चितवनले जित्यो टस, पहिले ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । यससँगै चितवनले जनकपुर बोल्ट्सबिरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । यो जनकपुरको सातौँ तथा अन्तिम खेल हो । टोलीले यसअघिका ६ खेलमध्ये ५ खेल जित्दै १० अङ्क बटुलेको छ । आजको खेल जितेर टोली अङ्क तालिकामा शीर्ष स्थान पक्का गर्न चाहन्छ ।
यता, चितवनले ६ खेलबाट ३ खेलमा जित र तीन खेलमा हार बेहोर्दै ६ अङ्क बटुलेको छ । आजको खेल जित्दै टोली प्लेअफको सम्भावना कायम राख्न चाहन्छ । तर, टोलीले लय गुमाएको छ । पछिल्ला दुई खेलमा टोली पराजित भएको छ ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक १८९ रन बनाएका छन् । उनको उच्च स्कोर ५९ रन रहेको छ । त्यस्तै, कप्तान कुशल मल्लले १३० रन जोडेका छन् । बलिङतर्फ रिजन ढकालले ११ विकेट लिएका छन् भने सोहेल तनवीरले १० विकेट हात पारेका छन् ।
जनकपुर बोल्ट्सका लागि लिहारु मिलान्थाले सर्वाधिक १९१ रनको योगदान दिएका छन् । उनको उच्च स्कोर ७५ रन नटआउट रहेको छ । अनिल साहले १२४ रन बनाएका छन् । उनको उच्च स्कोर ६२ रहेको छ । बलिङतर्फ ललित राजवंशीले ११ विकेट लिएका छन् भने किशोर महतोले १० विकेट हात पारेका छन् ।
जनकपुर बोल्ट्स ड्रिम स्पोर्टस प्रालिको स्वामित्वमा रहेको क्लब हो । ड्रिम स्पोर्टस प्रालिले जनकपुर बोल्ट्सलाई दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेको हो । आसिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् । जनकपुर बोल्ट्सका प्रमुख प्रशिक्षक पुबुदु दासानायके हुन् ।
चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको क्लब हो । चितवन राइनोजलाई चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको हो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । चितवन राइनोजका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन् ।