छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि
सप्तरी । बडादसैँको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका–३ सखडा स्थित उक्त मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उनले बताए । “धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिने पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्”, अध्यक्ष चौधरीले भने ।
राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ । यस मन्दिरमा बडा दसैँमा मेलासमेत लाग्ने गरेको मन्दिरको पीठाधीस महानन्द ठाकुरले बताए । उनकाअनुसार यस मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ ।
त्यसैगरी यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरसमेतमा आजै नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको छ । विगत दुईवर्षदेखि बडा दसैँको महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको हो ।
कङ्कालिनी मन्दिरमा दसैँको नवमी तिथिका दिन यस मन्दिरमा राँगो बली दिने चलन छ । हालसम्म छ सय २१ वटा राँगो यहाँ बली दिइएको मन्दिर विकास समितिले जनाएको छ । यहाँ पनि आज ठुलो मेला लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण