बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

हेटौँडा–१२ निर्वाचनको तयारी पूरा

शनिबार, १५ मङ्सिर २०८१, १८ : ०१
शनिबार, १५ मङ्सिर २०८१

मकवानपुर । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ मा हुने एक वडा अध्यक्ष पदको निर्वाचनको तयारी पूरा भएको छ । आइतबार बिहान हुने मतदानका लागि मतदान स्थल र मतदान केन्द्र निर्माणको तयारी सम्पन्न गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हेटौँडा–१२ मा एक वडा अध्यक्ष पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान प्रक्रिया सञ्चालन हुनेछ । निर्वाचनका लागि हेटौँडा–१२ मा मतदान अधिकृत, सहायक अधिकृत र अन्य कर्मचारी खटाएर काम सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् । उनका अनुसार मतदान स्थलमा मतपत्र र मतपेटिका तथा अन्य सामग्रीहरू पुर्‍याइसकेको छ भने मतदानको लागि सर्वदलीय बैठक बसेर आवश्यक निर्देशनहरू समेत गरिएको छ ।

हेटौँडा–१२ मा २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएर कुल ८ हजार ५३ मतदाता रहेका छन् । जसमध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेका छन् ।

byelection hetauda (2)

निर्वाचनको लागि २ वटा मतदान स्थल तोकिएको छ । पूर्वतर्फ प्रतिभा आधारभूत विद्यालय सिक्रेनीमा र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा मतदान स्थल कायम गरिएको छ । प्रतिभामा ५ वटा मतदान केन्द्र रहेको छ भने विष्णुज्योतिमा ४ वटा गरी कुल ९ वटा मतदान केन्द्र रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार प्रतिभा मतदान स्थलमा ४ हजार ४२८ र विष्णज्योतिमा ३ हजार ६२५ मतदाताले मतदान गर्नेछन् । निर्वाचनका लागि ९ वटा केन्द्रमा ४५ जना कर्मचारीहरू परिचालन गरिएको उनले बताए । उनका अनुसार प्रति निर्वाचन केन्द्र ५/५ जना कर्मचारी र १/१ जना स्थानीय स्वयंसेवक रहने व्यवस्था रहेको छ ।

  • मतगणना हेटौँडाको सिद्धार्थ माविमा गरिने

हेटौँडा–१२ को वडा अध्यक्ष पदको निर्वाचनपछि मतगणना कार्य हेटौँडा बजार क्षेत्रमा गरिने भएको छ । मतगणना कार्य हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभा हलमा गरिने तय गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले मतगणना स्थल सिद्धार्थ माध्यमिक विद्यालयलाई तोकेको हो । मतदान केन्द्रमा मतदान सम्पन्न भए लगत्तै मतपेटिका सङ्कलन गरी हेटौँडा बजार क्षेत्रको सिद्धार्थ माविमा ल्याइने र मतपेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेर मतगणना कार्यको समय तय गरिने जनाइएको छ ।

  • सुरक्षाकर्मी परिचालन

निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले बाक्लो मात्रा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालले आफू नै मैदानमा पुगेर सुरक्षा व्यवस्था कडाइ पारिएको बताए ।

byelection hetauda (3)

संख्यात्मक रुपमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेर निर्वाचनलाई भयरहित बनाउने काम भइरहेको उनले बताए । मतदान स्थल, मतदाता, उम्मेदवारको सुरक्षालाई मध्यनजर गरेर सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाई छ ।

४ वटा सुरक्षा निकायलाई परिचालन गरी निर्वाचनलाई भयरहित बनाउने काम भइरहेको उनले बताए । वडाको हरेक नाकामा प्रहरी परिचालन गरिएको छ भने पट्रोलिङ मार्फत् वडाको सुरक्षाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चिलवालले बताए । उनले मतदाताहरु भयरहित वातावरणमा मतदान गर्न आग्रह समेत गरेका छन् ।

हेटौँडा–१२ को एक वडा अध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये दलबाट ९ जना र स्वतन्त्र ३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । दलबाट एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप