दिवसले छुन सकेन महिला श्रमिकलाई
डुम्रे । ‘सबै महिला तथा बालबालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज ११५ औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ । जिल्लाका महिला श्रमिकहरू भने आज अन्तरराष्ट्रिय महिला दिवस हो भनेर बेखबर छन् ।
व्यास नगरपालिका–१ भादगाउँ निवासी सुस्मा गुरुङ दमौली बजारमा इँटा, सिमेन्ट, बालुवा र गिट्टी बोक्न व्यस्त रहेकी छन् । ‘आज महिला दिवस हो र ? हामीलाई थाहा नै थिएन, दिनभर कामबाट फुर्सद हुँदैन । बेलुकी र साँझका लागि छाक जुटाउनमा व्यस्त हुन्छौँ, हामीलाई न दिवस न रमाइलो गर्ने समय छ’, उनले भनिन्, ‘हामी बालबच्चाको पठनपाठन र लालनपालनका लागि खर्च जुटाउन दिनभरि काममा व्यस्त हुन्छौँ ।’
दमौली बजारमा सिमेन्टमा बालुवा, गिट्टी घोल्ने, ओसारपसार गर्ने र इँटा बोकेर दैनिकी चलाउँदै आएकी व्यास–१० दुम्सीचौरकी सुस्मिता विकले कामको व्यस्तताले दिवस हो भन्ने पत्तै नभएको बताइन् । बिहान ८ बजे खाना खाएर हतारहतार घरबाट निस्केर बिहान ९ बजेदेखि घर निर्माणका लागि उनी इँटा बोक्न व्यस्त हुन्छिन् ।
विकले भनिन्, ‘दिवस कहिले पर्छ, किन मनाइन्छ थाहा छैन काम नगरी खान पुग्दैन ।’ उनी महिला दिवसबारे जानकारी नै नभएको बताउँछिन् । ‘यो दिवसका बारेमा हामीलाई थाहा हुँदैन, न त हामी जस्ता श्रमिकलाई जानकारी गराइन्छ’, उनी भन्छिन्, ‘दिवसले हामीलाई खान दिँदैन ।’ काम गरेबापत दैनिक रु छ सय ठेकेदारबाट पारिश्रमिक पाउने गरेको उनले जानकारी दिइन् ।
महिला र पुरुषबिच अझै पनि ज्यालामा विभेद हुने गरेको उनीहरूको गुनासो छ । पुरुषसरह काम गरे पनि ज्याला तथा पारिश्रमिकमा विभेद रहेको विकले बताइन् । एउटै काम बराबर गरे पनि ज्यालामा असमानता रहेको गुरुङको भनाइ छ । उनले भनिन्, ‘पुरुषले यही काम गर्दा रु एक हजार पाउँछन्, हामीलाई रु छ सय मात्रै दिन्छन् ।’
पुरुष सरह काम गरे पनि कामको मूल्याङ्कन भने कम हुने गरेको महिला श्रमिकको गुनासो छ । गुरुङले भनिन्, ‘थोरै आम्दानी हुने भएकाले भाडाको घरमा बस्नु परेको छ, केटाकेटी पढाउन, खान र अन्य खर्च जुटाउन सास्ती हुन्छ ।’
सरकारले एकातिर महिला सुरक्षा, सम्मान र रोजगार, समृद्धि ल्याउने भन्दै दिवस मनाइरहेको छ । तर निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने अधिकांश महिलाले यो दिवस कहाँ र कसरी मनाइँदैछ भनेर अनभिज्ञ रहेको बताउँछन् । श्रमिक महिलाको पहिचान र सम्मानका लागि स्थानीय सरकारले खोजी गरिरहेको सूचना प्रकाशन भएको पाइए पनि यी महिला श्रमिक पर्दा पछाडि रहन बाध्य छन् ।
दैनिक ज्यालादारी गरेर जीकिोपार्जन गर्ने अधिकांश महिला श्रमिकलाई यो दिवसका बारेमा खासै मतलब छैन । आज दमौलीमा भेटिएका अधिकांश महिला श्रमिकले दिवस मनाउने र यसका बारेमा चासो नभएको बताउँछिन् ।
व्यास–३ निमचोकमा घर निर्माणका लागि बालुवा, गिट्टी घोल्दै गरेकी ऋषिङ गाउँपालिका–१ की दिलमाया थापा मगरलाई पनि दिवसले छुन सकेको छैन । अरू दिन जस्तै उनी आज पनि बिहानदेखि घरको गारो लगाउन बालुवा र सिमेन्ट घोल्ने काम व्यस्त छिन् ।
‘निर्माण क्षेत्रमा काम गरेको दश वर्षभन्दा बढी भयो, अहिलेसम्म दिवस मनाएको छैन, कसैले मनाउनुपर्छ भनेर जानकारी पनि दिएका छैनन्’, मगरले भनिन्, ‘काम नगरी खान पाइँदैन र पुग्दैन पनि । दिवस मनाएर हामी जस्ता कामदारलाई अर्थ छैन ।’
व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलालाई पुग्नुपर्ने सचेतना अझैसम्म पनि पुग्न नसकेको बताइन् । सचेतनाको अभावले दिवसको दिनमा महिला काम गर्न बाध्य रहेका उनको भनाइ छ । ‘ठेकेदारले महिला कामदारलाई बिदा दिनुपर्ने हो, तर दिवसप्रति गम्भीर बनाउन कुनै निकायले समन्वय नगर्दा यस्तो अवस्था आएको हो ।’
ठेकेदार नै दिवसका विषयमा अनभिज्ञ हुँदा वर्षमा एकपटक मनाइने दिवसले वास्तविक श्रमिक महिलालाई छुन नसकेको उपप्रमुख दरैको भनाइ छ । उनले दीर्घकालीन सोचका साथ नीतिगत रूपमा श्रमिक महिलाको हकहितलाई समेटेर कार्यक्रम ल्याउन सके मात्र दिवस मनाउनुको औचित्य हुने धारणा राखिन् ।
श्रमिक महिलासँगै ठेकेदारलाई समेत सचेत गराउन सक्नुपर्ने र दिवसका विषयमा जानकारी गराउन आवश्यक देखिएको उपप्रमुख दरैले बताइन् । सरकारले वास्तविक श्रमिकलाई सम्मान गर्न सकेमा मात्रै दिवसको प्रभावकारी देखिने भन्दै उनले भनिन्- ‘समान कामका लागि समान ज्याला हुनुपर्छ भनेर बारम्बार आवाज उठाउँदै आएका छौँ, तर सुनुवाइ हुँदैन, पढेलेखेका जागिर खाएकालाई दिवसले अर्थ दिए पनि वास्तविक सामान्य पढेका तथा अशिक्षित महिलाहरू अझै पनि दिवसको अर्थ, महत्त्व र कार्यक्रमभन्दा बाहिर रहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण