पोखरा महानगरमा करार कर्मचारीको लफडा, तालाबन्दी गर्ने कांग्रेसको चेतावनीपछि कार्यपालिका सुरु

पोखरा । पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउनुपर्ने माग सहित कांग्रेसले महानगरमै तालाबन्दीको चेतावनी दिएपछि समस्या समाधान गर्न कार्यापालिका बैठक सुरु भएको छ । कांग्रेसले करारका कर्मचारी हटाउनुपर्ने माग गरेको छ भने एमालेले अहिले हटाउन नहुने अडान लिएको छ । विवादकै बीच महानगरपालिकामा कार्यपालिका बैठक सुरु भएको हो ।
बैठकमा मेयर र कांग्रेसका कार्यपालिका सदस्य उपस्थित छन् भने एमालेले बहिष्कार गरेको छ । बैठकमा करार कर्मचारीको विषयमा निर्णय लिइनेछ । कांग्रेसले १ साताअघि करार कर्मचारी हटाउन माग गर्दै मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएको थियो । १ साताभित्र कर्मचारी नहटाए महानगरमा ताला लगाउने चेतावनी दिइएको थियो । एकसाताको समय वित्दा समेत कर्मचारी नहटाएपछि बुधबार ताला बोकेर कांग्रेसका वडाध्यक्ष र सदस्यहरू महानगर पुगेका थिए ।
तर मेयर आचार्य र कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्गबीच भएको छलफलमा बिहीबार कार्यपालिका बैठक बसेर निर्णय गर्ने सहमति भएको हो । ‘सर्वसम्मत रुपमै निर्णय गर्छौँ । भएन भने बहुमतबाट भएपनि निर्णय हुन्छ भन्नुभयो,’ मेयरलाई उदृत गर्दै कांग्रेसका एक वडाध्यक्षले भने, ‘त्यसपछि ताला लगाइएन । आज पनि हटाउने निर्णय भएन भने ताला लाग्छ ।’
महानगरपालिकामा अहिले करारका कर्मचारीले भरिएका छन् । लोकसेवा आयोगबाट दरबन्दी अनुसारका इन्जिनियर र ओभरसियर पठाइसकेको छ । सोही पदमा महानगरले पनि करारमा कर्मचारी भर्ना गरेपछि दोहोरो खर्च भएको भन्दै कांग्रेस विरोधमा उत्रिएको हो । एमालेले भने तत्काल हटाउन नहुने भन्दै मेयर आचार्यलाई ध्यानाकर्षण गराएको थियो ।
आयोगबाट कर्मचारी आएपछि महानगरले करारका कर्मचारीलाई असोज १ देखि हाजिर नगर्न उर्दी पनि जारी गरेको थियो । तर करार कर्मचारी अहिलेसम्म हाजिर गरिरहेका छन् । उनीहरूको तलब भने रोकिएको महानगरका सूचना अधिकारी कृष्ण तिवारीले जानकारी दिए ।
पोखरामा कांग्रेसका २२ वडाध्यक्ष छन् भने १० जना एमाले तथा एकजना स्वतन्त्र निर्वाचित भएका हुन् । महानगरको मेयर एकीकृत समाजवादीले जितेको थियो । कार्यपालिकामा काँग्रेसको बहुमत र नगरसभामा एमालेको बहुमत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन