आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयताको पहिलो स्थानमा उक्लिए न्युजिल्यान्डका ज्याकब डफी
काठमाडौँ । पाकिस्तानविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्यान्डका बलर ज्याकब डफी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयताको पहिलो स्थानमा उक्लिएका छन् ।
३० वर्षीय मध्यमतेज गतिका बलर डफी चार स्थान माथि उक्लँदै पहिलो वरीयतामा पुगेका हुन् । यसअघि वेस्ट इन्डिजका बलर अकेल होसैन पहिलो वरीयतामा थिए । डफी पहिलो वरीयतामा उक्लिएपछि अकेल होसैन दोस्रो स्थानमा झरेका छन् ।
नयाँ वरीयतामा भारतका वरुण चक्रवर्ती दोस्रोबाट तेस्रो स्थानमा झरेका छन् । पछिल्लो वरीयतामा इङ्ल्यान्डका अदिल रसिद चौथो, श्रीलंकाका वानिन्दु हसरंगा पाँचौँ र अस्ट्रेलियाका एडम जाम्पा छैटौँ स्थानमा छन् । उनीहरु पनि एक–एक स्थान तल खस्किएका हुन् ।
नेपालका दीपेन्द्रसिंह ऐरी ६५औँ स्थानमा यथावत छन् । सोमपाल कामी एक स्थान तल झरेर ८७औँ वरीयतामा पुगेका छन् । न्युजिल्यान्डका बलर डफीले हालै सम्पन्न पाकिस्तानविरुद्धको पाँच टी–२० खेलको शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उक्त शृंखलामा डफीले ८।३८ को औसतले कुल १३ विकेट लिएका थिए । उक्त शृंखलामा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानलाई ४–१ ले हराएको थियो । पाकिस्तानविरुद्धकै हाल जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि डफीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
डफी आईसीसी वरीयताको पहिलो स्थानमा उक्लिएको यो पहिलो पटक हो । डफी सन् २०१८ पछि आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयताको पहिलो स्थानमा उक्लने न्युजिल्यान्डको दोस्रो बलर हुन् । सन् २०१८ मा न्युजिल्यान्डका ईश सोढी वरीयताको पहिलो स्थानमा पुगेका थिए ।
पछिल्लो आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयताको ब्याटिङतर्फ भने अस्ट्रेलियाका ट्राभिस हेड पहिलो स्थानमा यथावत छन् । ब्याटिङ वरीयतामा भारतका अभिषेक शर्मा दोस्रो, इङ्ल्यान्डका फिल साल्ट तेस्रो, भारतका तिलक वर्मा चौथो र भारतकै सूर्यकुमार यादव पाँचौँ स्थानमा यथावत छन् ।
टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा पनि नेपालका दीपेन्द्रसिंह ऐरी ५२औँ स्थानमा यथावत छन् । नेपाली टोलीका कप्तान रोहित पौडेल पनि ६२औँ स्थानमा यथावत छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण