८ मा प्रयोगशालामा राखिएका बाँदरमा फेला परेको थियो । यो सुरुमा मुख्य रूपमा अफ्रिकी महाद्वीपको मध्य र पश्चिमी भागमा सीमित थियो ।
सन् १९७० मा पहिलोपटक मंकीपक्स प्रजातान्त्रिक गणतन्त्र कङ्गोका जनतामा देखिएको थियो । आजभोलि अफ्रिकी महादेशबाहेक विश्वका विभिन्न भागमा मंकीपक्स प्रकोपका घटनामा उल्लेखनीय वृद्धि भएको छ ।
मंकीपक्स संक्रमणमा ‘क्लेड १’ (मध्य अफ्रिकी क्लेड) र ‘क्लेड २’ (पश्चिम अफ्रिकी क्लेड) गरी दुई प्रकारका भाइरसको मुख्य योगदान रहेको छ । मंकीपक्सको विश्वव्यापी प्रकोप ‘क्लेड २’ का कारणले भए पनि ‘क्लेड २’ भन्दा ‘क्लेड १’ बढी घातक मानिन्छ ।
सन् २०२२–२३ मा पश्चिम अफ्रिकी ‘क्लेड २’ले विश्वव्यापी प्रकोपको रूप लिएको थियो ।
- कारण
मंकीपक्स निम्त्याउने भाइरसलाई ‘मंकीपक्स भाइरस’ (एमपीएक्सभी) भनिन्छ । मंकीपक्स संक्रमण ‘जुनोटिक’ मार्गबाट सर्ने रोग हो, जसले मानिस र जनावर दुवैलाई संक्रमण गर्न सक्छ । यसको ‘इन्क्युबेसन’ अवधि एकदेखि तीन सातासम्म रहेको छ ।
मंकीपक्स भाइरसको पूर्ण रूपमा अध्ययन नभए पनि हालसालै गरिएका सोधले मुसाहरु र र ‘प्राइमेट’लाई यसको होस्ट (आश्रयस्थल)का रूपमा देखाएका छन् ।
- लक्षण
ज्वरो आउनु, चिसो लाग्नु, टाउको र मांसपेशी दुख्नु, थकान महसुस हुनु, लिम्फ नोडहरू सुन्निनु आदि मंकीपक्सका प्रारम्भिक वा सामान्य लक्षण हुन् । कतिपय अवस्थामा अनुहारबाट सुरु भई हात–खुट्टासम्म फैलिने दागहरू विकास हुने गर्छ ।
केही बिरामीमा थोरै घाउ तथा हल्का पीडा महसुस भए पनि केही बिरामीमा शरीरभरि दाना तथा गम्भीर लक्षण देखिन सक्छन् ।
अन्तिम चरणमा यी घाउहरु खाटा बस्दै वा दाग बन्दै निको हुने गर्छन् ।
- कसरी सर्छ ?
मंकीपक्स सामान्यतया संक्रमित व्यक्ति वा जनावरसँग प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्छ ।
संक्रमित व्यक्तिसँग यौन सम्पर्क राख्दा, अँगालो मार्दा वा चुम्बन गर्दा घाउमार्फत मंकीपक्सका भाइरस सर्ने गर्छ । हालै भएको अनुसन्धानले मंकीपक्स वीर्य वा योनि स्रावका माध्यमबाट सर्ने नगरेको देखाएको छ ।
संक्रमित जनावरको रगत र घाउमार्फत, तिनको शरीरबाट निस्कने अन्य तरल पदार्थमार्फत र तिनीहरूको टोकाइबाट मंकीपक्सका भाइरस फैलने गर्छन् ।
- रोकथाम र सावधानी
स्मलपक्सविरुद्ध विकास गरिएका खोपले पनि मंकीपक्सलाई निश्चित मात्रामा प्रतिरक्षा प्रदान गरेको विभिन्न सोधले देखाएका छन् ।
हाल स्वास्थ्यकर्मीहरू, मंकीपक्स संक्रमित बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरू अर्थात् उच्च जोखिममा रहेका व्यक्तिले यो खोप लगाउने गर्छन् ।
मंकीपक्स संक्रमण हुनुभन्दा पहिले वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आउनासाथै खोप लगाउने गरिन्छ । मंकीपक्सको रोकथाम गर्न तथा यसका लक्षणहरू देखिनमा ढिलाइ गर्न खोपलाई प्रभावकारी मानिन्छ ।
मंकीपक्स संक्रमित व्यक्ति वा संक्रमित भएको आशंका गरिएका व्यक्तिसँग शारीरिक सम्पर्क नराख्दा नै उचित हुन्छ । यद्यपि सुरक्षित यौनसम्पर्क, यौन सम्पर्कका बेला कन्डमको प्रयोग, डेन्टल ड्यामजस्ता सुरक्षा उपाय अपनाउनाले भाइरस सर्ने सम्भावनालाई कम गर्न सकिन्छ । यस्तै बैठक, पार्टीजस्ता मानिसको भिडभाड हुने ठाउँबाट टाढा रहनुपर्छ ।
साबुन र पानीले नियमित हात धुने र धोइसकेपछि स्यानिटाइजरको निरन्तर प्रयोगले विभिन्न कीटाणु उन्मूलन गर्न सकिन्छ । मंकीपक्स सर्नबाट रोक्न सार्वजनिक स्थलमा नियमित सरसफाइ तथा डिसइन्फेक्सन पनि गर्नुपर्छ ।
मंकीपक्स भाइरसका आश्रयस्थल (होस्ट) मुसा र बाँदरहरु भएकाले यिनीहरुको सम्पर्कबाट टाढा रहनुपर्छ । विभिन्न खाद्य पदार्थबाट पनि यिनीले भाइरस सार्न सक्ने सम्भावना रहन्छ, त्यसैले राम्रोसँग पकाएको र छोपेर राखेको ताजा खाना खानुपर्छ ।
मंकीपक्स संक्रमित व्यक्तिलाई भेट्ने व्यक्तिले पन्जा, मास्कजस्ता व्यक्तिगत सुरक्षात्मक उपकरणको प्रयोग गर्नुपर्छ ।
- उपचार
हालसम्म मंकीपक्स संक्रमणविरुद्ध कुनै ठोस एन्टिभाइरल औषधि बनिसकेको छैन, यद्यपि स्मलपक्स संक्रमणमा दिइने ‘सिडोफोभिर’ र ‘टेकोभिरिम्याट’जस्ता औषधीले मंकीपक्समा राम्रो नतिजा देखिएका छन् ।
मंकीपक्सबाट संक्रमित बिरामीमध्ये ९५ प्रतिशतलाई सामान्य तथा सीमित लक्षणसहित दुई–चार सातामा आफैँ निको हुन सक्छ । यद्यपि विभिन्न दुखाइ तथा ज्वरो कम गर्ने, संक्रमण घटाउनेजस्ता औषधिको प्रयोगले बिरामीलाई राहत प्रदान गर्न सकिन्छ ।
मंकीपक्स संक्रमणमा देखिने ज्वरो तथा मांसपेशीको दुखाइ कम गर्न ‘इबुफ्रोफेन’, ‘एसिटामिनोफेन’ आदि औषधि प्रभावकारी हुन सक्छ ।
मंकीपक्स संक्रमित व्यक्तिमा दागका कारणले छाला चिलाउने र सुक्खा हुने हुन सक्छ, यसलाई कम गर्न कोलोइडल ओटमिलबाट बनाइएका क्रिमका साथै इमोलियन्ट वा मोइस्चराइजिङ क्रिम प्रयोग गर्न सकिन्छ ।
मंकीपक्समा हुने सेकेन्डरी ब्याक्टेरियल संक्रमणविरुद्ध विभिन्न एन्टिबायोटिक्सको प्रयोग गर्न सकिन्छ ।
यसका साथै बिरामीको सुस्वास्थ्यका लागि पर्याप्त मात्रामा आराम गर्नुपर्छ भने आवश्यक मात्रामा पानी र झोलिलो पदार्थको सेवन गर्नुपर्छ ।
मंकीपक्स संक्रमित व्यक्तिले पनि रोग अरुमा नफैलियोस् भनी सजगता अपनाउनुपर्छ । सकेसम्म अन्य व्यक्तिसँग घुलमिल हुनु हुँदैन ।
- मंकीपक्सको पूर्वानुमान
सामान्यतया मंकीपक्स दुई–चार सातामा निको हुने भए पनि बालबालिकाका साथै ‘इम्युनोसप्रेसन’ तथा कमोरबिडिटी भएका व्यक्तिमा यसले निमोनिया, इन्सेफ्लाइटिस, आँखाको संक्रमण लगायत जटिलता निम्त्याउन सक्छ । यस्ता जटिलताबाट जोगिन बेलैमा सजग हुनुपर्छ ।
यो कम मृत्यु दर भएको रोग हो, तर कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा जटिलता निम्त्याउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दसैँ बजार : वारि सुनसान, पारि भीडभाड
-
संयुक्त राष्ट्रसंघद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु
-
जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
-
जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का
-
झिलीमिली बत्तीले सिँगारिए राजधानीका शक्तिपीठ
-
के सुत्नु अघि नुहाउनु राम्रो हो ?