वेस्ट इन्डिजका बलरहरू ब्याटिङ र बलिङमा चम्किँदा पछि पर्यो पाकिस्तान
मुल्तान । दोस्रो टेस्टको पहिलो इनिङ्समा घरेलु टोली पाकिस्तान वेस्ट इन्डिजसँग ९ रनले पछि परेको छ । पाकिस्तानले पहिलो इनिङ्समा १ सय ५४ रन मात्र बनाउन सकेको हो ।
टोलीका लागि विकेटकिपर मोहम्मद रिजवानले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ७५ बलको सामना गर्दै ८ चौका हिर्काए । साउद सकलिले ६२ बलमा ३२ रन जोडे ।
त्यस्तै, कमरान गुलाम र साजिद खानले १६–१६ बनाए । कप्तान शान मसुद मात्र १५ रन बनाएर पभेलियन फर्कन बाध्य भए । पाकिस्तानलाई सस्तोमा समेट्न जोमेल वारिकनले १७ ओभर बलिङ गर्दै ४३ रन खर्चेर ४ विकेट लिए । गुणकेश मोतीले ३ विकेट तथा केमार रोचले २ विकेट हात पारे ।
यसअघि नोमन अलीले ह्याट्रिक लिएपछि पहिलो इनिङ्समा वेस्ट इन्डिज १ सय ६३ रनमा सीमित बनेको थियो । अली टेस्ट क्रिकेटमा ह्याट्रिक लिने पाकिस्तानको पहिलो स्पिनर हुन् । उनले १२ औँ ओभरको पहिलो तीन बलमा जस्टिन ग्रिभेस, टेभलिन इमाल्च र केभिन सिंक्लेयरलाई आफ्नो सिकार बनाउँदै ह्याट्रिक पूरा गरेका थिए ।
त्यतिबेला वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा मात्र ३८ रन बनाएको थियो । त्यसपछि पुछारका ब्याटर गुणकेश मोती, केमार रोच र जोमेल वारिकनले वेस्ट इन्डिजको इनिङ्सलाई डोर्याएका थिए । मोतीले ८७ बलमा ५५ रन जोडे । उनले ४ चौका हिर्काए ।
केमार रोचले ४५ बलमा २५ रन बनाए भने वारिकनले ४० बलमा ३६ रन बनाउँदै नटआउट रहे । वारिकनले १ चौका र २ छक्का प्रहार गरे । केभेम हजले २१ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
अलीले १५.१ ओभर बलिङ गर्दै ४१ रन खर्चेर ६ विकेट लिए । साजिद खानले २ विकेट तथा कासिफ अली र अब्रार अहमेदले १–१ विकेट हात पारे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण