शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई

‘प्रदेश सरकारलाई अस्थिर बनाएर सङ्घीयताप्रति वितृष्णा जगाउन खोजियो’
शनिबार, ०९ साउन २०८३, १६ : ३२
शनिबार, ०९ साउन २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको सङ्घीयतामाथि भइरहेको आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् ।
  • उनले पुराना दलका सत्तालोभी नेताहरूले सङ्घीयताप्रति भ्रम फैलाउनु खतरनाक रहेको बताएका छन् ।
  • उनले प्रदेश सरकारहरूलाई हरेक छ महिनामा फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर सरकार चलाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको विशिष्ट जातीय, भाषिक तथा क्षेत्रीय विविधता र ऐतिहासिक विभेदलाई सम्बोधन गर्न एवं भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्न संविधानसभाबाट संस्थागत गरिएको सङ्घीयतामाथि प्रहार हुनु विडम्बनापूर्ण रहेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सङ्घीयतामाथि भइरहेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । देशको इतिहास र धरातलीय यथार्थबारे धेरै जानकारी नरहेको नयाँ पुस्ताले सङ्घीयताप्रति आशङ्का गर्नु सामान्य भए पनि पुराना दलका सत्तालोभी नेताहरूले जरा गाड्न नसकेको प्रणालीप्रति भ्रम फैलाउनु खतरनाक रहेको उनले उल्लेख गरेका छन्। पुराना दलहरूले ‘मुखमा रामराम बगलीमा छुरा’ भनेझैँ विद्रूप हर्कत गरिरहेको उनको आरोप छ।

विशेष गरी प्रदेश सरकारहरूलाई पुराना दलका शीर्ष नेताहरूले अस्थिर र प्रभावहीन बनाएर जनतामा सङ्घीयताप्रति नै वितृष्णा जगाउने काम गरिरहेकाले सबै सङ्घीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन्।

वर्तमान निर्वाचन प्रणालीका कारण कुनै एक दलको बहुमत आउन कठिन रहेको अवस्थामा आवश्यक सुधार नभएसम्म प्रदेशसभाका दलहरूले हरेक छ(छ महिनामा सरकार वा गठबन्धन फेरिरहनु गलत रहेको उनले बताएका छन्। यसको साटो विचार, नीति र कार्यक्रम मिल्ने दलहरू मिलेर पूरै कार्यकालका लागि स्थायी गठबन्धन बनाएर सरकार चलाउने र अरू दलले जिम्मेवार प्रतिपक्षको भूमिका निभाउने तरिका अपनाउन उनले सुझाएका छन्।

यस्तै सबैभन्दा ठुलो दललाई सरकार चलाउन दिएर अन्य दलले बाहिरै बसेर गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने शैली प्रयोग गर्न सकिने विकल्प पनि उनले अघि सारेका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान कायम रहे मात्र सबैको भविष्य सुरक्षित रहने चेतावनी पनि उनले दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप