बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
एसिया कप

बलियो बंगलादेशसँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल

शुक्रबार, ०५ पुस २०८१, १५ : २२
शुक्रबार, ०५ पुस २०८१

काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर–४’ चरणबाटै बाहिरिएको छ । 

नेपाली टोली ‘सुपर–४’ चरणको आफ्नो दोस्रो खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएको हो । प्रतियोगिताको फाइनलमा अब बंगलादेशले उपाधिका लागि भारतसँग भिडन्त गर्नेछ । 

वर्षाका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो । टस हारी ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनमात्र बनाउन सक्यो ।

जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशी टोलीले ९.५ ओभरमा केवल एक विकेट गुमाएर ५८ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । वर्षाका कारण खेल ११–११ ओभरमा झारिएको थियो । 

बंगलादेशको जितमा फाहोमिदा चोयाले अविजित २६ रनको योगदान गरिन् । मोसाम्मत एभाले पनि १८ रन बनाइन् । सुमैया अख्तर १० रनमा अविजित रहिन् । 

त्यसअघि, बंगलादेशविरुद्धको महत्वपूर्ण खेलमा नेपाली टोलीका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । ओपनर सावित्री धामीले मात्र दोहोरो अंकमा रन बनाइन् । उनले ११ रन जोडिन् । 

अर्की ओपनर साना प्रविन चार रन बनाउँदै आउट भइन् । कप्तान पूजा महतो पनि नौ रनभन्दा अगाडि बढ्न सकिनन् । सोनी पाख्रिन पनि दुई रनमै आउट भइन् ।  

ज्योत्सनिका मरासिनीले पाँच र सिमाना केसीले तीन रन बटुले । एलिसा यादव आठ रनभन्दा अगाडि बढ्न सकिनन् । कुशुम गोदारले तीन रन जोडिन् । तृषना विश्वकर्मा चार रनमा अविजित रहिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप