सन् २०३२ को ओलम्पिकपछि भत्काइँदैछ यो ऐतिहासिक स्टेडियम

काठमाडौँ । अस्ट्रेलियाको ब्रिसबेनमा रहेको प्रतिष्ठित स्टेडियम ‘दि गाबा’ लाई सन् २०३२ को ओलम्पिक खेलकुदपछि भत्काइने भएको छ । सन् २०३२ को गृष्मकालीन ओलम्पिक खेलकुद अस्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुँदैछ ।
ओलम्पिक खेलकुदको उक्त संस्करण सकिएलगत्तै यो ऐतिहासिक स्टेडियमलाई भत्काइने छ । त्यसपछि क्रिकेट भिक्टोरिया पार्क क्षेत्रमा ६० हजार दर्शक क्षमताको अत्याधुनिक नयाँ स्टेडियम बनाइने स्थानीय अधिकारीहरूले जनाएका छन् ।
क्रिकेट अस्ट्रेलियाले क्विन्सल्यान्ड सरकारको यो निर्णयको स्वागत गरेको छ । ‘क्रिकेटका प्रतियोगिताहरू आयोजना गर्न हामीले थप भेन्यू प्राप्त गर्नेछौँ । यो राम्रो निर्णय हो,’ क्रिकेट अस्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सन् २०२८ मा लस एन्जल्समा आयोजना हुने ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिएको छ । त्यसपछिका संस्करणहरूमा पनि ओलम्पिकमा क्रिकेटले निरन्तरता पाउने बताइएको छ । गाबा स्टेडियमको निर्माण सन् १८९५ मा भएको हो ।
यस आधारमा गाबा स्टेडियम निर्माण भएको एक सय ३० वर्ष पुगिसकेको छ । यो स्टेडियममा विभिन्न खेलका गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।