चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखान सम्पन्न
काठमाडौँ । चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखाना सम्पन्न भएको छ । बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको व्यवस्थापन र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा चितवनमा भएको उक्त र्यालीमा पहिलोमा पटक महिला ड्राइभरहरुमात्र सहभागी भएका थिए ।
भरतपुरस्थित उद्योग वाणिज्य संघ परिसरबाट प्रारम्भ भएको र्याली पोखरा बसपार्क, पुल्चोक, चौबिसकोठी, मंगलपुर, रामपुर, चनौली, पर्साढाप, मेघौली हुँदै गोलाघाट पुगेको थियो । गोलाघाटबाट बाराही होटल चोक, साना किसान चोक, मेघौली एयरपोर्ट, कसरा चोक, टाउन स्कुल चोक हुँदै रिभर बैंक जंगल रिसोर्टमा पुगेर टीएसडी र्याली सम्पन्न भएको थियो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल, एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार शाक्य, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराईलगायतले र्यालीको शुभारम्भ गरेका थिए ।
टीएसडी र्याली समापनका अवसरमा अस्ट्रेलियादेखि लण्डन हुँदै नेपालसम्म गाडीमा यात्रा गरेका दिनेश कठायत र स्पेनको भ्यालेन्सियामा सम्पन्न मोटर स्पोर्ट गेम्समा नेपालबाट सहभागी प्रज्ञा कँडेलले आ–आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रममा मोडरेटरको भूमिका नेपाल अटोमोवाइल एसोसिएसन टुरिजम कमिसनकी संयोजक कमला क्षेत्रीले गरेकी थिइन् । टाइम, स्पिड र डिस्टान्स (टीएसडी) का आधारमा आयोजना गरिएको प्रतियोगितामा नैना श्रेष्ठ मास्के र रोमासा शिवाकोटीले पहिलो स्थान हासिल गरे । प्रतियोगितामा शोभा बराइली र रेनु तामाङ दोस्रो तथा चन्दना कोइराला र आशादेवी श्रेष्ठ तेस्रो भए । उनीहरूले ड्राइभर र नेभिगेटरको भूमिका निर्वाह गरेका थिए ।
यसैगरी, नेपाल अटो जिमखाना प्रतियोगितामा अनिता श्रेष्ठ पहिलो, कल्पना पौडेल दोस्रो र सावित्री रेग्मी तेस्रो भए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोवाइल डिलर एसोसिएसन, रोटरी क्लवहरु, महिला जेसिसलगायतका संघ–संस्थाको सहयोग रहेको थियो ।
नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सचिवद्वय दिप्रश शाक्य र सन्तोष प्रसाद न्यौपाने, एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियालगायतले विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण