१० बजे, १० समाचार : बीआरआईमा अमेरिकी चासोदेखि एनपीएलको रोमाञ्चसम्म
आज २०८१ मंसिर २५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- बीआरआई
नेपाल सरकारले छिमेकी राष्ट्र चीनसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड (बीआरआई) कोओपरेसन फ्रेमवर्क सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान गत डिसेम्बर चारमा दुई राष्ट्रबिच फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । फ्रेमवर्क अन्तर्गत १० वटा परियोजनाहरुलाई समावेश गरिएका छन् ।
- भूराजनीतिक सवाल
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीन दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । आइतबार नेपाल आएका उनी मंगलबार बिहान स्वदेश फर्किएका हुन् । नेपाल र चीनबिच बीआरआई फ्रेमवर्क सम्झौता भएको केही दिनमै नेपाल भ्रमणमा आएका लुले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेटवार्ता गरे पनि प्रधानमन्त्री ओलीसँग भने उनको भेटवार्ता हुन सकेन ।
- सचिवालय बैठक
नेकपा एमालेले सहरी जनमतसँग पार्टीलाई जोड्न नसकेको निष्कर्ष निकालेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकमा हालै सम्पन्न उपनिर्वाचनबारे समीक्षा गर्दै एमालेले यस्तो निष्कर्ष निकालेको हो । यद्यपी उसले उपनिर्वाचन भएका ४२ मध्ये आफ्नो पार्टीबाट जितेका ७ वडा सबै फिर्ता नगरेपनि अध्यक्ष र उपाध्यक्षसहित ८ पदमा जित निकालेकोमा उपलब्धिका रूपमा लिएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
- घोषणापत्र कार्यान्वयन
आम निर्वाचन (२०७९ मंसिर ४) मा जनतासँग भोट माग्न नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ‘शब्द–शक्ति’लाई जोड दिएको देखिन्छ । समावेशी लोकतन्त्रका पाँच आधार भनेर उसले ‘प’लाई समातेको छ— पहिचान, प्रतिनिधित्व, पहुँच, प्रतिष्ठा र प्रगति । राजनीतिक विरासत र घोषणापत्र भजाएर चुनावबाट ऊ सिटका आधारमा सबैभन्दा ठुलो दल बन्यो । चुनाव सकिएको दुई वर्ष नाघिसक्दा उसले आफ्ना घोषणाको ४० प्रतिशत कार्यान्वयन गरिसक्नुपर्ने हो । कति गर्यो त ?
- प्रधान न्यायाधीश र बारबिच दुरी बढ्दै
पछिल्ला दुई दिनमा भएका यी दुई प्रतिनिधि घटनाले नेपाल बार एशोसिएशन र प्रधान न्यायाधीश राउतका बिचमा टसल र दुरी बढ्दै गएको देखाउँछ । शनिबार भएको कार्यक्रममा भाग लिन पुगेका बार अध्यक्षलाई मञ्चमै नबोलाउने घटना गम्भीर भएको भन्दै बारका पूर्वअध्यक्षहरूले सम्मेलनमा र प्रधान न्यायाधीशकै सामु विषय उठानको तयारी गरेका छन् ।
- रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले गरेको व्यवहारविरुद्ध विपक्षी विभिन्न पार्टीका नेताहरूले असन्तुष्टि जनाएका छन् । सहकारीको रकम दुरुपयोग र ठगी गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई पोखरा, भैरहवा, काठमाडौँ, चितवन र वीरगन्ज पुर्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
- अनियमितता
निजामती सेवामा प्रवेश गर्नेको एउटा लक्ष्य हुन्छ सचिव बन्ने । सचिव बनेपछि उद्देश्य हुन्छ, सचिव बन्दै गर्दा गृहसचिव बन्ने । त्यही लक्ष्य हासिल गरेका एक व्यक्ति हुन् सूर्यप्रसाद सिलवाल । २०७० चैतदेखि २०७२ मङ्सिरसम्म गृहसचिव रहेका उनकै नेतृत्वमा संविधान निर्माणको विषम परिस्थितिबिच सुरक्षा संयन्त्र चलेको थियो ।
- निजामती कर्मचारी विधेयकमा छलफल
कर्मचारी सरुवामा राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने आवाज दलबाट प्रतिनिधित्व गर्ने सांसदहरूले नै उठाएका छन् । उनीहरूले नेता वा मन्त्रीको ‘पावर’ लगाएर हुँदै आएको कर्मचारी सरुवाको अप्राकृतिक मोडल तुरुन्त खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।
- सिरिया सङ्कट
झण्डै ९ वर्षको हिंसात्मक द्वन्द्वसँगै केही वर्षदेखि तुलनात्मक रूपमा शान्त देखिएको सिरियामा पछिल्लो हफ्ता एक्कासी विद्रोही सैन्य बलले हमला गरेर बशर अल असदको सत्ता उल्ट्याइदिएसँगै विश्वभरका सञ्चारमाध्यममा सिरियाले पुनः स्थान पाउन थालेको छ ।
- नेपाल प्रिमियर लिग
नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनको मद्दतले लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको छ । १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।
त्यस्तै दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।