शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

जनकपुरको लगातार चौथो जित, चौथो हारपछि लुम्बिनीको अगाडि बढ्ने सम्भावना क्षीण

आइतबार, २३ मङ्सिर २०८१, १२ : ११
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार चौथो जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले आइतबार खेलिएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित हासिल गर्‍यो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रनमात्र बनाउन सक्यो ।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्सको यो लगातार चौथो जित हो । आठ अंकसहित जनकपुर बोल्ट्स अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । लुम्बिनी लायन्सको भने यो लगातार चौथो हार हो । चौथो हारपछि लुम्बिनी लायन्सको अगाडि बढ्ने सम्भावना पनि क्षीण भएको हो ।

नाटकीय खेलमा जनकपुर बोल्ट्स विजयी भएको हो । अन्तिम ओभरमा लुम्बिनी लायन्सलाई जितका लागि नौ रन आवश्यक थियो । हर्ष थाकेर अन्तिम ओभर बलिङ गर्न आएका थिए । लुम्बिनी लायन्सका ब्याट्सम्यान साद बिन जाफर र सन्दीप जोरा क्रिकेटमा थिए ।

अन्तिम ओभरको पहिलो बलमै थाकेरले साद बिन जाफरको विकेट लिए । त्यसपछि दुर्गेस गुप्ता क्रिज समाल्न आए । थाकेरको दोस्रो बलमा दुर्गेसले चौका प्रहार गरे । तेस्रो बलमा थाकेरले रन दिएनन् । चौथो बलमा दुर्गेसले एक रन लिए ।

यसैगरी, पाँचौँ बलमा सन्दीप जोराले दुई विकेट लिए । त्यसपछि अन्तिम एक बलमा लुम्बिनी लायन्सलाई जितका लागि दुई रन आवश्यक थियो । तर, जनकपुर बोल्ट्सका बलर थाकेरले अन्तिम बलमा लुम्बिनी लायन्सका ब्याट्सम्यान सन्दीप जोरालाई किशोर महतोलाई क्याच गराए ।

IMG-20241208-WA0017

सन्दीप जोराले आउट हुनुअघि आठ बलमा एक छक्का र एक चौकाको मद्दतले १६ रन बनाएका थिए । दुर्गेस गुप्ता पाँच रनमा अविजित रहे । लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाएका थिए । उनले ३८ बलमा तीन चौका हिर्काए ।

चौथो नम्बरका ब्याट्सम्यान टम मुरेसले पनि ३१ रन बटुले । उनले केवल २३ बलमा एक छक्का र दुई चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान अर्जुन साउदले २० रन बनाए । उनले २३ बलमा दुईवटा चौका प्रहार गरेका थिए ।

लुम्बिनी लायन्सका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी लायन्सले अतिरिक्त रूपमा पनि १७ रन पायो । जनकपुर बोल्ट्सका बलर हर्ष थाकेर एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि, पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सका लागि कप्तान अनिलकुमार साहले ४५ रनको योगदान गरेका थिए । ओपनर ब्याट्सम्यान अनिलले ३९ बलको सामना गरी चार छक्का र एक चौका पनि हिर्काएका थिए ।

अनिल केवल पाँच रनका कारण जारी एनपीएलमा ब्यक्तिगत रूपमा दोस्रो अर्धशतक बनाउन बाट चुकेका थिए । उनलाई १२औँ ओभरको तेस्रो बलमा लुम्बिनी लायन्सका बलर सन्दीप जोराले विवेक यादबद्वारा क्याच गराए ।

IMG-20241208-WA0043

अनिल र आसिफ शेखले ओपनिङ विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । टोलीको मार्की खेलाडीसमेत रहेका आसिफ शेखले १६ रन बनाए । उनले केवल १० बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान लाहिरु मिलनथाले पनि टोलीको खातामा २४ रन थपे । उनले २३ बलमा दुई चौका प्रहार गरे । लाहिरु मिलनथा र अनिलले टोलीको स्कोरलाई ९५ रनको स्थितिसम्म पुर्‍याएका थिए ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका शुभ कंसाकारले टोलीको खातामा अविजित २२ रन थपे । उनले २४ बलको सामना गरी दुई छक्का हिर्काए । टोलीको स्कोरलाई सम्मानजनक स्थितिसम्म पुर्‍याउन शुभको योगदान महत्त्वपूर्ण रह्यो ।

हर्ष थाकेर र जेम्स निसाम भने एक–एक रन बनाउँदै पेभेलियन फर्किए । मोहम्मद मोहसिन पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । शेल मल्लले त खातासम्म खोल्न सकेनन् । नवौँ नम्बरका ब्याट्सम्यान हेमन्त धामीले ११ बलमा एक चौकाको मद्दतले नौ रन बटुले । जनकपुर बोल्ट्सले अतिरिक्त रूपमा १५ रन पायो ।  

लुम्बिनी लायन्सका बलर अभिषेक गौतमले तीन विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिएका थिए । कप्तान रोहितकुमार पौडेलले पनि दुई विकेट हात पारे । उनले चार ओभरमा २२ रन खर्चिए । साद बिन जाफरले पनि दुई विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चिए । सन्दीप जोराले एक विकेट लिए ।

जनकपुर बोल्ट्सले यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो । जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

लुम्बिनी लायन्स आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पोखरा एभेन्जर्सले १० विकेटले हराएको थियो । लुम्बिनी लायन्स आफ्नो तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।

जारी एनपीएलमा हालसम्म चार खेल खेलेको जनकपुर बोल्ट्स आठ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । तीन खेल खेलेको सुदूरपश्चिम रोयल्स ६ अंकसहित दोस्रो, तीन खेल खेलेको चितवन राइनोज चार अंकसहित तेस्रो र चार खेल खेलेको कर्णाली याक्स चार अंकसहित चौथो स्थानमा छन् ।

यसैगरी, तीन खेल खेलेको पोखरा एभेन्जर्स दुई अंकसहित तालिकाको पाँचौँ, तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित छैटौँ, चार खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित सातौँ र चार खेल खेलेको लुम्बिनी लायन्स शून्य अंकसहित आठौँ स्थानमा आसीन छन् । 

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप