दलितको घर भत्काएको प्रकरण : प्रहरी कार्यालयभित्र पञ्चायती, पीडितलाई मिलापत्र गर्न फकाइँदै

सिरहा । सिरहाको औरहीमा महायज्ञ लगाउने स्थानबाट डोजर लगाएर दलित दीपक मरिकको घर भत्काएका कारण पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई बचाउने प्रयास सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालयभित्रै पञ्चायती ‘सामाजिक छलफल’ गरी मिलापत्र गराउने प्रयास गरिएको हो । जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका मरिकलाई सामाजिक छलफलमा अलमल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयभित्र विभिन्न राजनीतिक दलसँग सम्बन्धित दलित अगुवाहरूलाई बोलाएर ‘गाउँ घरको घटना हो, मिल्नु/मिलाउनुपर्छ’ भनेर पैरवी गरिन थालिएको छ । पञ्चायतीमा पत्रकारहरूलाई भने प्रवेश गर्न रोक लगाइएको छ ।
बिहान १० बजे जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका दीपक मरिकको जाहेरी दिउसो १ बजेसम्म दर्ता भएको छैन । उनलाई पञ्चायतीमा भुलाएर सम्झाइ बुझाइ गर्ने प्रयास भइरहेको छ ।
दलित आयोगका पूर्वसदस्य कबुली पासवानले भने छुवाछुतको अपराधमा मिलापत्र नहुने बताएका छन् । ‘रिंकु सदाको बलात्कार घटनामा पञ्चायती गरे जस्तो गर्नु हुँदैन’ भनेर उनले अडान लिएका छन् ।
सांसदहरू, मिडिया र दलित आन्दोलनको दबाबका कारण प्रहरीले हिजो शुक्रवार अपराह्न पालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको थियो ।
दलितको घर भत्काउने आरोपीहरू पक्राउ परेपछि आज पीडित दीपक मरिक जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै