सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

हिरासतबाट फरार भएका ९ जना नै फेला परे

मङ्गलबार, ०८ असोज २०८१, १५ : २२
मङ्गलबार, ०८ असोज २०८१

वीरगन्ज । प्रहरीको हिरासतबाटै भेन्टिलेसन तोडेर फरार ९ जनालाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा पक्राउ परेका थुनुवाहरू सोमबार बिहान ४ बजे धनुषा प्रहरीको हिरासतबाट फरार भएका थिए ।

फरार भएका थुनुवाहरूलाई धनुषा प्रहरीले करिब २८ घण्टामै पक्राउ गरेको हो । पहिलो दिन ७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले अन्य दुई जनालाई भने मंगलबार बिहान पक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।

उनका अनुसार तीन जनालाई जनकपुरबाट, १ जनालाई नेपाल–भारतको सीमाबाट र ५ जनालाई लखौरीबाट पक्राउ गरिएको हो । पक्राउ गरिएका थुनुवामा अमित झा, सुमित मेस्तर, बिक्की कार्की, रोशन कुमार मण्डल, मनिष मण्डल, अभासकर यादव, रञ्जित मण्डल र विशाल मुखिया छन् ।

फरार थुनुवाको खोजीका लागि करिब ४ सयको हाराहारीमा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारीका अनुसार थुनुवाहरू फरार हुने बित्तिकै धनुषा, सिरहा र महोत्तरी जिल्लामा पर्ने सबै नाकामा निगरानी गरिएको थियो । त्यसपछि भारतसँग समेत समन्वय गरेर खोजतलास गर्दै जाँदा ९ जनालाई नै पक्राउ गर्न सफल भएको उनले बताए ।

प्रदेश प्रहरीको समन्वयमा घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरिएको छ । टोलीले प्रतिवेदन बुझाइसकेपछि त्यहीअनुसार दोषीलाई कारबाही गरिने धनुषा प्रहरी प्रमुख तिवारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप