रणनीतिक महत्वको बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू
म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ-दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ । रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताए ।
‘फराकिलो पार्ने, नाली, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा एकतर्फी प्राइम कोट (बिटुमीन) बिछ्याएर ‘फस्टकोट’ (बिटुमिन र चिप्स) राख्न थालिएको हो’, उनले भने, ‘बाङ्गेपहिरो छाडेर तोलावाङ, ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।’
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत म्याग्दीस्थित पूर्वाधार विकास कार्यालयमार्फत दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित पाँच वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माणको काम अलपत्र बनेको थियो ।
मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते बिरूवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालयबीच रू २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । २०७८ जेठमा सकिनुपर्ने सो योजनाको हालसम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
निर्माण कम्पनीका प्राविधिक देवराज राउतले चालु आर्थिक वर्षभित्र नै कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरेको बताउनुभयो । पर्याप्त बजेट विनियोजन नहुनु, नदीजन्य निर्माण सामग्रीको अभाव, विपद् र कोरोना महामारीका कारण ढिलाइ भएको निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले बताए ।
गत वर्ष पाँच करोड बजेट विनियोजन भएको यो आयोजनालाई यसपालि रू एक करोड ५० लाख विनियोजन भएको छ । म्याग्दीको लाइफ लाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालन गर्न असहज भएपछि जनप्रतिनिधि र अगुवाहरूले दबाब दिँदै आएका थिए ।
सडक कालोपत्र हुन थालेपछि उत्साहित भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । कामलाई गुणस्तरीय बनाउन निगरानीका साथै सामाजिक समस्या समाधानका लागि सहजीकरण र समन्वय गरेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण