शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
सारांश
- शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले कोरियाको सोल नेशनल युनिभर्सिटी हस्पिटलका बाल मुटुरोग शल्यक्रिया टोलीलाई बिदाइ गरेको छ ।
- कोरियाली विशेषज्ञ टोलीले केन्द्रका चिकित्सकहरूसँग मिलेर ७ जना बालबालिकाको जटिल तथा जोखिमयुक्त मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।
- कोरियाली टोलीले अस्पतालमा सङ्क्रमण नियन्त्रणसम्बन्धी सुधारका उपायहरूबारे अध्ययन र छलफल गरी ज्ञान तथा अनुभव आदानप्रदान गरेको छ ।
काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले कोरियाको ‘सोल नेशनल युनिभर्सिटी हस्पिटल’ का बाल मुटुरोग शल्यक्रिया टोलीलाई एक औपचारिक कार्यक्रमका बिच बिदाइ गरेको छ । बाल मुटुरोग शल्य चिकित्सक प्रोफेसर वुङ हान किमको नेतृत्वमा आएको विशेषज्ञ टोलीले केन्द्रका चिकित्सकहरूसँग मिलेर ७ जना बालबालिकाको जटिल तथा जोखिमयुक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।
केन्द्रका निमित्त कार्यकारी निर्देशक डा.रविन्द्रभक्त तिमलाका अनुसार अस्पतालको नयाँ नीतिअन्तर्गत बालबालिकाहरूको यो उपचार पूर्ण रूपमा निःशुल्क गरिएको हो । विगत ४–५ वर्षदेखि निरन्तर नेपाल आउँदै आएको यस टोलीमा शल्य चिकित्सकसँगै आइसियु नर्स, एनेस्थेटिस्ट र कार्डियोलोजिस्टहरू समेत सहभागी थिए ।
शल्यक्रियाका साथै कोरियाली टोलीले अस्पतालमा सङ्क्रमण नियन्त्रणसम्बन्धी सुधारका उपायहरूबारे समेत अध्ययन र गहन छलफल गरेको छ । टोलीमा आएका ५ जना सङ्क्रमण नियन्त्रण विशेषज्ञहरू र केन्द्रका प्रतिनिधिबिच ज्ञान तथा अनुभव आदानप्रदान हुनुका साथै अस्पतालको सेवा र गुणस्तर सुधारका विविध पक्षमा सहकार्य भएको छ । शल्यक्रियापश्चात् गरिने सघन हेरचाह र आइसियु व्यवस्थापनमा समेत यो टोलीले महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
प्रोफेसर वुङ हान किमले सोल नेशनल युनिभर्सिटी हस्पिटलमा अपनाइएका सङ्क्रमण रोकथाम र नियन्त्रणका उत्कृष्ट अभ्यासहरूलाई नेपालका अस्पतालहरूको सीमित स्रोत–साधनको वातावरण अनुसार मिलाउन सकिने बताए ।
उनले भने,‘यो मुटुरोग केन्द्र हो । मुटुरोग केन्द्रमा गरिने मुटुको शल्यक्रियालाई ‘क्लीन सर्जरी’ मानिन्छ । त्यस्ता शल्यक्रियामा सङ्क्रमण हुनु भनेको एउटा घातक जटिलता हो, जसले बिरामीको बिरामी दर र मृत्यु दर बढाउँछ । त्यसैले, सबै मुटुरोग केन्द्रहरूले सङ्क्रमणको दरलाई न्यूनतम बनाउन हरसम्भव प्रयास गर्छन् ।
यसै सन्दर्भमा, गङ्गालाल अस्पताल लामो समयदेखि अस्पतालभित्र हुने सङ्क्रमण नियन्त्रणमा इच्छुक रहँदै आएको छ । केही वर्षअघि मैले यहाँको मूल्याङ्कन र आवश्यकताको पहिचान गरेको थिएँ । त्यस समयमा गङ्गालाल अस्पतालले अस्पताल सङ्क्रमण नियन्त्रण प्रणाली कार्यक्रम बनाउन चाहेको थियो । त्यसैले हामीले केही वर्षअघि यो सुरु गर्यौ र निरन्तर रूपमा हरेक वर्ष यो कार्यक्रम सञ्चालन भइरहेको छ ।’
वुङ हान किमल गङ्गालाल अस्पताल एउटा महत्त्वपूर्ण मुटुरोग केन्द्र बन्नेमा आफू आसावादी रहेको बताए । वुङ हान किमलले यहाँ गरिने शल्यक्रियाको जटिलता नेपालका अन्य ठाउँहरूमा दोहोर्याउन नसकिने र यो केन्द्र नेपालका लागि मात्र नभई दक्षिण एसियाकै लागि पनि निकै महत्त्वपूर्ण रहेको धारणा राखे ।
उनले भने, ‘मुटुको रोग नेपालीहरूका लागि ठुलो स्वास्थ्य भार हो । त्यसैले, मुटुरोग केन्द्रमा सङ्क्रमण नियन्त्रणका लागि अस्पतालको ‘कन्ट्रोल टावर’ हुनु धेरै महत्त्वपूर्ण छ, जसले अस्पतालको गुणस्तर सुधार गर्छ र जीवन बचाउँछ । यो एउटा धेरै महत्त्वपूर्ण कुरा हो ।’
केन्द्र सङ्क्रमण नियन्त्रण कार्यक्रमको लागि एउटा नमुना बन्नेछ र यो कार्यक्रम नेपालका अन्य अस्पतालहरूमा पनि विस्तार हुने बताए । मुटुको शल्यक्रिया ‘क्लीन सर्जरी’ भएको भन्दै उनले सङ्क्रमण रोक्न अस्पतालको वातावरणलाई नियन्त्रण गर्न सकिने विषयमा समेत छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण