आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘बजेट रकमान्तर गरेर भएपनि क्षति पुगेका खानेपानीका आयोजनाको पुनर्निर्माण गर्छौं’

सरकारले खानेपानीको समस्या शून्यमा झार्छ : मन्त्री यादव
मङ्गलबार, २० कात्तिक २०८१, १४ : ३६
मङ्गलबार, २० कात्तिक २०८१

काठमाडौँ । गत असोज ११ गतेदेखि देशभर भएको वर्षाका कारण ठुलो जनधनको क्षति भयो । खानेपानीको क्षेत्रमा पनि करिब ६ अर्ब रकम बराबरको क्षति भयो । विभिन्न आयोजना अन्तर्गतका खानेपानी आयोजनाहरूमा अविरल वर्षापछिको बाढी, पहिरोले क्षति पुगेको छ । तर बाढीले क्षति पुर्‍याएका आयोजनाहरू मर्मत वा पुनर्निर्माण गर्ने बजेट मन्त्रालयसँग नरहेको खानेपानीमन्त्री प्रदीप यादवले बताए । अन्य शीर्षकको बजेट रकामान्तर गरेर पनि मन्त्रालयले क्षतिपूर्ति वा पुनर्निर्माण गर्ने मन्त्री यादवको प्रतिबद्धता छ । उनकाअनुसार खानेपानीको समस्या समाधानका लागि भूमिगत पानीलाई व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ । यसै सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपालले खानेपानीमन्त्री प्रदीप यादवसँग गरेको कुराकानीको सम्पादित अंश:

असोज ११ र १२ गते आएको बाढीले मुलुकभर खानेपानीमा कति क्षति पुर्‍याएको अध्ययन देखाएको छ ? 

बाढीले खानेपानी मन्त्रालयको क्षमताले नधान्ने गरी क्षति भएको छ । करिब ६ अर्ब बढीको क्षति भएको छ । खानेपानी विभाग,उपत्यका खानेपानी लिमिटेड र विभिन्न आयोजना अन्तर्गतका खानेपानी आयोजनाहरूमा क्षति पुर्‍याएको छ । विपद्ले गर्दा ६ अर्बको क्षति भएको छ । क्षतिको आँकलन गरेर विपद् व्यवस्थापनमा पठाएका छौँ । प्रधानमन्त्रीलाई समेत जानकारी दिएका छौँ । 

क्षति भएका खानेपानी आयोजनाहरू नियमित बजेटबाट पुनर्निर्माण गर्नसक्ने अवस्था छ ? 

बाढीले क्षति पुर्‍याएका आयोजनाहरू मर्मत वा पुनर्निर्माण गर्ने बजेट मन्त्रालयसँग छैन । अन्य शीर्षकको बजेट रकामान्तर गरेर पनि मन्त्रालयले क्षतिपूर्ति वा पुनर्निर्माण गर्छौं । क्षति भएका धेरै आयोजनाहरूको अस्थायी रूपमा मर्मत गरिसकेका छौँ । तर अझै धेरै काम गर्न बाँकी छ । पुनःनिर्माणको लागि पैसा चाहिन्छ । स्रोत सुनिश्चितताको कागज माग गरेर ठेक्का लिएर काम गर्छौं भनेर निर्माण कम्पनीहरूले भनिरहेका छन् । स्रोत सुनिश्चितता नभई ठेकेदारहरु पनि काम गर्न तयार छैनन् । स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयसँग समन्वय गरिरहेका छौँ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरेर मन्त्रालयको बजेट रकामान्तर गरिदिए पछि काम गर्नसक्छौं । 

पछिल्लो केही वर्ष देखि जनसंख्या सहर केन्द्रित भइरहेको छ, त्यहाँ भएको पुरानो खानेपानी पूर्वाधारले जनतालाई सेवा दिन सक्दैन, त्यहाँ नयाँ परियोजना आवश्यक हुन्छ, यो विषयमा मन्त्रालयले के सोचिरहेको छ ?

सहरहरूमा अव्यवस्थित तरिकाले घरहरू बन्यो । व्यवस्थित तरिकाले बनेनन् । सहरहरूमा जनधनत्व बढी भयो । जनसंख्या बढी भयो । पानीका मुहान पनि सुक्दै गएर खानेपानी कम भयो । अर्को जुन नदीबाट पानी आइरहेको थियो । नदीहरू पनि प्रदूषित भए । बस्तीको कारण नदीहरू प्रदूषित भएकाले समस्या छ । भूमिगत खानेपानीको सहारा लिनुपर्ने अवस्था छ । भूमिगत पानीलाई डिपट्युवेल गर्नु बाहेक अन्य विकल्प छैन । त्यहीबाट पानीको व्यवस्था गर्नुपर्ने अवस्था छ । खानेपानीको स्रोत मुहानहरू सुक्दै गएका छन् । नदीका स्रोतहरू प्रदूषित भएका छन् । त्यस्ता ठाउँहरूमा भूमिगत पानीलाई व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ । 

तराईका बढी जनघनत्व भएका सहरहरूमा खानेपानीको समस्यासँगै ढल र सरसफाइको पनि समस्या छ, यो विषयलाई मन्त्रालयले कसरी हेरेको छ ?

खानेपानी मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा ठुला सहरहरुको ढल र सरसफाइको समस्या समाधानको लागि डिपीआर बनेको छ । पोखरा,बुटवल,वीरगन्ज,जनकपुर र विराटनगरको खानेपानी र ढल व्यवस्थापनको लागि एकीकृत  डिपीआर बनेको छ । तर केही प्राविधिक समस्याहरू रहेका छन् । एडिबीका केही सर्तहरू छन् । एडिबीको सर्तका कारण खानेपानी मन्त्रालयसँग कुरा मिलेको थिएन । केही दिनअघि मात्रै एडिबीसँग छलफल गरेको छु । मन्त्रालय र एडिबीको टिम बसेर असहमति रहेका विषयमा छलफल गरेर प्रक्रिया अगाडि बढाउने विषयमा लागेको छु । तराई मधेसमा कुनै समय ८० फिटमा समेत पानी फालाफाल उपलब्ध थियो । अहिले त्यो चापाकलको पानी सुकेको अवस्था छ । जुन जलवायु परिवर्तन र चुरे दोहनको कारण पानी सुक्दै गएको छ । तराईका जिल्लाहरुमा २५० देखि ३ सय फिटमा पानी छैन । ४ सय फिट मुनी खन्दा मात्रै पानी पाइन्छ । त्यसको लागि बोरिङ गर्नुपर्ने हुन्छ । पुराना खानेपानीका ओभरहेड ट्याङकहरु सञ्चालनमा ल्याउनुपर्छ । 

तराईका जिल्लाहरुमा संघीय सरकारले बनाएका २८० वटा ओभरहेड खानेपानी ट्याङक ३० वर्षअघि बनाएको छ तर जनतालाई खानेपानी दिइरहेको छैन । बनेर डिपबोरिङ भएको छ । तर जनताको घरमा खानेपानीको पाइप बिछ्याउने काम भएको छैन । कहीँ ट्रान्सफर्मर छैन । त्यसले गर्दा २८० वटा ओभरहेड खानेपानी ट्याङ्क आकाशे घाम र पानी खाइरहेको छ । तर म मन्त्री भएपछि मन्त्रालयबाट फाइल अघि बढाएको छु । सम्पूर्ण तराई मधेसको लागि २२ जिल्लामा बनेका २८० वटा ओभरहेड खानेपानी ट्याङक सञ्चालनमा ल्याउन योजना आयोग र अर्थ मन्त्रालयमा पठाएको छु । करिब ३ अर्बको आयोजना छ । तीव्र गतिमा काम भयो भने चार महिनाभित्र काम सक्छौं । यति काम गर्नसक्यो भने तराईमा रहेको खानेपानीको समस्या समाधान हुन्छ । बनेको २८० वटा ओभरहेड खानेपानी ट्याङ्कहरु जनताको लागि हो । 

तराई मधेसमा दीर्घकालीन खानेपानी समस्या समाधानको लागि एक घर एक नल परियोजना बनाएका छौँ । त्यो परियोजनाको परिचालन र नियमन ४५ घरपरिवारले गर्ने योजना बनेको छ । यो वर्षको लागि बजेट छैन तर अर्को वर्षको लागि योजना हाल्ने तयारी छ । विदेश दातृ निकायहरूसँग समन्वय गर्न आवश्यक छ । सुनकोशी ड्राइभर्सन सिंचाईको लागि सरकारले परियोजना लागू गर्यो । धेरै कामहरु सम्पन्न भएको छ । त्यही सिँचाइबाट खानेपानी निकाल्ने र तराईका ६ जिल्लालाई पानी दिने भन्ने सर्वे भएको छ । त्यो सर्वे अघि बढेको छ । केही दिनअघि मात्रै निर्णय भएर मन्त्रालयमा आएको छ । 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्झौताको तयारी छ । सम्झौता भएसँगै डिपीआरको लागि टेण्डर गर्छौं । त्यसको लागि एक करोड रकम छ । डिपीआर भएसँगै ४२ अर्बको आयोजना अघि बढ्छ । त्यो आयोजना बन्यो भने करिब ६ जिल्लामा पानी प्रशस्त हुन्छ । नेपाल पानी भएको देश हो । जुन देशमा पानीको समस्या छैन । त्यही देशमा जनता पानीको लागि त्रसित बनिरहेका छन् । पानीको लागि आन्दोलन गरिरहेका छन् । त्यो आन्दोलनलाई सरकारले शून्यमा ल्याउँछ । पानीको समस्या हुन नदिनको लागि मन्त्रालयले तराई मधेस,पहाड र हिमालमा काम गरिरहेका छौँ । मन्त्रालयसँग सानो बजेट छ तर पनि खानेपानीका धेरै काम गर्ने कोसिस गरिरहेका छौँ । 

pradip yadav1

काठमाडौँमा मेलम्चीको पानी आएपछि खानेपानी बढी हुन्छ भन्ने थियो तर अहिले मेलम्ची आएपछि थोरै भएपनि खानेपानीको समस्या समाधान गरेको छ, मौसमको कारण चार महिना बन्द गर्नुपर्ने अवस्था छ । पानी आउँदा पनि काठमाडौँ उपत्यकामा पर्याप्त पानी पुगेको अवस्था छैन, काठमाडौँमा खानेपानीको आवश्यकता छ, काठमाडौँ उपत्यकामा कसरी पर्याप्त खानेपानीको व्यवस्थापन गर्नुहुन्छ ? 

मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजना ३० वर्ष पुरानो हो । अहिले आयोजना सम्पन्न भएर पानी पनि काठमाडौँमा आयो । तर २०७८ सालमा मेलम्चीमा ठुलो बाढी पहिरोको विपद् आयो । मेलम्चीको मुहानमा क्षति गर्‍यो । मुख्य हेडबक्समा धेरै क्षति भएन । जुन अध्ययन भएर आयोजना सम्पन्न भएको थियो । त्यो अध्ययन माथि नै प्राकृतिक विपत्तिले चुनौति दियो । प्राकृतिक प्रकोपको अगाडि कसैको केही लाग्दैन । त्यसैले वर्षातको चार महिना मेलम्ची खानेपानीको हेडबक्समा पानी नदिने अवस्था आयो । चार महिना काठमाडौँमा खानेपानीमा समस्या आयो । त्यसैले खानेपानी समस्याको दीर्घकालीन समाधानको लागि १७ करोड लिटर मेलम्चीको पानी दिइरहेको छ । तर त्यो अपुग छ । काठमाडौँ उपत्यकामा ५१ करोड लिटर पानीको माग छ । तर सरकारले १७ करोड लिटर मात्रै दिइरहेको छ । त्यसको लागि सुन्दरीजलमा अर्को ट्रिटमेण्ट प्लान बनाउन गइरहेका छौँ । अबको एक हप्ता १० दिनमा टेण्डर गर्छौं । त्यो करिब ६ अर्बको आयोजना छ । यो आयोजना बन्दा २५ करोड ५० लाख लिटर पानी दिन्छौँ । अहिले १७ करोड लिटर पानी दिइरहेका छौँ । काठमाडौँमा उपत्यकाको माग २५ करोड ५० लाख लिटर पानीको छ । करिब–करिब पूरा गर्छौं । 

भूमिगत पानी पनि करिब ४ करोड लिटर आउँछ । तारकेश्वर र शिवपुरीबाट पनि पानी आउँछ । तर भविष्यमा मेलम्चीको पानी सुक्नसक्ने अवस्थालाई ध्यानमा राखेर मेलम्चीमा अहिलेको भन्दा १० किलोमिटर माथि सार्नको लागि टेण्डर गरी अध्ययन थालेका छौँ । त्यो हुँदा काठमाडौँमा मेलम्चीको हिमालको पानी खुवाइराख्ने योजना छ । २४ घण्टा पानी आइराख्ने बनाउने योजना छ । त्यहाँ पनि भविष्यमा समस्या आयो भने वैकल्पिक व्यवस्था गर्नुपर्छ । त्यसको लागि विभिन्न ठाउँमा पानी पोखरीहरू बनाउने,पानी स्टोर गर्ने  योजना छ । कुलेखानीको ड्याम सिस्नेरीबाट पानी काठमाडौँमा ल्याउने योजना बनाइरहेका छौँ । त्यसको लागि डिपिआर तयारी अवस्थामा छ । करिब ३२ अर्बको परियोजना छ । त्यसको लागि विदेशी दातृ निकाय खोज्न आवश्यक छ । त्यसको लागि भ्याली बोर्डलाई जिम्मा दिएको छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?