शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल

बिहीबार, ०४ वैशाख २०८२, २० : १७
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले अहिलेसम्म विद्यालय शिक्षा विधेयकका ७६ दफा पारित गरेको छ । 

१६३ दफा रहेको विधेयकका ७६ दफामा छलफलपछि सहमति गर्दै पारित गरेको हो । उपसमितिले पारित गरेका ती दफा कम विवादित हुन् । 

त्यस्तै २० दफामा भने व्यापक छलफल गरिएको छ । तर, पारित हुन सकेका छैनन् । 

शिक्षा समितिका सचिव दशरथ धमलाले हालसम्म उपसमितिमा ९६ दफामा छलफल भएको बताए । ती मध्ये ७६ दफा पारित भएका हुन् भने २० दफामा छलफल भइरहेको हो । 

२० दफामा थप अध्ययन तथा व्यापक छलफलका लागि राखिएका छन् । उपसमितिमा हरेक दिन विधेयकमाथि ४/५ घण्टा छलफल हुदै आएको छ । आज परिच्छेद ५ सँग सम्बन्धित दफाहरुमा छलफल भएको सचिव धमलाले बताए । 

परिच्छेद ५ मा सार्वजनिक विद्यालयका शिक्षक दरबन्दी तथा पदपूर्ति सम्बन्धी व्यवस्था छ । उक्त परिच्छेदमा विद्यालय शिक्षक सेवाको गठन, शिक्षकको श्रेणी विभाजन, शिक्षकको दरबन्दी, नियुक्ति र पदस्थापन, शिक्षकको योग्यता, उम्मेद्वार हुनको लागि अयोग्यता, परीक्षणकाल लगायतका प्रावधान राखिएका छन् । 

ती दफाहरुमा व्यापक छलफल भएको तर, सहमति हुन नसकेको उनको भनाइ छ । 

सहज विषयमा धमाधम सहमति जुटाएको उपसमितिले अहिले भने जटिल विषयमा छलफल अघि बढाएको हो । 

सरकारले वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गरेको छ । उक्त बैठकमा पेश गर्नेगरी उपसमितिले काम गर्दै आएको हो । 

तर, छलफल हुन बाँकी रहेका विषयहरु निकै जटिल खालका रहेकाले उक्त मितिमा पेश गर्न गाह्रो हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप