सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक

बुधबार, २८ फागुन २०८१, १५ : ५६
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । आगामी चैत ७ गते कैलालीको धनगढीमा आयोजना हुने एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको छैटौँ संस्करणका लागि दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बुधबार सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरेको हो । 

छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार, सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी मनोनयनमा परेका छन् । जोशी बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बन्दा टोलीका सदस्य थिए । उनी अहिले एसियाली खेलकुदअन्तर्गत मिसन–२०२६ का लागि बन्द प्रशिक्षणमा छन् । 

पौडीका सिंहले वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । सन् २०१३ को दक्षिण एसियाली खेलकुद सागमा बनेको कीर्तिमान उनले भंग गरेका थिए । पौडीतर्फ राष्ट्रिय प्रतियोगिताहरूमा सुदूरपश्चिम प्रदेशलाई पदक जिताउने उनी एक्ला खेलाडी हुन् । उनले वर्ष २०८१ म दुई स्वर्ण, दुई रजत र तीन कांस्य गरी सात पदक जितेका थिए । 

यसैगरी, क्रिकेटका धामी भने यू–१९ एसिया कपमा अफगानिस्तानमाथि जित दर्ता गराउन उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका कप्तान हुन् । सिनियर टोलीबाट क्यानडाविरुद्ध ‘डेब्यू’ खेलमा उनले तीन विकेट लिएका थिए ।

छनोट समितिका सदस्य तथा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष पनेरुका अनुसार, सुदूरपश्चिम आइकन महिला विधामा कराँतेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । 

बोहरा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । उनी ५६औँ राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जित्ने सुदूरपश्चिम प्रदेशको एकमात्र खेलाडी पनि हुन् । 

कबड्डीकी जोशी इरानमा भएको छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जित्ने नेपाली टोलीकी सदस्य हुन् । उनी एसियाली खेलकुदअन्तर्गत मिसन–२०२६ का लागि बन्द प्रशिक्षणमा पर्न सफल भएकी छन् । 

क्रिकेटकी सावित्री धामी १९ वर्षमुनिको सुशील कोइराला मेमोरियल क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उनी मैयादेवी महिला क्रिकेटमा उत्कृष्ट ब्याटर घोषित भएकी थिइन् । 

आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार, दुवै विधाका विजेता खेलाडीलाई नगद २०–२० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । छैठौँ संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने जानकारी पाठकले दिए । 

उनका अनुसार, सुदूरपश्चिम आइकन महिला तथा पुरुषसँगै उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विधामा पनि अवार्ड प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप