राजतन्त्रबारेको अभिव्यक्तिले विवादमा प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रबिच भएको छलफलको विषय विवादमा तानिएपछि उनको सचिवालयले बुधबार खण्डन गर्यो । मंगलबार आफूसँग भएको भेटमा प्रचण्डले राजतन्त्रबारे सकारात्मक टिप्पणी गरेको दाबीसहित मिश्रले सामाजिक सञ्जालमार्फत संवादको ७ बुँदा सार्वजनिक गरेका थिए ।
‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका भिजनरी राजा रहेछन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै मिश्रले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।’
प्रचण्डको उक्त अभिव्यक्तिप्रति पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कटाक्ष गरेका थिए ।
‘प्रचण्ड र रवीन्द्र मिश्रबिचको अन्तरङ्ग कुराकानीको सत्य तथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्षदेखि जान्ने सबैलाई थाहा छ अहिले बिरालो म्यॉउ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो’, भट्टराईको कटाक्ष थियो । यसबारे अन्यले पनि सकारात्मक/नकारात्मक टिप्पणी गरिरहेका छन् ।
राजतन्त्रबारे प्रचण्डले अभिव्यक्ति दिएको भनिएको विषय विवादमा तानिएसँगै स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको दाबी गरेका थिए ।
‘हिजो विहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’, मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’ मल्लले मिश्रले अराजनीतिक प्रचार गरेको पनि आरोप लगाएका छन् ।
प्रचण्डको सचिवालयको खण्डनपछि मिश्रले त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु आफ्नो दायित्व सम्झिएको भन्दै फेसबुकमा राखेका छन् ।
तर, खण्डनसँगै उनले यसबारे थप टिप्पणी भने गरेका छन् । उनले आफ्नो टिप्पणीमा भनेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा ‘यो कुराचाहिँ बाहिर नगरौँ–हामी बीचमा रहोस्’ भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिनँ। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।’ भेटका क्रममा प्रचण्डले राजतन्त्रबारे सकारात्मक विषय राखेको तर विषय गोप्य राख्न नभनिएकाले सामाजिक सञ्जालमा राखेको मिश्रको आशय छ ।
यद्यपि मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको पनि बताएका छन् । ‘कांग्रेस–एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै प्रचण्ड पथगामीु हुन्। नेपालको संविधान २०७२ वास्तवमा प्रचण्डको संविधान २०७२ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु’, मिश्रको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण