‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
काठमाडौँ । नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको सांसदहरूले बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरूले पानी जहाज नेपालका लागि अत्यावश्यक भइसकेको बताएका हुन् ।
उनीहरूले नेपालमा केही समयअघि पानी जहाज चलाउने भन्दा ठट्टा गर्ने गरे पनि अहिले नेपालमा पनि सानासाना पानी जहाज चलाउन मिल्ने कुरा बुझ्दै गएको बताए । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेपालमा पानी जहाज चलाउने कुरा गर्दा पानी जहाजलाई ठट्टामा उडाउने गरे पनि अहिले आएर बुझ्दै गएको बताए ।
उनले भने, ‘अस्ति अस्तितिर नेपालमा पानी जहाज चलाउने कुरा गर्दा पानी जहाजलाई ठट्टामा उडाए । ठाउँठाउँ सानासाना जहाजहरू बनाएर उडाएका थिए । त्यसमा हामी पनि हाँसिन्थ्यो । अहिले त हामी हाँस्दैनौँ । किनभने एउटै स्वर बनाएर पानी जहाज चल्ने रहेछ भनेर अघि बढेका छौँ । यो विधेयक ल्याएकोमा धन्यवाद छ । अब यो विधेयकलाई ल्याइसकेपछि हाम्रा नदीहरूभित्र साना जहाजहरू कसरी चलाउन सकिन्छ, त्यसमा लागौँ ।’
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गोपालप्रसाद भट्टराईले पानी जहाज तथा जल यातायात भन्दा राम्रो हुने प्रस्ताव गरे । पानी जहाजसम्बन्धी विधेयक तत्काल अघि बढाउन जरुरी रहेको उनको भनाई थियो । उनले तेल ढुवानीमा पाइप लाइन बिछ्याउने, अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको उल्लेख गरे ।
राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले पहिला पानी जहाज नेपालमा चलाउने भन्दा नकारात्मक बहस हुने गरे पनि अहिले सानासाना जहाजहरू चलाउन सकिने कुरा बुझ्दै गएको बताए । उनले भने, ‘पहिला पानी जहाज चलाउने भन्दा नेगेटिभ बहसहरू हुन्थे । तर अहिले पानी जहाज सञ्चालन तथा व्यवस्थापन भनेर विधेयक आएको छ । विधेयक ठिक भनेर संसदमा पनि पास गरिसकेका छौँ । नेपाल भूपरिवेष्टित देश भएको हुनाले यो देशमा पानी जहाज छैन, तर पानी जहाज राख्ने अधिकार पाउँछ भन्ने कुरा धेरै पहिला थाहा थियो । पानी जहाज निर्माण र पानी जहाज सेवा सञ्चालन गर्न कानुनको आवश्यक भयो, वर्तमान सरकारले अनुभूति गरेर यो विधेयक आयो । यो विधेयक कानुनमा परिणत भइसकेपछि नेपालीले अन्तर्राष्ट्रिय जलमार्गको उपयोग गर्न पाउनेछ । पानी जहाज सेवा सुरक्षित बनाउन यो विधेयक आएको छ ।’
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले नेपालमा पानी जहाज, पानी जहाज नेपालमा ? भन्दा अनौठो लागे पनि सानासाना पानी जहाज चलाउन सकिने कुरा बुझ्दै गएको बताए । उनले नेपालमा पानी जहाज अहिले आएर आवश्यक लागेको बताउनु भयो । हवाई यातायात भन्दा सस्तो हुने भएकाले पनि यो महत्त्वपूर्ण हुने बताए ।
बैठकमा राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले तत्काल पानी जहाज सञ्चालन गरिहाल्ने भन्दा पनि कानुनी आधार तयार पार्नुपर्नेमा जोड दिए । उनले यसका लागि छुट्टै निकाय आवश्यक भए कानुनमा राख्न जरुरी हुने बताए ।
सांसदहरूले कानुन निर्माण गर्दा भाषालाई बचाउनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले आन्तरिक जलमार्गबाट पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गरेका छन् । बैठकमा सांसदहरूले पानी जहाज भन्दा जल यातायात नाम राखेर जान सुझाव दिएका छन् । तर हरेक भूपरिवेष्टित राष्ट्रहरूले अन्तर्राष्ट्रिय जलमार्गमा गरेका अभिसन्धिअनुसार अरू नाम राख्न नमिल्ने व्यवस्था छ ।
सरकारले जल यातायात विभाग नाम राख्न खोजेको भए पनि अन्तर्राष्ट्रिय कानुनअनुसार पानी जहाज कार्यालय नै भन्नुपर्ने बाध्यता छ । अन्तर्राष्ट्रिय स्तरमा कार्यालय दर्ता गर्नुपर्ने भएकाले पानी जहाज कार्यालय नै नाम राख्नुपर्ने प्रावधान रहेको सरकारले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण