आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
फिचर

२७ वर्षसम्म एउटै मन्त्रालयमा अविश्रान्त : जसले कहिल्यै बिदा लिएनन् (भिडियो)

बिहान ६ देखि राति १० बजेसम्म निरन्तर ड्युटी
शुक्रबार, १६ कात्तिक २०८१

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ढोकाभित्र प्रवेश गर्ने बित्तिकै ठुलो फ्रेममा एउटा फोटो देखिन्छ । फोटोको क्याप्सनमा लेखिएको छ, ‘आर्थिक वर्ष २०८०/०८१ का उत्कृष्ट कर्मचारी– पदमकान्त तिमिल्सिना ।’

मन्त्रालयका यी उत्कृष्ट कर्मचारीलाई भेटन समय लिनुपर्दैन । उनी मन्त्रालयमा यता–उता, तल–माथि हतारहतार कुदिरहेको अवस्थामा भेटिन्छन् ।

मन्त्रालयको प्यासेजमा हतारोमा भेटिएका यी उत्कृष्ट कर्मचारीसँग कतै बसेर कुरा गर्न खोज्दा उनले भने, ‘सर ! मेरो कार्यकक्ष केही छैन । सिङ्गो अफिस नै पिउनको कार्यकक्ष । जुन–जुन कोठाबाट चिया भन्छन्, त्यहाँसम्म चिया पुर्‍याउँछु । अरु पिउन पढे–लेखेका छन्, चिया पकाउन मान्दैनन् । हलमा कार्यक्रम भएका बेला पनि म नै पुग्नुपर्छ । मलाई एउटा फोन किन्दिएका छन् । फोन आउनेबित्तिकै म पुगिहाल्नुपर्छ ।’

२७ वर्षदेखि निरन्तर मन्त्रालयका हाकिमले अह्राए अनुसारका फाइल एउटा कोठाबाट अर्को कोठामा पुर्‍याइरहेका, भुइँतलाको चिया पकाउने कोठाबाट मन्त्रालयका कोठा–कोठामा चिया–पानी पुर्‍याइरहेका पदमकान्त तिमिल्सिना नै यो वर्ष मन्त्रालयका ‘उत्कृष्ट कर्मचारी’ हुन् ।

तिमिल्सिनाले भने, ‘बिहान ६ बजे नै आएर मन्त्रालयको ढोका खोल्ने पनि म नै हो, राति १० बजे बन्द गरेर जाने पनि म नै हो ।’

बिहान साढे ६ बजेसम्म सरसफाइ गर्ने कर्मचारी मन्त्रालय आइसक्छन् । त्यसभन्दा अगाडि नै आएर तिमिल्सिनाले मन्त्रालयको ढोका खोलिसक्छन् । बिहान–बेलुका आफूले अतिरिक्त समय दिए पनि तलब भने अरुभन्दा फरक नभएको उनले बताए ।

1

यसअघि स्थानीय विकास मन्त्रालय नाम रहेको हालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तिमिल्सिनाले २०५० सालदेखि कार्यालय सहयोगीको रूपमा काम थालेका थिए । २०५५ साल मंसिरमा उनी स्थायी भए । पटक–पटक मन्त्रालयको नाम फेरिए पनि उनको काम र दैनिकी भने फेरिएन ।

मन्त्रालयको सबैभन्दा पुरानो एकमात्र कर्मचारी तिमिल्सिनाले ललितपुरको पुल्चोकमा ‘स्थानीय विकास मन्त्रालय’ हुँदा कार्यालय सहयोगीको रूपमा प्रवेश पाएका थिए ।

त्यसअघि भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको गोरेटो घोडेटो सडक आयोजनामा ज्यामीका रूपमा प्रवेश गरे पनि उनलाई कार्यालय सहयोगीको जिम्मेवारीमा राखिएको थियो ।

तिमिल्सिनाले भने, ‘गोरेटो घोडेटो सडक आयोजनादेखि मैले काम सुरु गरेको । अहिलेसम्म म सफल नै छु । त्यसअघि काठमाडौँमा सामान कुर्ने (पाले पहरा)को काम पनि गरेँ । त्यसमा पनि सन्तुष्ट नै थिएँ । मैले जहाँ, जुन ठाउँमा काम गर्दा पनि ठेकेदार र साहुले राम्रो मान्थे ।’

२०४७ सालमा गोरेटो–घोडेटो आयोजनाका एक जना हाकिमले उनलाई सरकारी कार्यालयको पिउनमा प्रवेश गराएका थिए । ‘उहाँले मलाई के देख्नुभयो कुन्नि ! झुक्याएर जागिर खुवाउनु भएको थियो,’ उनले भने ।

१३ वर्षको उमेरमा आमाको निधन भयो । परिवारको जेठो थिए उनी । झोलामा एउटा थाल बोकेर नुवाकोटबाट काठमाडौँ छिरेका उनले काम नपाएपछि कयौँ रात भोकभोकै सोह्रखुट्टेको पाटीमा गुजारे ।

बाटो बनाउने कामका लागि तिमिल्सिना सुर्खेत पनि पुगे ।  त्यो अवस्थाबाट अघि बढ्दै अहिले घरपरिवार सफल बनाउन सकेको, छोराछोरी पढाउन सकेको र मन्त्रालयमा सबैलाई खुसी राखेर काम गर्न सकेकोमा आफूलाई सफल र भाग्यमानी सम्झन्छन् उनी ।

काठमाडौँमा काम नपाएर भोकै गाउँ फर्किरहेका बेला नयाँ बाटो बनाइरहेको ठाउँमा एक जना ठेकेदारले उनलाई सडक बनाउने काममा राखे । २०४७ सालतिर गोरेटो–घोडेटो सडक आयोजना अन्तर्गत सो सडक बनिरहेको थियो । तिमिल्सिनालाई सुरुमा बाटो खन्ने काममा राखिए पनि सोही आयोजनाको कार्यालय प्रमुखको आँखा उनीमाथि पर्‍यो । उनले तिमिल्सिनालाई कार्यालय सहयोगीको रुपमा राखे । २०४७ सालदेखि सुरु भएको कार्यालय सहयोगी (पिउन) को काम २०८१ सालसम्म जारी छ ।

गोरेटो घोडेटो सडक आयोजना कार्यालयमा उनी २४ सैं घण्टा ड्युटी गर्थे । सो आयोजना २०५० सालदेखि स्थानीय विकास मन्त्रालयमा गाभिएपछि उनी लगातार सोही मन्त्रालयमा रहेर काम गरिरहेका छन् ।  

3

२०६८ सालमा सो मन्त्रालय सिंहदरबार सरेसँगै उनको दैनिकी पनि सिंहदरबारबाट अघि बढ्यो । १० वर्ष मन्त्रीको सचिवालयमा कार्यालय सहयोगीको रूपमा काम गरेका तिमिल्सिनाले १० वर्ष सचिवको सचिवालयमा समेत काम गरे ।

उनी स्थायी भएको नै २७ वर्ष पूरा हुन लाग्यो । यो बिचमा उनले धेरै मन्त्री, सचिवको नजिक हुने अवसर पाए । देव गुरुङ, खुमबहादुर खड्का, कमल थापा लगायत धेरै मन्त्रीलाई नजिकबाट नियाले । उनलाई कुनै पनि मन्त्री र सचिव नराम्रो लागेनन् ।

तिमिल्सिनाले भने, ‘उदयराज सोती सहसचिव भएको बेलादेखि मैले मन्त्रालयमा काम गरेको हुँ । २०५५ सालमा उहाँ सचिव पनि हुनुभयो । आजका दिनसम्म फलानो मन्त्रीले मलाई यस्तो भन्यो, फलानो सचिवले मलाई यस्तो भन्यो भन्ने केही छैन ।’

सबैभन्दा बढी मन परेको मन्त्री देव गुरुङ, कमल थापा ‘ट्यालेन्ट’

आफ्नो जीवनकालमा धेरै मन्त्रीलाई कार्यालयमा चिया–पानी खुवाएका तिमिल्सिनालाई सबैभन्दा धेरै मन परेका मन्त्री हुन् देव गुरुङ । यता कमल थापा भने धेरै बाठो रहेको उनको बुझाइ छ ।

तिमिल्सिनाले भने, ‘मैले देखेको मन्त्रीमध्ये सबैभन्दा सोझो मन्त्री देव गुरुङ हुन् । मैले बुझे अनुसार उनले मन्त्रालयका कुनै कर्मचारीलाई दबाब दिएनन् । देव गुरुङ बराबरको विद्वान मान्छे मैले देखेको छैन । कमल थापाजस्तो ट्यालेन्ट मान्छे कोही देखेको छैन । खुमबहादुर खड्का जेल पनि परे । तर उनी पनि उनी नराम्रो मान्छे होइन । उनले जनताको पैसा लिए होलान्, तर जनताको पैसा जनतालाई नै फिर्ता गरेका छन् । मैले नराम्रो मानेको कोही मन्त्री छैनन् । कुनै न कुनै हिसाबमा सबै मन्त्री राम्रा थिए ।’  

सारा समय मन्त्रालयलाई, अवकाशपछि परिवारलाई समय

तिमिल्सिनाले जीवनभर घरपरिवार, श्रीमतीलाई समय दिन सकेनन् । उनले भने, ‘जागिर छोडेपछि समय दिउँला भनेको छु । अरु कर्मचारीलाई तिहारको बिदा सुरु भयो, तर म अफिसमै बस्नुपर्छ । मन्त्रालयमा बेलुका बत्ती बाल्नुपर्छ । कोही काम परेर अफिसमा आइपुग्छन् । टीकाको दिनचाहिँ हाकिम सरहरूलाई नआउँ कि भन्छु । बिहान आएर बत्ती निभाउँछु । घर गएर टीका लगाउँछु । साँझ आएर फेरि बत्ती बाल्छु । २७ वर्षदेखि मन्त्रालयमा मेरो काम यसरी नै चलिरहेको छ सर ।’ 

कहिलेकाहीँ मन्त्रालयमा राति ढिलासम्म मन्त्री, सचिवको काम भयो भने उनी मन्त्रालयमै सुत्ने गरेका छन् । घरमा श्रीमती र छोराहरूले समय नदिएकोमा गुनासो गर्छन् । तर उनी बिहानै उठेर मन्त्रालय आइपुग्छन् र घरमा खाना खाएर सबैजना सुतिसकेपछि पुग्छन् । परिवारका सदस्यहरूको गुनासो गर्ने क्रम र आफ्नो दिनचर्या निरन्तर एकनासले चलिरहेको उनले बताए ।

4

तिमिल्सिनाले हरेक वर्ष असारको योगिनी एकादशीमा आमाको श्राद्ध गर्छन् । त्यो दिन पनि बिहान मन्त्रालय आएर ढोका खोलिदिएर अरु कार्यालय सहयोगीहरुलाई काम हेर्नु है भनेर मात्र उनी घरमा जान्छन् र आमाको श्राद्ध गर्छन् । उनले २७ वर्षदेखि मन्त्रालयमा काम गर्दा बिरलै बिदा लिएको बताए । शनिबार पनि उनी नियमित झैँ मन्त्रालय आइपुग्छन् र अरु दिनभन्दा साँझ अलि छिटो फर्कन्छन् ।  

एकपटक खुट्टा भाँचिएका कारण ३ महिना ओछ्यानबाट तिमिल्सिना उठ्न सकेनन् । त्यो बेला बिदा बसेजस्तो भयो तर त्यसबाहेक अहिलेसम्म बिरामी भएर घर बस्नु परेको कुनै समय नभएको उनले बताए ।

४ आना जग्गा किने, छोराछोरी पढाए

आफ्नो जीवनकालमा तिमिल्सनाले बालाजुभन्दा माथि चार आना जग्गा किन्न सफल भए । तर घर बनाउन उनले ऋण लिए । त्यो ऋण भने तिर्न बाँकी रहेको उनले सुनाए ।

२०६० साल अगाडि कहिले बिदा नबसेका उनले घरबिदा र बिरामी बिदा बापत १५ हजार रुपैयाँ पाएका थिए । उनकी श्रीमतीले माइतबाट बाख्रा बेचेको १० हजार रुपैयाँ ल्याएकी थिइन् । ऋण लिएर १ लाख ५ हजार जम्मा पारेर बालाजुभन्दा माथि गैरीगाउँमा उनले ४ आना जग्गा लिएका थिए । पछि त्यहाँको जग्गा बिक्री गरेर गोलढुङ्गामा ४ आना जग्गा किने ।

तिमिल्सिनाले २०७२ सालमा ऋण लिएर घर बनाए । घर बनाउँदाको २० लाख रुपैयाँ ऋण एभरेष्ट बैंकमा तिर्न बाँकी रहेको उनले सुनाए । सञ्चयकोषबाट आउने पैसाले ऋण तिर्ने उनको धोको छ । आफ्नो कामबाट ३ जना छोराछोरीलाई डिग्री तहसम्म पढाउन सकेको उनले बताए ।

तीन पटक पुरस्कृत

2

झन्डै २७ वर्षदेखि एउटै मन्त्रालयमा कार्यरत उनी अबको ५ महिनापछि अवकाश पाउँदैछन् । यो बिचमा २०५५ सालदेखि २०८१ सालसम्म उनी ३ पटक उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत भए ।

यो वर्ष उनले २५ हजार रुपैयाँसहित उत्कृष्ट कर्मचारीको सम्मान पाए, जसलाई मन्त्रालयले समेत कदर गरेर मन्त्रालय प्रवेश गर्नेबित्तिकै देखिने ठाउँमा उनको तस्बिर राखेको छ ।

यसअघि २०७४ सालमा उनले ५० हजार रुपैयाँको पुरस्कार पाएका थिए । त्यसअघि २०६६ सालमा १० हजार रुपैयाँको पुरस्कार पाएका थिए । 

अवकाशपछि गाउँ फर्किने योजना

मन्त्रालयबाट अवकाश भएपछि तिमिल्सिनाले काठमाडौँ नबस्ने विचार गरेका छन् । उनको स्थायी घर नुवाकोटको साविकको बागेश्वरी गाविस–७ थियो, जो अहिले सूर्यगढी गाउँपालिका–७ भएको छ ।

तिमिल्सिनाले भने, ‘नुवाकोट गाउँमा भूकम्पपछि एउटा कुटी बनाएको छु । त्यही कुटीमा जान्छु । भगवानको ध्यान गर्छु । मैले खाएर रहेको रकम त्यहीँ लगाइदिन्छु ।’ घर बनाउँदाको ऋण तिरेर छोराहरूलाई ‘तिमीहरू के काम गरेर खान सक्छौ– खाऊ’ भनेर आफू गाउँतिर फर्किनेबाहेक अवकाशपछि अर्को कुनै योजना नरहेको उनले बताए ।

६० वर्षका फुर्तिला कार्यालय सहयोगी तिमिल्सिना संघीय मामिला मन्त्रालयमा आगामी चैतसम्म माथिल्लो तहका कर्मचारी, हाकिमको आदेशमा चिया, पानी, फाइल बाकेर यता–उता गरिरहनेछन् । त्यसपछि उनी सदाका लागि मन्त्रालय छोडेर अवकाशपछिको बुढ्यौलीको जीवनको नयाँ यात्रा सुरु गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया