विपद् प्रभावित सडक पुनर्निर्माणमा बागमती सरकारको जोडबल

मकवानपुर । मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधार भौतिक पूर्वाधार हो । मुख्यतः विकासको पूर्व सर्त हो सडक तथा पुल । विकासको मेरुदण्डको रूपमा लिइने सडक पूर्वाधारले अर्थतन्त्रलाई बलियो बनाउने मात्र नभई उत्पादन र उत्पादकत्व बढाउने गर्दछ ।
त्यस्तै एक पूर्वाधार हो– हेटौँडा काठमाडौँ जोड्ने भैँसे–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक ।
बागमती प्रदेश सरकारको एकल लगानीमा निर्माण भइरहेको सो सडक अनेक बाधा–व्यवधान भोग्न बाध्य छ । बगरमा परिणत भएको सिस्नेरी बजारको पुनर्निर्माणका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काम गर्दै आएको छ ।
मन्त्रालयले रुग्ण आयोजनाको निकास, विपद् प्रतिकार्य, नीति निर्माण र भौतिक पूर्वाधार निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै विकासतर्फको आगामी कार्यदिशासमेत तय गरेको छ । त्यसो त हिउँद–वर्षा मौसमी चक्र नियमित हुने प्रक्रिया हो । स्वाभाविक प्रक्रियाको अस्वाभाविक नतिजा बागमती प्रदेशले भोग्नु पर्यो । गत असोज ११ र १२ गते आएको विनाशकारी बाढी र पहिरोले धेरै सडक संरचना तहसनहस पार्यो ।
सङ्घीय राजधानी काठमाडौँ र प्रदेश राजधानी हेटौँडा जोड्ने हेटौँडा–कुलेखानी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–महालक्ष्मीखोला–चखेल–काठमाडौँ सडकमा व्यापक क्षति भयो । सञ्चालनको अन्तिम तयारीमा रहेको भीमफेदी–कुलेखानी–सिस्नेरी सडक विपद्को मारमा पर्यो । असोजको वर्षाले सो सडकको ट्रयाक नै बगरमा परिणत गरिदियो । अर्बौँ रुपैयाँको लगानी कुलेखानी जलाशयको बाढीले क्षणभरमै बगायो ।
सङ्घीय राजधानीसँग प्रादेशिक राजधानीको सम्पर्क टुट्यो । मनसुनजन्य विपदमा भौतिक पूर्वाधारको क्षति व्यवस्थापन र अवरुद्ध सडक तत्काल खुलाउने गरी यातायात पूर्वाधार निर्देशनालयको संयोजकत्वमा गठन गरिएको द्रुत प्रतिकार्य टोली (क्यूआरटी)ले धमाधम काम गरेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका प्रमुख इन्जिनियर नवीन सिंहले जानकारी दिए ।
विपद्को समयमा प्रादेशिक सडकहरूको सूक्ष्म निगरानी तथा अवरुद्ध सडकहरू सञ्चालन हुने अवस्था तत्काल बनाउने संयन्त्र खडा गरिएको उनले बताए । सडक मर्मतलाई प्राथमिकता दिँदै छोटो समयमा अधिकांश सडकमा सवारी आवागमन सञ्चालन गराउन सफल भएको उनको भनाइ छ ।
- कुलेखानी–छैमले सडक पुनर्निर्माण जारी
कुलेखानी–सिस्नेरी–छैमले सडकको पुनर्निर्माण द्रुत गतिमा भइरहेको छ । आगामी असारसम्ममा क्षतिग्रस्त सडकमा ग्राभेल गरी यातायात सञ्चालनको तयारी भइरहेको इन्जिनियर सिंहले बताए । कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक मर्मत गर्न २ प्याकेजमा ठेक्का आह्वान गरी काम भइरहेको उनले जानकारी दिए ।
कुलेखानी–सिस्नेरी खण्डको १ हजार २०० मिटर सडक पुनर्निर्माणका लागि बागमती सरकारको पूर्वाधार विकास विशेष आयोजना हेटौँडाले ठेक्का आह्वान गरेको थियो । इन्द्रसरोवर–३ एकान्तकुना लामा बगरमा ७०० मिटर र इन्द्रसरोवर–२ डोडारेमा ५०० मिटर सडक पुनः निर्माण गर्न आयोजनाले ७ करोड ५५ लाख रुपैयाँ लागत अनुमानसहित ठेक्का सार्वजनिक गरेको थियो ।
हेवी–ज्यामिरे खण्ड अन्तर्गत ७०० मिटर र सिस्नेरी बजार खण्डमा ५०० मिटर सडक निर्माणका लागि ४ करोड ४५ लाख ७५ हजार रुपैयाँ र ९७ करोड ५३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको कार्यालयका प्रमुख देवनारायण प्रसाद यादवले जानकारी दिए । उनका अनुसार हेवी–ज्यामिरे खण्डको निर्माण कार्यका लागि सिन्धुली दाहाल जेभी सिन्धुलीले ठेक्का सम्झौता गरी २०८० चैत ६ गतेबाट काम थालिसकेको छ । हाल सो खण्डको काम सम्पन्न भइसकेको र वित्तीय प्रगति ७७ प्रतिशत भएको यादवले बताए ।
त्यस्तै सिस्नेरी बजार खण्डको ५०० मिटर सडकका लागि ओइसिस पशुपत्रा जेभीसँग ठेक्का सम्झौता भई काम भइरहेको प्रमुख यादवले जानकारी दिए । ५०० मिटर सडक निर्माणका लागि स्थानीय ओइसिस पशुपत्रा जेभीले ९७ लाख ५३ लाख रुपैयाँ बोलकबोल गरी ठेक्का लिएको र सो खण्डको काम सम्पन्न गरी बगाएको ट्रयाकलाई पुरानै अवस्थामा फर्काइएको उनको भनाइ छ ।
उक्त ट्रयाकमा ग्राभेल गरी सवारी सञ्चालनमा ल्याइएको छ । उक्त सडकको निर्माणको काम गरेबापत निर्माण कम्पनीलाई ८० प्रतिशत रकम भुक्तानी दिइएको पूर्वाधार विकास विशेष आयोजना हेटौँडाका प्रमुख यादवले बताए ।
दुवै खण्डको सडक निर्माणका लागि खोला किनार र बगाएको भागमा ट्रयाक निर्माण गर्न जाली लगाउने, प्लम्प वाल लगाउने र ग्राभेल गर्ने काम भएको उनले जानकारी दिए ।
सो सडक खण्डको काठमाडौँ खण्डमा भने पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै कार्यालय र मन्त्रालयले पहिरो पन्छाउने तथा सडक स्तरोन्नतिको काम जारी राखेको उनले बताए । कुलेखानी–सिस्नेरी–छैमले सडक आयोजना अन्तर्गत २०७८ असार ११ मा ठेक्का स्वीकृत गरी सो सडक निर्माण कार्य भइरहेको छ ।
कार्यालय प्रमुख यादवका अनुसार ५४ करोड ८७ लाख ४० लाख रुपैयाँ लागत अनुमान गरिएको सो सडक आयोजनाको ३१ करोड ९३ लाख ११ हजार रुपैयाँमा रौता राम सागर जेभीले ठेक्का सम्झौता गरेको थियो । सो ठेक्काको हालसम्म ३ पटक म्याद थप भइसकेको उनले बताए । २०८० असार १३ मा काम सम्पन्न गर्नुपर्ने उक्त ठेक्काको पहिलो पटक २०८० चैत ३० गतेसम्म म्याद थप गरिएको थियो । दोस्रो पटक २०८१ कात्तिक २३ सम्ममा काम सम्पन्न गर्ने गरी म्याद थप गरिए पनि निर्माण सम्पन्न हुन नसकेको उनले बताए ।
तेस्रो पटक सार्वजनिक खरिद ऐनको १४ औँ संशोधनले पुनः म्याद थप गरेर हाल उक्त सडकको २० प्रतिशत काम बाँकी रहेको उनले बताए । सो सडकको केही भाग मात्र कालो पत्रे गर्न बाँकी छ भने उक्त सडक निर्माण गरे बापत ७१ प्रतिशत रकम भुक्तानी लिएको छ ।
- सिमखोलामा बेलीब्रिज हालिदै
गत असोजमा कुलेखानी जलाशयको बढीले क्षति पुगेको सिमखोलाको पुल भएको स्थानमा बेलीब्रिज हाल्ने प्रक्रिया पनि अघि बढेको छ । कुलेखानी ड्याममुनिको सिम खोलामा बेलीब्रिज जडानका लागि यातायात पूर्वाधार निर्देशनालय मार्फत १ करोड ७९ लाख लागत अनुमानसहित ठेक्का निकालिएको थियो । सिम खोलामा भीमफेदी गाउँपालिका–६ स्थित मान्डु खोलामा रहेको बेलीब्रिज निकालेर हाल्ने काम भइरहेको छ ।
पुलको दायाँबायाँ अर्थात् पहुँच मार्ग नै बगाएकाले बेलीब्रिज राख्न लागिएको हो । भैँसे–भीमफेदी सडकखण्डमा रहेका २ वटा बेलीब्रिज धमाधम झिक्ने काम भइरहेको निर्देशनालयका प्रमुख सिंहले बताए ।
सिमखोलामा ६० मिटर लामो बेलीब्रिज हाल्नुपर्ने भएकाले २ वटा बेलीब्रिज झिक्नुपरेको उनले बताए । घट्टे खोलाको बेलीब्रिज १३ मिटर लामो छ भने माण्डुखोलामा ५० मिटर लम्बाइको छ ।
असार १५ सम्म बेलीब्रिज हालेर सवारी आउजाउ गराउने लक्ष्यका साथ काम गरिरहेको उनले बताए । बेलीब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियर्स प्रालिले एक करोड ८८ लाखमा ठेक्का पाएको छ ।
- फाखेल र मातातीर्थमा कालोपत्रे जारी
यता हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–हुमाने सडकको निर्माण कार्य पनि जारी छ । हेटौँडा–फाखेल–फर्पिङ सडक आयोजना अन्तर्गत कुलेखानी–हुमाने–भञ्ज्याङ खण्ड (इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२, ४) पीआर इन्फ्रास्टकचर, बालकुमारी, ललितपुरले १२.६ किलोमिटर (हुमाने देखि कलंकीसम्म)को ठेक्का लिएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुजन भण्डारीले जानकारी दिए ।
जसमा ७.७५ किलोमिटर कालोपत्रे तथा ढलान सडक २ किलोमिटर (बाँकी पुरानो ढलान सतह) निर्माण गर्ने गरी उक्त खण्डको काम भइरहेको उनले बताए ।
२०८० बैशाख १७ मा निर्माण सम्झौता गरेको सो सडक खण्डको काम २०८२ असोज १६ गते सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । ४० करोड ७२ लाख ४५, हजार रुपैयाँमा ठेक्का लागेको उक्त खण्डमा सडक चौडा गर्ने, टेवा पर्खाल, नाली निर्माण, कल्भर्ट निर्माण, सवबेस, बेस, सडक सतह कालोपत्रे तथा ढलान कार्य गर्ने काम भएको उनले बताए ।
उक्त सडकको काठमाडौँतर्फको फर्पिङ–टुल्कु–हुमाने भञ्ज्याङ खण्डको ३ प्याकेजमा काम भइरहेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख सिंहले जानकारी दिए । फर्पिङबाट ३.५० किलोमिटर सडक खण्ड निर्माणका लागि १४ करोड ५८ लाख ३५ हजार रुपैयाँमा ठेक्का लागेर काम भइरहेको उनको भनाइ छ । २०८० फागुन ३० मा सम्पन्न गर्ने गरी २०७९ साउन २० मा ठेक्का सम्झौता भएको उक्त सडक खण्डको केही भागको काम बाँकी रहेको र सो खण्डको अधिकांश सडक कालोपत्रे भइसकेको उनले बताए ।
त्यस्तै दास्रो प्याकेजमा फर्पिङबाट कुमाने तर्फ ३.५० किलोमिटर देखि ६.६६ किलोमिटरको खण्डको १४ करोड ३० लाख ३६ हजार रुपैयाँमा ठेक्का लागेर काम भइरहेको प्रमुख सिंहले बताए । उनका अनुसार २०७९ साउन २० मा ठेक्का सम्झौता भएको उक्त खण्डको काम २०८० चैत १४ सम्म सम्पन्न गर्नुपर्ने भए पनि केही घर र पहिरोका कारण काम सम्पन्न हुन सकेको छैन । मुआब्जा र पहिरो व्यवस्थापन गरेर सो सडकको काम सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
तेस्रो प्याकेज अन्तर्गत ६.६६ किलोमिटरदेखि हुमो भञ्ज्याङसम्मको सडक कालोपत्रे सम्पन्न भइसकेको छ । २०८० साउन ५ मा ठेक्का सम्झौता भएको उक्त सडक खण्डको ५ करोड ६७ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य सम्पन्न गरिएको हो । तीन वटै सडक खण्डमा प्लम्प वाल निर्माण, मेसिनरी वाल, ग्याविन वाल लगाउने, ढलान, कालोपत्रे गर्ने काम गरिएको छ ।
उता फाखेल मातातीर्थ सडक खण्डको निर्माण कार्य पनि जारी छ । इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने ६.३ किलोमिटरको उक्त सडक खण्डको सदाशिव/हिमाल कन्सट्रक्सन जेभी, काठमाडौँले निर्माण गरिरहेको छ । जसमा ६ किलोमिटर सडक कालोपत्रे तथा ०.३ किलोमिटर सडक ढलान गर्ने गरी २०८० कात्तिक १९ गते ठेक्का सम्झौता गरिएको थियो । सो सडक निर्माणको काम २०८२ कात्तिक १० गते सम्पन्न गर्नुपर्ने छ ।
उक्त सडक असार मसान्तमै लक्ष्य अनुसार पूर्वाधार विकास कार्यालय मकवानपुर मार्फत काम भइरहेको छ । १८ करोड ४६ लाख ५० हजार रुपैयाँमा ठेक्का लागेको सो सडकमा चौडा गर्ने, टेवा पर्खाल, नाली निर्माण, कल्भर्ट निर्माण, सवबेस, बेस, सडक सतह कालोपत्रे तथा ढलान कार्य गर्नुपर्ने हुन्छ । सो खण्डको ७५ प्रतिशत भौतिक प्रगति छ ।
मन्त्रालय र मातहतको कार्यालयबाट १० महिने अवधिमा मात्र ३६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ भने ५० किलोमिटर सडक कालोपत्रे तयारी भइरहेको छ । २९ किलोमिटर सडक ढलान भएको छ भने १५ किलोमिटर ढलान गर्ने तयारी अवस्थामा छ ।
प्रदेश सरकारले पछिल्लो १० महिनाको अवधिमा ६४ किलोमिटर सडक ग्राभेल र ३१.५ किमी नयाँ ट्रयाक खोलेको छ । १५ वटा पक्की सडक पुल निर्माण हुँदा ४ वटा झोलुङ्गे पुल, १० कल्भर्ट निर्माण सम्पन्न भएको छ । ५ वटा सामुदायिक भवन निर्माण, चेपाङ, वनकरिया, बोटे समुदायका लागि २६० आवास निर्माण, जनता आवास कार्यक्रम अन्तर्गत ३० घर सम्पन्न, चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र हस्तान्तरण, प्रदेश सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की