कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
इलाम । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आफु भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी छन् ।
इलामको श्रीअन्तुमा सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन् ।
उनले भनिन्,“आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै बिरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला। तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो ।” मन्त्री डा.राणाले नेताहरुको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरुमा निराशा पैदा गर्ने अनुभव सुनाइन् ।
उनले नेपाली कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी त कांग्रेसकै नेताहरुले गर्ने गरेको अफूले सुनेको प्रसंग उल्लेख गरिन् ।
उनले भनिन्,“आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्ने छ । अरु पार्टीहरु ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ ।”
मन्त्री डा.राणाले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्न सुझाव दिइन् । उनले आफ्ना गुनासा र असन्तुष्टिहरु यसरी भाषण गर्दै हिँड्ने विषय नभएको पनि स्पष्ट गरिन् ।
वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको अथक प्रयासबाट गएको स्थानीय तथा संसदीय निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको प्रसंग उल्लेख गर्दै आगामी निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन नगर्ने भएकाले यो भन्दा झन् ठूलो पार्टी बनाउन अहिल्यैदेखि अभियान थाल्नुपर्ने उनले जोड दिइन् ।
मन्त्री डा.राणाले नेपाली कांग्रेस पार्टीमा महिलाको धेरै ठूलो योगदान रहेकाले महिलाको समानुपातिक सहभागिता हुनुपर्ने बताइन् । उनले भनिन्,“कुनै पनि पार्टीमा महिलालाई अघि बढ्न सजिलो छैन । जस्तो कि म पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेकी थिएँ भन्ने त यहाँहरुले देख्नुभएकै छ । पार्टीमा सशक्त भूमिकाका लागि महिला पनि सक्रिय रुपमा लाग्नुपर्दछ ।”
उनले त्यस अवसरमा इलाम जिल्लाको बृहत्तर हितका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिएकी थिइन् ।
नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा र इलाम जिल्ला सभापति डम्बर खड्काले इलामको विकासका लागि संघीय सरकारको सहयोगको अपेक्षा गरेपछि मन्त्री डा.राणाले उक्त आश्वासन दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण