शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
दिल्लीको जन्तर–मन्तर आन्दोलन

एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ

शनिबार, ०९ साउन २०८३, १६ : १९
शनिबार, ०९ साउन २०८३

सारांश

  • भारतको जन्तर-मन्तरमा जारी युवा आन्दोलनमा सामान्य नागरिकको ऐक्यबद्धताले आन्दोलनलाई जीवन्त बनाएको छ।
  • आन्दोलनकारीलाई खाना, पानी, स्वास्थ्य सेवा र सरसफाइ जस्ता अत्यावश्यक सेवाहरू स्वयंसेवकहरूले उपलब्ध गराइरहेका छन्।
  • परीक्षा प्रश्नपत्र चुहावटको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र शिक्षामन्त्रीको राजीनामा जस्ता माग राखी सुरु भएको यो आन्दोलन अब युवापुस्ताको निराशा र असन्तुष्टिको साझा आवाज बनेको छ।

नयाँ दिल्ली । इतिहासमा केही यस्ता आन्दोलनहरू हुन्छन्, जसको शक्ति नेताको भाषण, राजनीतिक दलको संगठन वा आर्थिक स्रोतमा होइन, सामान्य नागरिकभित्र लुकेको ऐक्यबद्धतामा निर्भर हुन्छ । अहिले भारतको राजधानी नयाँ दिल्लीको जन्तर–मन्तरमा देखिएको दृश्य त्यही दुर्लभ क्षणको दृष्टान्त बनेको छ ।  

दिल्लीको जन्तर–मन्तरमा कसैले आन्दोलनकारीलाई खाना खुवाइरहेका छन् त कोही पानी खुवाएर साथ दिइरहेका छन् । कसैले नारा होइन, सडक सफा गरेर, मेडिकल सुविधा उपलब्ध गराएर आन्दोलनलाई जीवन्त बनाइरहेका छन् । यहाँ घाइते विद्यार्थीहरूको उपचार गर्न चिकित्सकहरूको विभिन्न टोली, आफ्नो क्लिनिक छाडेर प्रदर्शनस्थलमै स्टल खडा गरेर आन्दोलनमा सहयोग गरिरहेका छन् । 

झनै रोचक त के छ भने सात समुन्द्र पारिबाट तथा देशका विभिन्न सहरहरूबाट हजारौँ अपरिचित मानिसहरूले अनलाइनमार्फत खाना अर्डर गर्दै जन्तर–मन्तर पठाइरहेका छन् । यसबाट हजारौं प्रदर्शनकारीको छाक टरिरहेको छ । 

मे महिनामा सामाजिक सञ्जालमा व्यंग्यका रूपमा सुरु भएको कक्रोच जनता पार्टी (सीजेपी) आज भारतकै चर्चित युवा आन्दोलनमा रूपान्तरण भएको छ । आन्दोलनको मुख्य माग परीक्षा प्रश्नपत्र चुहावटको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हो । र प्रधानले शनिबार दिउँसो राजीनामा दिएसँगै आन्दोलन अब केही मत्थर हुने आशा गरिएको छ । 

तर पछिल्ला दिनमा यो आन्दोलन एउटा मन्त्रालयको विरोधमा मात्र सीमित नरही सम्पूर्ण युवापुस्ताको निराशा, असन्तुष्टि र न्यायको खोजीको साझा आवाज बन्न पुगेको छ । भारतका विभिन्न सहरहरूबाट युवाहरू आफैले गाडीभाडा खर्च गरेर प्रदर्शन स्थल जन्तर–मन्तर आइरहेका छन् । 

आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याउने घटना प्रहरीको कठोर दमन बन्यो । जुलाई २०  मा सीजेपीले संसद मार्चको आह्वान गरेको थियो । त्यसलाई रोक्ने क्रममा प्रहरीले हजारौँ विद्यार्थीमाथि लाठीचार्ज गरेपछि आन्दोलन छत–विक्षत् हुनुको सट्टा झनै संगठित हुन पुगेको छ । प्रहरीको बल प्रयोगले आन्दोलनलाई झनै भावनात्मक रूपमा एकतावद्ध गरिदियो । यस आन्दोलनका दौरान देखिएका केही अभूतपूर्ण पक्षहरूलाई पाँचवटा बुँदाहरूमा यसरी उल्लेख गर्न सकिन्छ । 

१. खाना पठाइदिने आन्दोलनका मौन नायकहरू

अहिले जन्तर–मन्तरमा सबैभन्दा बढी ध्यान तान्ने दृश्य कुनै राजनीतिक भाषण भन्दा पनि लगातार आइरहेका खाना बोकेका डेलिभरी मोटरसाइकल भएका छन् । बिहानदेखि रातभरसम्म एउटा डेलिभरी सकिन नपाउँदै अर्को आइपुग्छ । 

स्वयंसेवकहरूले एउटा बाकस झार्न नपाउँदै अर्को चालक आन्दोलन स्थलमा उभिइसकेको हुन्छ । दृश्यमा देखिन्छ, कतै समोसा–तरकारी बाँड्दै छ त कतै बिहान चिया र स्यान्डविच बाँडिदै छ । प्रहरीले विद्यार्थीमाथि २० जुलाईमा दमन गर्नु अघिसम्म नदेखिएको अभूतपूर्व दृश्यमा अहिले डोम्याटो, म्याकडोनाल्ड जस्ता ठाउँबाट डेलिभर ब्वाईहरू पिजा, स्यानविच तथा बर्गर बोकेर आएको र आन्दोलनकारीले त्यसको लुप्त उठाउँदै सरकार विरोधी नाराहरू घन्काइरहेको देख्न सकिन्छ ।

jantarmantar-khana

देश तथा विदेशबाट आन्दोलनकारीका लागि खाना अर्डर गर्नेहरूले यो खाना जन्तर–मन्तरमा लगेर आन्दोलनकारीलाई दिनु भनेको डेलिभरी ब्वाईहरूले भन्दै गरेको सुन्न सकिन्छ । खाना कसले पठाएको हो भन्ने उनीहरू आफ्नो परिचय खुलाउन चाहेन्नन् तर उनीहरूको सहयोग आन्दोलन स्थलसम्म आइपुगेको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ । 

आन्दोलनस्थलमा आएको खाना जो कोहीले, जो कोहीलाई बाँड्दै गरेको देख्न सकिन्छ । पत्रकारहरू पनि जो दिनरात लगातार जन्तर–मन्तरको रिपोर्टिङमा खटिएका छन् उनीहरूले पनि त्यस्ता ती खाना खाइरहेको देख्न सकिन्छ ।

२५ वर्षीय खाना डेलिभरी ब्याय सुरज कुमारले भने, ‘अहिले केरलादेखि अमेरिकासम्मबाट अर्डर आइरहेका छन् । उनीहरूले यो सबै खाना जन्तर–मन्तरमा लगेर आन्दोलनकारीलाई दिन भनेका छन् ।’ 

२. सडक सफा गर्नेहरू 

जन्तर–मन्तरमा आन्दोलन केवल नाराले चलिरहेको छैन । यहाँ एउटा समानान्तर स्वयंसेवी समाज वा भनौं एउटा ‘कम्युन’ निर्माण भएको छ । कसैले खाना वितरण गरिरहेको छ । कसैले पानी बाँडिरहेको छ । केही स्वयंसेवकहरूले फोहोर संकलन गरिरहेका छन् । 

वर्षाले पानी जमेको स्थान सफा गर्ने पनि उत्तिकै छन् । प्रदर्शनका कारण थाकेका प्रदर्शनकारीलाई हातले हल्लाउने पङ्खाले हावा लगाउने युवा पनि यही आन्दोलनभित्रकै स्वयंसेवक छन् । दिल्ली विश्वविद्यालयकी २० वर्षीया विद्यार्थी रिना रावत यसको उदाहरण हुन् । सोमबार प्रहरीको लाठी प्रहारबाट उनको देब्रे खुट्टामा चोट लाग्यो । तर भोलिपल्टै उनी फेरि आन्दोलनस्थलमा फर्किइन् । घाइते शरीर लिएर पनि उनले आन्दोलनकारीलाई लाइन मिलाउने, खाना वितरण गर्ने र स्वयंसेवकको जिम्मेवारी सम्हालिन् ।

jantarmantar-clean-road

उनको भनाइमा, ‘यो आन्दोलन जनताको सद्भाव र हाम्रो एकताले चलिरहेको छ ।’ यही भावनाले आन्दोलनलाई राजनीतिक अभियानभन्दा माथि उठाएर एउटा नागरिक आन्दोलन बनाएको छ । मणिपुरबाट आएकी रम्नता सडक सफा गर्दै गरेकी देखिन्छन् भने कयाँै डाक्टरहरू घाइतेहरूको उपचार गरिरहेको देखिन्छन् । 

बीबीसीसँग कुरा कानी गर्दै महाराष्ट्रकी एक घाइते युवतीले भनिन्, ‘म आफ्नो परिवारमा नभनीकनै आन्दोलनमा आएकी हुँ । परिवारबाट तत्काल घर आउन दबाब आइरहेको छ तर म यो आन्दोलन नसकिँदासम्म घर जान्न । किनभने यहाँको माहोलबाट मैले सबै भन्दा ठुलो शिक्षा लिएकी छु ।’

यति भन्दै गर्दा उनी सडकमा रहेको घाइतेहरूको जुत्ता टिपीरहेकी थिइन । यस्ता दृष्यसँगै आन्दोलनले आफूलाई विश्वकै विशिष्ट आन्दोलनका रुपमा विकास गरिरहेको देख्न सकिन्छ । 

४. घाइतेलाई मल्हम लगाउनेहरू 

जन्तर–मन्तरमा चौविसै घण्टा आन्दोलनकारीहरू नारा गुञ्जाइरहेका हुन्छन् । कोही नारामा हुन्छन् त कोही घाइतेको उपचारमा । कोही सरसफाइमा त कोही खाना खुवाउनेमा । यो सबै आन्दोनलको हिस्सा हो ।
आन्दोलनकारीको वरपर प्रहरीका जवरजस्त ब्यारिकेडहरू छन् । नजिकै एम्बुलेन्सहरू तयारी अवस्थामा छन् । पहेँलो त्रिपालले छोपिएको एउटा अस्थायी स्वास्थ्य शिविरमा भने अर्कै दृश्य देखिन्छ । स्वयंसेवी चिकित्सकहरू घाइते र बिरामी आन्दोलनकारीको उपचारमा दिनरात खटिरहेका छन् । 

cjp-protest-ghaite

प्रहरीसँगको झडपमा हातखुट्टा सुन्निएका, लाठी प्रहारबाट घाइते भएका, चोटपटक लागेका, ज्वरो आएका वा लामो समयको घाम र गर्मीकाका कारण निर्जलीकरण भएका आन्दोलनकारीहरू यस्ता शिविरहरूमा पुग्छन् । प्राथमिक उपचार पाएपछि उनीहरू फेरि आन्दोलनमा फर्किन्छन् ।

अरु त अरु भारतका अन्य आन्दोलनहरूमा भन्दा फरक यस आन्दोलनमा सहभागिता जनाएका भारतका हजारौँ–हजार महिला आन्दोलनकारीहरूका लागि स्यानेटरी प्याड बाँड्दै गरेको पनि देखिन्छ । यति मात्र होइन, महिलाहरूका लागि केही सहयोगी हातहरूले भित्री वस्त्र तथा टिसर्ट पनि निशुल्क बाँड्दै गरेको देख्न सकिन्छ । यी सबै सामाग्रीहरू आन्दोलन स्थलसम्म विभिन्न सहयोगी हातहरूमार्फत पुगी रहेका छन् । 

महाराष्ट्रबाट आएका एक चिकित्सकले केही समयका लागि आफ्नो निजी क्लिनिक बन्द गरेर आन्दोलनमा स्वयंसेवक बन्न रोजेको बताए । उनले भने, ‘डाक्टर हुनु भनेको अस्पतालभित्र मात्रै बिरामी हेर्नु होइन, समाजलाई आवश्यक परेको बेला आफ्नो ज्ञान र समय समर्पण गर्नु पनि हो ।’

२९ वर्षीय सन्नी देवल दाहिने पाखुराभरि पट्टि बाँधेर उपचारका लागि शिविरमा पुगेका थिए । चोटको पीडा कम भएपछि उनी फेरि आन्दोलनमा फर्किए । यही दृश्य दिनभर दोहोरिरहन्छ । उपचार, स्याहार अनि फेरि पुनः आन्दोलन ।

२३ वर्षीया स्वयंसेवक भावना भन्छिन्, ‘हामी पनि प्रश्नपत्र चुहावटबाट पीडित भएका हौँ । त्यसले दिने मानसिक तनाव निकै ठुलो हुन्छ । त्यसैले आन्दोलनकारीको सेवा गर्नु हाम्रो जिम्मेवारी हो ।’

४. धर्मको राजनीतिभन्दा माथि उठेको आन्दोलन

जन्तर–मन्तरमा चलीरहेको विद्यार्थीहरूको आन्दोलनको अर्को विशेषता यसको सांस्कृतिक र सामाजिक विविधता हो । अधिकांश आन्दोलनकारीहरूका हातमा माहात्मा गान्धी, भगत सिंह र भिमराव अम्बेडकरको तस्वीर देख्न सकिन्छ । 

यसले मुलतः अहिंसा, विद्रोह र संविधान रक्षा गर्नैपर्ने भावको प्रतिनिधित्व गर्छ । उनीहरू अहिंसात्म आन्दोलन गर्छन तर भगत सिंहको विद्रोही चेतनाका साथ भारतको संविधानलाई जोगाउनै पर्ने मत पनि राख्छन । 
उनीहरू भारतमा मौलाउँदै गरेको हिन्दू–मुस्लिमको नारादेखि माथि उठेर आन्दोलनमा कुम जोडेर सहकार्य गर्दै गरेको देख्न सकिन्छ । त्यसैले त मुस्लिम युवाले खाँना लिएर आउँछ र कुनै हिन्दूले र सिखले खाना बाँड्दै गरेको यत्रतत्र देखिन्छ । 

केही आन्दोलनकारी भने दमन गर्ने प्रहरी बललाई गुलाबका फूल बाँडिरहेको पनि देख्न सकिन्छ । १९ वर्षीया अर्पिता वर्मा भन्छिन्, ‘भारतमा हिन्दु–मुस्लिम राजनीति धेरै भइसक्यो । तर यो आन्दोलनमा त्यसका लागि कुनै ठाउँ छैन । अहिले हामी एउटै साझा उद्देश्यले एकजुट भएका छौँ, त्यो हो भारतको लोकतन्त्रको रक्षा र निरंकुश सरकारको विरोध ।’

उनको भनाइले आन्दोलनको वास्तविक चरित्र प्रस्ट पार्छ । यहाँ धर्म, जात, भाषा वा क्षेत्रभन्दा माथि उठेर शिक्षा, अवसर, पारदर्शिता र न्यायको साझा मागले युवाहरूलाई जोडेको छ । भारतको आधाभन्दा बढी जनसंख्या ३० वर्षमुनिको छ । 

तीव्र आर्थिक वृद्धिका तथ्यांक सार्वजनिक भइरहे पनि रोजगारीको अभाव, प्रतियोगी परीक्षामा हुने अनियमितता र भविष्यप्रतिको अन्योलले यही पुस्तालाई सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यसैले प्रश्नपत्र चुहावटको विरोधबाट सुरु भएको आन्दोलन अहिले सम्पूर्ण युवापुस्ताको असन्तुष्टिको साझा स्वर बनेको छ । मोदी सरकारको नीतिहरूको आलोचना गर्ने थलो बनेको छ ।

५. जन्तर–मन्तरमा देखिएको मानवता

प्रधानमन्त्री नरेन्द्र मोदीले आन्दोलनबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन् । सरकारका तर्फबाट सुधार र विद्यार्थीको हित संरक्षणको प्रतिबद्धता भने व्यक्त गरेका छन् । तर आन्दोलनकारीहरू आश्वासनभन्दा बढी जवाफदेहिता र संस्थागत सुधारको माग गरिरहेका छन् । 

यो आन्दोलनको सबैभन्दा ठुलो कथा राजनीतिक बहस होइन । यसको सबैभन्दा ठुलो कथा आन्दोलनलाई बचाइरहेको मानवीय संवेदना हो । निःस्वार्थ समर्पण हो । कक्रोच जनता पार्टीले आह्वान गरेको यो आन्दोलन यस्तै साना–साना तर एतिहासिक घटनाक्रमलाई आफूसँगै समेटेर अघि बढीरहेको छ । 

भारतीय लोकतन्त्रमा यस्ता दृश्य विरलै देखिन्छन्, जहाँ अपरिचित मानिसहरूले आन्दोलनकारीको खाना, स्वास्थ्य र उर्जाका लागि मौन समर्थन जनाउँछन् । खासमा यो उनीहरू जस्ता हजारौँ–हजारको आन्दोलन हो, जो जन्तर–मन्तरमा आइपुग्न सकेका छैनन् । 

जन्तर–मन्तर आज केवल विरोध प्रदर्शनको स्थल होइन, नागरिक ऐक्यबद्धता, परस्पर विश्वास र सामाजिक उत्तरदायित्वको जीवन्त विश्वविद्यालयका रुपमा यसले आफूलाई विकसित गरिरहेको छ । त्यसैले होला सायद आन्दोलन स्थलमा उभिएका कसैलाई पनि हामी एक्लै छौँ भन्ने लाग्दैन । उनीहरू ढुक्कले भन्छन्, ‘तिमी–हामी कोही अब एक्लो छैनौँ ।’

एजेन्सीहरूको सहयोगमा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप