नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
कञ्चनपुर । जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ । विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रू २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले कार्य गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो । पुलका तीनवटा पिलर खडा गरे पनि ‘पाइल टेष्ट’मा फेल हुँदा काम अगाडि बढ्न सकेको थिएन । “त्यही अवस्थामा पुल निर्माणको काम अगाडि बढाउन सकिने अवस्था थिएन”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीले भने, “मर्मत गर्न सकिने अवस्था पनि भएन, पुलको डिजाइन नै ‘रिभ्यू’ गरेर निर्माण अहिले अगाडि बढाएका छौँ ।”
लागत नबढ्नेगरी पुलका पिलरको फाउन्डेसनको ‘डायमिटर’ बढाएर कार्य अगाडि बढाइएको उनको भनाइ छ । पहिलेको डिजाइनअनुसार पुलको डायमिटर ८० सेन्टिमिटर थियो भने अहिले बढाएर एक सय २० सेन्टिमिटर राखिएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । विसं २०८२ माघ २० गतेसम्म पुल निर्माण पूरा गरिसक्ने गरी म्याद थप गरिएको छ । पुलको लम्बाइ दुई सय ११ मिटर रहेको छभने चौडाइ ११ मिटर छ ।
ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ । पुल निर्माणका लागि पहिला दिएको भुक्तानी रू १२ करोड बैंक धरौटीबाट असुलउपर गरिएको छ । निर्माण कम्पनीले रू १० करोड जतिको कार्य पूरा गरेको सूचना अधिकारी जोशीले बताए । निर्माणअनुसार पहिलो ‘रनिङ बिल’को भुक्तानी दिन काम अगाडि बढाइएको छ । बजेट अभावले भुक्तानी दिन ढिलाइ भइरहेको उनको भनाइ छ ।
लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदयाममा नदीमा अस्थायी राखिने काठको पुलमा शुःल्क तिरेर तर्दै आएका छन् । वर्षात्का बेला बाढीमा नदी जोखिम मोलेर तर्नुपर्ने स्थानीय बासिन्दाको बाध्यता छ । पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शुःल्क तिरेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य हुने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताए । “पुल निर्माण बीचमा छाडेर निर्माण व्यवसायी बेखबर भएपछि पुल बन्ने आश छाडेका थियौँ” उनले भने “अहिले पुल निर्माणको कार्य दु्रतगतिमा अगाडि बढेकाले बन्ने आशा पलाएको छ, वर्षौैँदेखिको नदीमा जोखिम मालेर तर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।”
शिक्षक गेंदुराम राना पुल बनेपछि वर्षात्का बेला नदीमा बाढी आउँदा लालझाडी गाउँपालिकाका बासिन्दाको जिल्ला सदरमुकामसँगको सम्पर्कविच्छेद हुने समस्या सधैँका लागि हट्ने बताउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण