बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरमा खेल प्रशिक्षणका लागि झण्डै ११ हजार विद्यार्थी इच्छुक

सोमबार, २६ कात्तिक २०८१, १९ : ५६
सोमबार, २६ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका १० हजार ९९५ जना विद्यार्थीले खेल प्रशिक्षणका लागि इच्छा व्यक्त गरेका छन् । महानगरले सोही आधारमा छनोट प्रक्रिया अगाडि बढाएको छ । 

आज विद्यालय निरीक्षक, स्रोत शिक्षक, प्रधानाध्यापक, खेल शिक्षकहरुका बिच कार्य सञ्चालन योजनाका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण आयोजना गरिएको छ ।  

स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् । फुटबलपछि व्याटमिन्टन (१,२४७ जना), भलिबल (१,२४७ जना), क्रिकेटमा (९६० जना), तेक्वान्दोमा (९२५ जना) विद्यार्थीले रुचि देखाएका हुन् ।

बास्केटबलमा ८,९९ जना, कराँते ८९३ जना, कवड्डी ६९० जना, एथलेटिक्स ५४९ जना, बक्सिङ ४७१ जना, चेसमा ३४६ जना, टेबुलटेनिस २७८ जना, खोखो २४५ जना, हक्कीमा १४९ जना, उसुमा ६६ जना र जुडो ४० जना जना विद्यार्थीको रुचि छ ।

पोखरेलकाअनुसार प्रारम्भिक अवस्थामा १७ वटा विधाका खेलमा विद्यार्थीको रुचि बुझ्दा १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका थिए । यसमा रहेको पौडी खेललाई जाडो मौसमका कारण अहिले हटाइएको छ । यसको सट्टा विद्यार्थीको रुचिका आधारमा एउटा विधा खेल थप्ने योजना रहेको पोखरेलको भनाइ छ ।

शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार १८ वटा केन्द्रबाट कार्तिक मसान्तभित्र छनोट प्रक्रिया सम्पन्न हुनेछ । यसबाट छानिएका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ । मंसिर, पुस र माघ गरी करिब ३ महिनाभरि जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिनेछ । खेलका तालिम चलाउन नियमित कक्षा अगाडि, पछाडि, बिदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिनेछ । यसपछि माघको अन्तिम सातातिर संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरूका बिचमा प्रतियोगिता आयोजना गरिनेछ ।  

यसरी आयोजना हुने प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिनेछ । यसमा हार र जितभन्दा पनि खेल क्षेत्रको प्रवर्धनका मानकहरूलाई नतिजा प्राप्तिको सूचक बनाइनेछ ।

खेलका लागि सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय निर्देशक समिति गठन भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप